तीन दिनदेखि बालक बेपत्ता
महोत्तरी : बिहीबार पढ्नका लागि विद्यालयतर्फ निस्किएका बर्दिबास नगरपालिका-१२ का एक बालक सम्पर्कविहीन भएका छन्। स्थानीय श्री जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय गौतम पासवान सोही दिनदेखि बेपत्ता छन्।
गौतम बिहीबारको दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको काका प्रमोद पासवानले बताए। सो दिन विद्यालय जान
आनाकानी गर्न थालेपछि उनकी आमाले जबरजस्ती विद्यालय जान कर गरेपछि झोला लिई साइकलमा चढी गौतम विद्यालयतर्फ निस्किएको काका प्रमोदले बताए।
बालक हराएकै दिन खोजी गरिदिनका लागि प्रहरी चौकी हातिलेटमा जानकारी गराउँदा समेत अझ फेला पर्न नसकेको पारिवारिक स्रोतले जनाएको छ। प्रहरीले बालक गौतमको खोजतलासमा प्रहरी परिचालन गरिरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रकाश बमले बताए।
प्रहरी नायब उपरीक्षक बमका अनुसार बालक सोही दिन साइकलमा चढी विद्यालय नगई औरहीबजारतर्फ गइरहेको दृश्य विभिन्न स्थानमा जडान गरिएको सीसीटीभीमा कैद भएकोले सो क्षेत्रमा अनुसन्धानको प्रक्रिया बढाइएको छ।
प्रतिक्रिया दिनुहोस !