सैन्य अभ्यासका लागि काठमाडौं ओर्लियो चिनियाँ जनमुक्ति सेना

सैन्य अभ्यासका लागि काठमाडौं ओर्लियो चिनियाँ जनमुक्ति सेना
फाइल तस्बिर

काठमाडौं : नेपाली सेनासँगको सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ। हिमालयन एयरलायन्सको विमानबाट चिनियाँ जनमुक्ति सेनाको टोली लासा हुँदै शुक्रबार काठमाडौं आइपुगेको हो।

टोलीमा ३७ जना चिनियाँ सेना रहेको सैनिक स्रोतले जनाएको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भोलि (शनिबार) बाट सुरू हुँदैछ। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ। सेनाका एक उच्च अधिकारीका अनुसार, उक्त सैन्य अभ्यास १० दिनसम्म चल्ने छ। 

सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा भएको थियो। 

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले नेपाली र चिनियाँ सेनाबीच हुने सैन्य अभ्यास नियमित कार्यक्रमअन्तर्गत रहेको यसअघि अन्नपूर्णसँग बताएका थिए। 'भारत, अमेरिका, चीनसँग हुँदै आएको सैन्य अभ्यास क्षमता अभिवृद्धि र अनुभव आदान-प्रदानमा केन्द्रित हुन्छ। यस्ता प्रकारका सैन्य तालिम र अभ्यासहरू कसैप्रति लक्षित  हुँदैन,’ उनले भनेका थिए।

सैन्य अभ्यासको चौथो संस्करण गत वर्ष चीनमा भएको थियो। जंगी अड्डाले सैन्य अभ्यासको अन्तिम तयारीका लागि नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी (अहिले अवकास)सहित ५ सदस्यीय टोलीलाई सिचुवान प्रान्तको छेन्दू पठाएको थियो। टोलीमा उपरथी अधिकारीसहित सहायक रथी दीपेन्द्र गुरुङ, महासेनानी मनिराम थापा, सेनानी पवन कटवाल र सहसेनानी महेश ढकाल छेन्दु पुगेर फर्किएका थिए। उपरथी अधिकारीसहितको नेपाली सेनाको टोली छेन्दूमा आयोजना भएको फाइनल प्लानिङ कन्फरेन्स (एफपीसी)मा सहभागी भएको थियो। 

२०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलोपटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास भएको थियो। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने २०७६ मा तेस्रो संस्करण नेपालमा भएको थियो। कोरोना संक्रमणको जाखिमका कारण केही वर्ष सैन्य अभ्यास रोकिएको थियो। चीनमा गत वर्ष अभ्यासको चौथो संस्करण भएको थियो। 

चीनले सैन्य अभ्यासलगायत अन्य चिनियाँ परियोजनाहरू कार्यान्वयनको चरणमा ल्याउन खोजेपछि छिमेकी भारत र अमेरिकालगायतका मुलुकहरू सशंकित हुन थालेका छन्। अमेरिका, जापान, कोरिया, भारत र युरोपेली मुलुकले नेपाल र चीनबीचको सैन्य अभ्यासलाई सहजरूपमा लिन सकेका छैनन्।

बिआरआई परियोजना कार्यान्वयन गर्न दबाब दिइरहेको चीनसँग नेपाली सेनाले गर्दै आएको सैन्य अभ्यासको औचित्यप्रति पश्चिमा मुलुकहरूले प्रश्न उठाउँदै आएका छन्। नेपालले अमेरिकी सेनासँग पनि सैन्य अभ्यास गर्दै आएको छ। भारतीय सेनासँग पनि प्रत्येक वर्ष सैन्य अभ्यास हुँदै आएको छ। नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.