एमाले विधान महाधिवेशन : सबै प्रतिवेदन सर्वसम्मतले पारित
काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशनले प्रस्तावित सबै प्रतिवेदनहरू पारित गरेको छ। ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले सबै प्रतिवेदन सर्वसम्मतले पास गरेको प्रचार प्रसार प्रमुख राजेन्द्र गौतमले बताए।
उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको सांगठनिक प्रस्ताव सर्वसम्मतले पास गरेको हो।
सभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रस्तावको विपक्षमा हुनेहरूको खोजीसमेत गरेका थिए। 'अध्यक्षज्युले प्रस्तावको विपक्षमा कोही हुनुहुन्छ भने उभिन आह्वान गर्नुभएको थियो। तर, कोही पनि विपक्षमा उभिनु भएन। सबै प्रतिवेदन सर्वसम्मतले पास भयो,' गौतमले पत्रकार सम्मेलनमा भने।
त्यस्तै महाधिवेशनबाट डा. विजय सुब्बाको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !