नेता-सांसदलाई मेयर बालेनले भने- जेनजी पुस्ताको विरोध र्यालीमा सहभागी बनेर बाठो नबन्नुहोला
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी पुस्ताको विरोध र्यालीमा सहभागी बनेर बाठो नबन्न नेता/अभियन्ताहरूलाई आग्रह गरेका छन्। जेनजीहरूको विरोध र्यालीलाई समर्थन जनाउँदै मेयर बालेनले उनीहरूको कुरा बुझ्न आग्रह गरेका छन्।
'भोलिको र्याली स्पष्ट स्वतस्फूर्त रूपमा Gen Z को हो। उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ। जसका लागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ। प्रिय Gen z भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनु हुन्छ?,' बालेनले फेसबुकमा लेखेका छन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ताले भोलि (सोमबार) देशव्यापी विरोध गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !