बसाइँसराइले बाँझिँदै खेतीयोग्य जमिन
तीव्र बसाइँसराइले अर्घाखाँचीमा खेतीयोग्य जमिन बाँझिँदै गएको छ। एक दशकमा ७ हजार ३ सय ६२ हेक्टर जमिन बाँझिएको छ। खेतीयोग्य जमिन बाँझिँदै जाँदा आगामी दिनमा खाद्य संकट निम्तिन सक्छ।
अर्घाखाँची : शीतगंगा नगरपालिका–११ छापमा केही वर्षअघि ४५ घर परिवार बसोबास गर्थे। अहिले सबै घर बसाइँ सरेर अन्यत्र गएपछि गाउँ खाली भएको छ। त्यसैगरी, ५० घर रहेको दुम्सी गाउँ पनि अहिले रित्तिएको छ। बसाइँ सरेर सिँगो गाउँ हिँडेपछि खेतबारी बाँझिएका छन्।
शीतगंगा नगरपालिका–१० सिद्धाराका अगुवा माधवप्रसाद पौडेलका भनाइमा गाउँ नै रित्तो बनाएर उनीहरू कपिलवस्तुको लुंग्री, मौवाबारी, खयरभट्टी, ढोडेनीमा बसाइँसराइ गरेका हुन्। सिद्धाराकैे झाते, पात्ले, उनाए गाउँबाट बसाइँ सर्नेहरू बढ्दै गएपछि गाउँ खाली हुँदै गएका छन्।
सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घर परिवार बसोबास गर्थे। अहिले गाउँ खाली भएको छ। सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाँचौर, कुँडापानीलगायत गाउँमा बर्सेनि बसाइँ सर्नेहरू बढ्दा घर खाली हुँदै गएका छन्। अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार गाउँबाट बसाइँसराइ गरेर जाने बढेपछि विद्यार्थीको संख्या घटेको छ। साढे पाँच सय विद्यार्थी हुने अर्घा रजस्थल माविमा अहिले २ सय विद्यार्थी छन्।
पहिले गाउँमा मोटरबाटो थिएन्। बुटवल र पत्थरकोट पुगेर ढाकरमा नुन, तेल बोकेर ल्याउँथे। घरघरमा धारा थिएनन्,पँधेराको पानी पिउँथे, घाँस–दाउरा गर्थे। अहिले समय बदलिएको छ। गाउँमा पक्कीबाटो पुगेको छ। खानेपानीको सुविधा छ। बिजुली पुगेसँगै इन्टरनेटको सुविधा छ। गाउँमै आधारभूत स्वास्थ्य सेवाको पहुँच छ। बिरामी भए अस्पताल जान गाउँगाउँमा एमबुलेन्स पुग्न सक्छन्। लामो समयसम्म विकास पुग्न नसकेका गाउँ अहिले आधुनिक सुविधाको पहुँचले सहरको सुविधाको झल्को पाइन्छ।
बाँझिँदै जमिन
गाउँगाउँमा विकास पुगे पनि बसाइँसराइ तीव्र भइरहेको छ। अर्घाखाँचीका ६ वटै पालिकाबाट तरार्ई झरिरहेका छन्। बसाइँसराइ तीव्र भएपछि खेतीयोग्य जमिन बाँझिँदै छन्। कृषि विकास कार्यालय, अर्घाखाँचीको तथ्यांकअनुसार ३० वर्षअघि ४५ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो। २०७० मा खेतीयोग्य जमिन घटेर २८ हजार ६ सय नौ हेक्टरमा खुम्चिएको थियो।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका भनाइमा अहिले २१ हजार २ सय ४७ हेक्टर क्षेत्रफलमा खेती हुन्छ। दशकमै ७ हजार ३ सय ६२ हेक्टर खेतीयोग्य जमिन बाँझो भएको छ। सन्धिखर्क–९ गौचौरका पोमनारायण पौडेल भन्छन्,–जंगली जनावरबाट खेतीपाती जोगाउन सकस भयो। गाउँबाट धमाधम बसाइँ सरेपछि एक्लिदै बस्न अप्ठ्यारो भयो। सकेसम्म गाउँमै बस्नुपर्छ भनेको म पनि अहिले बुटवल आएर बसेको छु।
पौडेलका भनाइमा, पहिले टारी तथा बगरमा खेत बनाएर धान र गहुँ खेती गरिन्थ्यो। खेत बारी बाँझै राख्नुहुन्न भनेर सम्भव भएसम्म खेती लगाइन्थ्यो। अहिले नयाँ खेत र बारी बनाउने क्रम रोकिएको छ। बरु खेती हुँदै आएका खेत र बारी बाँझिएका छन्। खेतबारीमा अहिले खर र बनमाराले ढाकेको छ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको व्यक्तिगत घटना दर्ताको तथ्यांकअनुसार जिल्लाको बसाइँसराइ दर विकराल छ। अर्घाखाँचीबाट पाँच वर्षयता ५ हजार ८२ घरपरिवारले बसाइँ सरेका छन्। अर्थात् एक घरमा ५ जनाको हिसाबलै औसत निकाल्दा पनि झन्डै २५ हजार मानिसले जिल्ला छाडेका छन्।
२०६८ को राष्ट्रिय जनगणनाअनुसार अर्घाखाँचीको कुल जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो। २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या १ लाख ७७ हजार ८६ रहेको छ। १० वर्षको जनसंख्या हेर्दा २० हजार ५ सय घटेका छन्।
खाद्य संकटको जोखिम
आर्थिक वर्ष २०८०।०८१ मा जिल्लामा धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न ८६ हजार ४ सय ३८ टन उत्पादन भएकोमा उपभोगका लागि प्रशोधित खाद्यान्न ६५ हजार ५ सय ४१ टन थियो। २०७९ सालको प्रक्षेपित जनसंख्या १ लाख ७९ हजार ४ सय ७७ रहेको थियो। औसतमा जिल्लामा एक व्यक्तिका लागि प्रतिवर्ष २ सय १ केजी खाद्यान्न आवश्यक पर्छ। अर्घाखाँची जिल्लामा उत्पादन भएको खाद्यान्नलाई औसतमा भाग लगाउँदा प्रतिव्यक्ति ३ सय ६५ केजी पुग्ने तथ्यांक रहेको कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेको भनाइ छ। अर्थात अर्घाखाँचीमा २९ हजार ४ सय ६६ टन खाद्यान्न बचत हुने गरेको छ।
तथ्यांकका आधारमा खाद्य सुरक्षाको हिसाबले अर्घाखाँची जिल्ला पूर्ण सुरक्षित देखिन्छ तर मकैको प्रयोग पशुचौपायालाई धेरै हुन्छ। पशुपक्षीको दानाका लागि मकै खपत हुन्छ। भात खाने प्रवृत्ति बढेकाले चामल तरार्ईबाट आउँछ। आर्थिक वर्ष २०७५/७६ मा ७ हजार ४ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकामा अहिले त्यो क्षेत्रफल घटेर ६ हजार ३ सय ५४ हेक्टरमा झरेको छ। धान खेती गरिएको जमिनको क्षेत्रफल घटे पनि धानको उत्पादनमा भने कमी नआएको कृषि ज्ञान केन्द्रका अधिकृत टीकाराम न्यौपानेले बताए।
७ वर्षअघि आर्थिक वर्ष २०७५/७६ मा २४ हजार १ सय ३१ टन धान उत्पादन भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ८ सय ८७ टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीको तथ्यांक रहेको छ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख घिमिरेका भनाइमा तीव्र बसाइँसराइ र बाँझिँदै गएको खेतीयोग्य जमिनले खाद्य संकटको जोखिम बढेको छ। अहिले खेती गर्ने नयाँ प्रविधि, हाइब्रिड बिउको प्रयोग र रासायनिक मलको प्रयोगले उत्पादन बढ्दा उत्पादनमा कमी नआए पनि खेतीयोग्य जमिन बाँझिँदै गएकाले खाद्य संकट निम्तिने उनको भनाइ छ।
बसाइँसराइ रोक्ने कार्यक्रम
स्थानीय, प्रदेश र संघका सबै निर्वाचनमा राजनीतिक दलले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए। चुनावमा दिएको आश्वासन चुनाव जितेपछि कार्यान्वयन हुन सकेन्।
त्यसो त कतिपय पालिकाले युवालाई गाउँमै आकर्षित गर्ने कार्यक्रम ल्याएका छन्। कृषकहरूले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरण तथा गुणस्तरीय मल र बिउका लागि समस्या हुनन दिन सन्धिखर्क नगरपालिकाले जनता एग्रो एन्ड फरेस्टी लिमिटेड काठमाडौंंसँग सहकार्य गरेर काम गरेको छ।
सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिले उत्पादित अर्गानिक कृषिजन्य वस्तुको समर्थन मूल्यमा बजारीकरण तथा ग्यारेन्टीका लागि जनता एग्रो एन्ड फरेस्टी लिमिटेड काठमाडौंंसँग सम्झौतासमेत गरेका छन्।
विदेशमा रोजगारी गरेर फर्किएर व्यावसायिक बाख्रापालन सुरु गरेका मालारानी–६ गौराडाँडाका कृषक प्रेमबहादुर घर्ती मगरले गाउँपालिकाले हेफरको साझेदारीमा बाख्रापालनमा विभिन्न किसिमको सहयोग गरेकाले सहज भएको बताए।
मालारानी गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपाल अर्घाखाँचीको सहजीकरणमा मालारानी गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मालारानीका ९ वटै वडामा सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताएका छन्।
पूर्वसांसद पुष्पा भुसाल विकासको प्रतिफल नागरिकको अपेक्षाअनुसार नहुँदा बसाइँसराइ रोकिन नसकेको बताउँछिन्। विकाससँगै रोजगारी र उद्यमशीलता बढाउन सक्दा बसाइँसराइ रोक्न सकिने उनको भनाइ छ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ पनि भुसालको भनाइसँग सहमत छन्। शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराइ भएकाले उद्यमशीलता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। सुपा देउराली, अर्घाभगवती, पाणिनि तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नसिंह स्थान, सिद्धेश्वर शिवालयलगायत ठाउँमा पर्यटनको सम्भावनालाई एकीकृत योजना ल्याउन सके बसाइँसराइ रोकिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !