तातोपानी क्षेत्रमै रोकियो दशैंका सामग्रीः १ हजार बढी कन्टेनर बाटोमै

तातोपानी क्षेत्रमै रोकियो दशैंका सामग्रीः  १ हजार बढी कन्टेनर बाटोमै

सिन्धुपाल्चोक : नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध हुँदा चीनबाट भित्रिएका दशैंका सामग्रीहरू आयात हुन सकेको छैन। भोटेकोशी गाउँपालिका– २ इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। जसका कारण व्यवसायीहरूले आयात गरेको दशैंका सामग्रीहरू भित्रन नसकेको हो। तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दशैंअघि खुल्छ भन्न सकिने अवस्था नरहेको बताए।

सडक नखुल्दा दसैं र तिहार लक्षित सामग्री काठमाडौं ल्याउन पाइएको छैन। सडक बन्द भएपछि करिब एक हजार सात सय कन्टेनर तातोपानी क्षेत्र चिनियाँ भूभागमा रोकिँदा व्यापारी मर्कामा परेका छन्। हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए। उनले भने, ‘दशैं तिहारलाई आयात गरेको सामान दशैंपछि आएर कुनै फाइदा छैन। तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ।’

वाणिज्य संघले ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग कुरा गरेर चिनियाँ पक्षलाई नेपाल पठाउने कन्टेनर संख्या वृद्धि गर्न अनुरोध गरेको कार्कीले बताए। खासा भन्सारले कन्टेनर संख्या बढाउने भने पनि नेपालतर्फ तातोपानीमा पहिरोले सडक अवरुद्ध भएकाले आयातमा समस्या देखिएको उनले प्रस्ट्याए। ‘हामीले संख्या बढाऊ त भन्यौँ। तर, नेपालतर्फ नै समस्या छ,’ उनले भने। 

तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले इको पहिरो ठीक हुनासाथ चिनियाँ पक्षले कन्टेनर संख्या बढाउने तयारी गरेको बताए। ‘हामीले खासा भन्सारसँग नियमित कुराकानी गरिरहेका छौँ। पहिरो पन्छिना साथ दैनिक २० वटासम्म कन्टेनर पठाउने कुरा भएको छ,’ उनले भने। यद्यपि, दैनिक २० वटा पठाउँदा पनि दशैंलक्षित सामान समयमा नआइपुग्ने उनले प्रस्ट्याए। दशैंको १० दिनअघि मालसामान काठमाडौं पुगे मात्रै ती सामग्री उपभोक्तासम्म पुग्न सक्छ। 

तीन साता पूर्ण रुपमा बन्द भएको कोदारी सडक खण्डको पहिरोस्थल गएको बिहीबार चार दिन सञ्चालनमा आएको थियो। आइतबारसम्म खुलेको इको पहिरो त्यसैरात पुनः पहिरो आएपछि बन्द भएको थियो। आइतबारदेखि हालसम्म इको पहिरो सडक सञ्चालनमा आउन सकेको छैन। पहिरो गएपछि सामग्री बोकेका कन्टेनर तातोपानी क्षेत्रमा रोकिएका थिए। 

चीनबाट फलफूलको व्यवसाय गर्दै आएका व्यवसायी शारदा पराजुलीले सडक नखुल्दा आफूहरू साह्रै समस्यामा परेको बताए। ‘हाम्रो फलफूल लोड भएर बसेका कन्टेनर चीनमा अड्किएका छन्। कतिपय नेपाल नै आइसकेको छ। अब कुहिने स्थित छ,’ पराजुलीले भने। व्यवसायीले कन्टेनरबाट फलफूल बोकाएर पहिरो पार गर्न थालेका छन्। स्याउ, आँप, अङ्गुर, लसुन, प्याजलगायत कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डमा राखिएको छ।

सडक बन्द हुँदा सीमा क्षेत्रमा रोकिएका स्याउ, नास्पाती, अंगूर, लसुन, प्याजलगायतका फलफूलजन्य वस्तु पहिरो क्षेत्रबाट भरियामार्फत भन्सारसम्म ल्याइएको थियो। ‘कुहिने फलफूलजन्य वस्तुहरू व्यापारीले भरियालाई बोकाएर भन्सार जाँचपासका लागि ल्याएका थिए’, भन्सारका कार्यालय प्रमुख चुडालले भने– ‘ती सामान हामीले जाँचपास गरी पठाइसकेका छौं, तर यो दीर्घकालीन उपाय होइन। सडक नखुलेसम्म दशैंका सामान भित्रन सक्ने देखिंदैन।’ हालसम्म करिब १ सय कन्टेनर बराबर फलफूल भरियालाई बोकाएरै ल्याइएको भन्सार स्रोतले जनाएको छ।

चीनको ल्हासा, सिँगात्से, न्यालाममा मालवस्तु बोकेका कन्टेनर थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए। उनले कन्टेनर उतै अड्किएक कारण व्यवसायीलाई थप आर्थिक भार परेको बताए। व्यवसायीका सामग्री रोकिएकाले यता ऋण गरेको भार बढेको उनको भनाइ छ।

रसुवाको केरुङ नाका बन्द भएपछि चीनबाट आउने सामान तातोपानी नाका हुँदै आउने गरेका छन्। नेपाल तर्फको इकोमा पहिरो जाँदा सो सडक खण्ड पटक–पटक खुल्ने र बन्द हुने भइरहेको छ। सो नाका हुँदै सामान आयात गरेका व्यापारीहरू समयमै सामान ल्याउन नसक्दा तनावमा छन्। ‘चीनबाट आयात गरेका सामान बाटोमै अलपत्र छ’, नेपाल हिमालय सिमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले भने– ‘सरकारको लापरवाहीको पराकाष्ठा बाटो २ दिन खुलेर १० दिन बन्द हुने गरेको छ।’

चाडवाडको मुखमा बाटो सुचारु हुन नसक्दा चीनबाट आयात हुने खाद्यान्न तथा लुगाफाटो नेपाली बजारमा आई पुग्न सकेको छैन। ल्हासादेखि तातोपानी नाकासम्म १ हजार ७ सय भन्दा बढी कन्टेनर नेपाल प्रवेशका लागि लाममा बसेको उपाध्यक्ष बस्नेत जानकारी दिए। ‘ल्हासा देखि तातोपानी बोर्डरसम्म १ हजार ७ सय सय कन्टेनर लाममा छ’, उनले भने– ‘केरुङमा ६ सय कन्टेनर बाटो खुल्ने प्रतिक्षामा छन्।’

पहिरो नियन्त्रणका लागि तीन साता अघि संघीय सांसद माधव सापकोटासहित स्थानीय नेताहरू र व्यापारिक संघसंस्थाहरूको पहलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई स्थलगत अवस्था जानकारी गराएपछि उच्चस्तरीय टोली परिचालित गरिएको थियो। मन्त्रीको निर्देशनमा खटिएको इन्जिनियर शुभराज न्यौपाने नेतृत्वको प्राविधिक टोलीले पहिरो स्थलको निरीक्षणपछि ड्रिलिङ मेसिनमार्फत पहिरोभित्र थुनिएको पानी बाहिर निकाल्ने काम सुरु गरिएको भए पनि निरन्तर बगेको लेदोषीहतको पहिरोका कारण सडक सञ्चालनमा ल्याउन सकिएको छैन।

तातोपानी नजिकैको इको क्षेत्रमा पहिरोले २ सय ५० मिटर सडकमा क्षति पुर्‍याएको छ। जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बताए। ‘यहाँ दैनिक पानी परिरहेको छ, जसका कारण हिलोको बहाव थामिन सकेको छैन’, उनले भने– ‘लेदोसहितको पहिरो थामिए मात्र काम अगाडि बढ्न सक्छ।’

चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडा जस्ता वस्तु आयात हुने गरेको छ। चीनबाट आउने वस्तु विशेषगरी दशैं–तिहारलाई आवश्यक पर्ने वस्तु हुन्। दशैं–तिहार देखि चिसोलाई आवश्यक पर्ने लुगाकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन्। तर, छिटो सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारीहरू चिन्तित बनेका छन्।

मूल्यवृद्धिको मारमा उपभोक्ता
संघीय सांसद माधव सापकोटाले तातोपानी इको पहिरोको तत्काल र दीर्घकालीन व्यवस्थापन गर्न नसके आसन्न चाडपर्वमा बजारमा अचाक्ली महँगी बढ्ने बताएका छन्। ‘यो पहिरो स्थानीय समस्या मात्र नभई राष्ट्रिय अर्थतन्त्र र आम उपभोक्ताको भान्सासँग समेत जोडिएको छ’, उनले भने– ‘चाडपर्वको मुखमा नाकाको सडक अवरुद्ध हुँदा बजारमा खाद्य सामग्री, लत्ताकपडा लगायतका वस्तुको अभाव भई मूल्यवृद्धिले आकाश छुने र त्यसको प्रत्यक्ष मार आम नागरिकलाई पर्ने देखिन्छ।

सांसद सापकोटाले तत्काल पहिरो व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने भन्दै उनले सरकारलाई चिनियाँ अनुदानको उपयोग गर्न सकिने ठोस प्रस्ताव समेत राख्नुपर्नेमा जोड दिए। तातोपानी क्षेत्रमा उड्किएको कन्टेनरमा रहेका सामान नेपाली व्यापारीको लगानी भएको र त्यो डुब्दा वा बिग्रिँदा सिधैं नेपाल सरकारको पुँजीमा क्षति पुग्ने उनको भनाइ छ।

‘चीनले आफ्नोतर्फ खासा क्षेत्रमा पहिरो व्यवस्थापन गर्न जुन प्रविधि प्रयोग गरेको छ, त्यही प्रविधि र बाँकी रहेको अनुदान रकम प्रयोग गरेर यो पहिरोको दिगो समाधान गर्न सकिन्छ,’ उनले भने– ‘यसका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्छ।’

समयमै सडक बनाउन सरकारले चासो नदिँदा व्यापारीले दुःख पाउनुको साथै मूल्यवृद्धिले उपभोक्ता मारमा पर्ने व्यवसायीहरू बताउँछन्। ‘सरकारलाई तातोपानी नाका र यहाँको समस्याबारे जानकारी गराउँदा पनि चासो दिएन’ नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले भने– ‘सडक निर्माण नहुँदा नजिकिँदै गरेको चार्डपर्वका लागि समयमा सामान नआउँदा बजार महंगो हुने निश्चित छ।’

‘दशैँका सामान जति सबै अड्किएका छन्। लत्ता कपडा पनि लोड भएर बसेको छ तर नेपालमा कन्टेनर राख्ने ठाउँ नभएर ल्याउन सकिएको छैन’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले भने– ‘एक कन्टेनरको भाडा दैनिक १० रुपैयाँ चिनियाँ व्यवसायी संघलाई तिरेर राखिएको छ, जसले गर्दा सामानमा मूल्य बढ्ने निश्चित छ।’ सरकारले सडक खुलाउन चासो नदिँदा व्यवसायीहरू र उपभोक्ता दुवै मारमा परेको उनले बताए।

आफूहरूले सडक खुलाउनका लागि संघीय अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री र भन्सार विभाग प्रमुखलाई भेटेर आग्रह गरेको नेपाल हिमालय वाणिज्य व्यापार संघका महासचिव रामचन्द्र पराजुलीले बताए। ‘रसुवा बन्द भएपछि तातोपानी नाकाबाट व्यवसाय गर्न सुझाए पनि तातोपानीमा सडकको थप समस्या आइ परेर झनै समस्या भइरहेको छ,’ महासचिव पराजुलीले भने।

चाडबाडको मुखमा बस्ती उजाडिने त्रास

घनाबस्ती बस्तीमुनिको विशाल इको पहिरोका कारण भोटेकोशी गाउँपालिका– २ का सय बढी घरबस्ती उच्च जोखिममा परेको छ। निरन्तरको वर्षाले इको पहिरो बगिरहेको र तल भोटेकोशी नदीको बहावले पहिरो तानिरहेपछि इको पहिरोमाथिका बस्ती उच्च जोखिममा हो।

‘चाडबाडको मुखमा हाम्रो बस्ती नै पो नरहने हो कि भन्ने चिन्ता बढेको छ’, स्थानीय इको पहिरो पीडित उर्केन रुम्बा लामाले भने– ‘तर सरकारले भने हाम्रो पीडालाई वेवास्ता गरेको छ। सयौं परिवार चाडवाडमा त्रासमै बस्नुपर्ने अवस्था आएको छ। उनले स्थानीय, प्रदेश र संघीय सरकारलाई पटक पटक पहिरोको बारेमा जानकारी दिँदा समेत वास्ता नगरेको बताए।

सरकारले पीडितको आवाजलाई वेवास्था गरेपछि स्थानीय पीडितले चरणबद्ध आन्दोलन सुरु गरेको लामाले बताए। ‘हामीले चाडपर्वलगत्तै पहिरो समस्या समाधान गर्न अपील गरेका छौं, त्यति गर्दा पनि भएन भने हामी चरणबद्ध आन्दोलनमा जानुको विकल्प छैन,’ उनले भने। इको पहिरोमाथि चौकीडाँडा, गुम्बाडाँडा, मिलनबजार, लालविरचोक, कोदारी गुम्बा क्षेत्र, कुदुङ गाउँ, तक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा लगायतका घरबस्ती उच्च जोखिममा परेको उनले बताए।

भोटेकोशी गाउँपालिका– २ का वडाध्यक्ष कुमार श्रेष्ठले बस्ती जोगाएर सडक सञ्चालन गर्नुपर्ने बताए। ‘हाम्रो पहिलो प्राथमिकता पहिरोमाथि रहेको बस्ती जोगाउनु हो,’ वडाध्यक्ष श्रेष्ठले भने– ‘त्यसपछि ट्रयाक मात्र भए पनि खोलेर सडक सञ्चालन गर्नु हो।’ सो क्षेत्रमा पहिरो बग्ने र भासिने क्रम नरोकिएपछि पहिरोमाथिका बस्तीहरू उच्च जोखिममा परेको श्रेष्ठले जनाए।

निरन्तरको वर्षातले दैनिक रूपमा इको पहिरो बगिरहेका छ। सो पहिरो घरबस्ती डिलमा पुग्न थालेको छ। पहिरोको खतराका कारण उक्त घरगाउँका स्थानीयहरू घरमा ताला लगाएर अन्यत्र सरेका छन्। कतिपय स्थानीयहरू बाह्रबिसे, तातोपानी बजार, कोदारीबजार, खोकुण्डोल, चाकुलगायत राजधानीतर्फ विस्थापित भएका छन्। अन्यत्र गएर बस्न नसक्ने अवस्थाका कतिपय स्थानीयहरू जोखिम मोलेर पहिरो माथिका बस्तीमा बस्न बाध्य छन्। उनीहरू सुरक्षित स्थानका लागि स्थानीय सरकारसँग आग्रह गरिरहेका छन्।

२०७२ सालको भूकम्पपछि धाँजा फाटेर निरन्तर समस्या बनेको उक्त पहिरो वर्षायाममा राष्ट्रिय मुद्दा बन्ने र हिउँदमा सबैले बिर्सने प्रवृत्तिका कारण स्थानीय जनताले १० वर्षदेखि सास्ती भोग्दै आएका छन्। भूकम्प पछि भूगर्भविद्हरूले उक्त क्षेत्रलाई मानवीय बसोबासका लागि अयोग्य भन्दै ‘रातो’ लगाइएको तत्काल मानवीय र भौतिक क्षतिको ठूलो जोखिम रहेको भन्दै बस्ती सार्न सुझाव समेत दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.