एलन मस्कको कम्पनी एक्स पनि सरकारको सम्पर्कमा, सूची दर्ताका लागि माग्यो कागजात
काठमाडौं : सरकारले निष्क्रिय बनाउने निर्णय गरेपछि अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी ट्वीटर (एक्स) सम्पर्कमा आएको छ। एक्स कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूची दर्ताका लागि सम्पर्क गरेको हो।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार शुक्रबार एक्स कम्पनी आधिकारिक रूपमा सरकारको सम्पर्कमा आएको हो। 'एक्सले सूची दर्ताका लागि आवश्यक कागजात माग गर्यो। हामीले उहाँहरूलाई आवश्यक प्रक्रिया र कागजातका विषयमा जानकारी गराएका छौं,' अन्नपूर्णसँग उनले भने।
त्यस्तै हाम्रो पात्रो पनि सूची दर्ताका लागि निवेदन दिएको उनले बताए। प्रवक्ता ठाकुरका अनुसार हाम्रो पात्रोले बिहीबार साँझ सूची दर्ताका लागि सम्पर्कमा आएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्चको आदेश र मन्त्रिपरिषद्को निर्णय बमोजिम २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसको कार्यान्वयन गर्दै दूरसञ्चार प्राधिकरणले ती सामाजिक सञ्जालहरू निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो।
प्रतिक्रिया दिनुहोस !