समृद्ध नेपालको आधार कृषि क्रान्ति
कृषि नेपालको मेरुदण्ड हो। किसानहरूले देखाएको साहसिक यात्राले समृद्ध नेपाल सम्भव छ भन्ने प्रेरणा दिन्छ।
नेपाल कृषिप्रधान देश हो भन्ने त हामी सबैलाई थाहा छ। वर्षाैंदेखि नेपाली समाजले आफ्नो जीवनयापन कृषि उत्पादनमै निर्भर गरिरहेको छ। विगतमा नेपालबाट अनेकौं कृषि उपज विदेशी बजारमा निर्यात हुने गर्बिलो इतिहास रहिआएको छ। तर, विडम्बना आजको अवस्थामा देश कृषिमा आत्मनिर्भर बन्नुको सट्टा परनिर्भर बन्दै गएको छ।
मलको अभाव, सिँचाइको कमी, बजारको अव्यवस्था र सरकारी उदासीनताले गर्दा किसानहरू पर्याप्त उत्पादन गर्न सकिरहेका छैनन्। जमिन बाँझिँदो छ। यद्यपि, यस्तो प्रतिकूल अवस्थाबीच पनि किसानहरूले आफ्नै बलबुतामा कृषिमा क्रान्ति गरिरहेका छन्। मधेसमा दूध उत्पादनको उदाहरण मात्र होइन, देशभर विभिन्न कृषि सहकारी संस्थाहरूले किसानलाई संगठित गर्दै उत्पादन र आम्दानी बढाउन ठूलो योगदान दिइरहेका छन्।
महोत्तरीको कान्तिबजारमा किसानहरूले दूध उत्पादनलाई आयको मुख्य आधार बनाएका छन्। सहकारीमार्फत लाखौं लिटर दूध संकलन र बिक्री गरी गाउँलाई आत्मनिर्भर बनाइएको छ। यस्ता सहकारीहरूले किसानलाई ऋण, उपचार, बजार र प्रविधिको सुविधा उपलब्ध गराउँदै कृषिलाई पेसागत रूप दिन थालेका छन्। यसरी सहकारी आन्दोलनले ग्रामीण कृषकलाई आत्मबल दिँदै उत्पादन बढाउन प्रेरित गरेको छ। सहकारीमा विशेषगरी महिलाहरूको सहभागिता उल्लेखनीय छ। परम्परागत रूपमा चुलोचौकामा सीमित महिलाहरू अहिले सहकारीमार्फत आर्थिक गतिविधिमा जोडिँदै गाउँ–समाजमा अगुवाइको भूमिका निर्वाह गरिरहेका छन्। यसले सामाजिक परिवर्तनसँगै महिला सशक्तीकरणलाई पनि गति दिएको छ। तर, यहाँ प्रश्न उठ्छ— सरकारले यस्ता प्रयत्नलाई कत्तिको प्राथमिकतामा राखेको छ ?
विडम्बना त के छ भने कृषि क्रान्तिको आगो किसानले आफ्नै पसिनाले बालिरहेका छन् । तर, सरकारले त्यसलाई नियाल्ने आँखा देखाएको छैन। किसानको वास्तविक आवश्यकतामा पुग्ने अनुदान, सहुलियत ऋण, प्राविधिक सहयोग अझै गाउँ–गोठालो स्तरमा पुगेको छैन। यसरी किसानहरू राज्यबाट टाढा, तर आफ्नै श्रम र सहकारीको सहयोगमा नजिक हुँदै क्रान्ति गरिरहेका छन्। सरकारको अनुदान पहुँचवालाको पोल्टामा सीमित छ।
आधुनिक पुस्ता कृषि र पशुपालनलाई कम मूल्य दिन्छ। पशुपालनलाई अपहेलित पेसा ठानिन्छ, विदेश पलायनलाई नै जीवनको लक्ष्य मानिन्छ। तर, वास्तविक समृद्धि भनेको आफ्नै भूमिमा, आफ्नै पसिनामा हुन्छ भन्ने कुरा कान्तिबजारका किसानहरूले प्रमाणित गरिसकेका छन्। दूध, दही, घिउ, पनिर जस्ता परिकारले गाउँलाई मात्र होइन, सहरलाई पनि पोषण दिइरहेका छन्। यस्ता क्रान्तिमा तीन तहकै सरकारबाट मद्दत गरिनुपर्दछ। जसले देशभर नै यो उत्साह फैलिन सकोस्। अबको आवश्यकता भनेको कृषि क्रान्तिमा सबैको सक्रिय सहभागिता हो। किसान मात्र होइन, उपभोक्ता, सहकारी, निजी क्षेत्र र राज्य सबैले मिलेर कृषिको उत्पादनशीलता बढाउन हातेमालो गर्नुपर्छ। कृषि उत्पादनमा आत्मनिर्भरता नेपाललाई विदेशी निर्भरता घटाउने मात्र होइन, आर्थिक समृद्धिको मार्गमा अघि बढाउने ठोस आधार बन्न सक्छ।
कृषि नेपालको मेरुदण्ड हो। किसानहरूले देखाएको साहसिक यात्राले समृद्ध नेपाल सम्भव छ भन्ने प्रेरणा दिन्छ। अब कृषि उपेक्षा होइन, प्राथमिकताको मुद्दा हो। राज्य, समाज र प्रत्येक नागरिकले कृषि आत्मनिर्भरता र किसानको सम्मानलाई राष्ट्रिय अभियान बनाउन जरुरी छ। तीन तहकै सरकारको नीतिमा कृषि र किसानले प्राथमिकता पाउनुपर्छ।
प्रतिक्रिया दिनुहोस !