एमाले विधान महाधिवेशनमा ओलीको सन्देश- दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार हुन्छ

एमाले विधान महाधिवेशनमा ओलीको सन्देश- दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार हुन्छ
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गरिने बताएका छन्।

एमालेको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले वर्तमान सरकार सात बुँदे सहमतिको जगमा बनेकाले तिनलाई क्रमशः कार्यान्वयन गर्दै जाने बताए। 'सुशासनको प्रत्याभूति, निर्वाचन प्रणाली सुधार गर्दै अगाडि बढ्नुपर्ने छ। अनेक प्रकारका बखेडा निकाल्नेभन्दा निष्कर्षमा पुर्‍याउने गरी काम हुन्छ। समानताको आधारमा राष्ट्रिय एकता, सुशासन र विकासको काम हुन्छ,' प्रधानमन्त्री ओलीले भने।

उनले धेरै कुरा राजनीतिक प्रस्तावमा सविस्तार उल्लेख गरिएको भन्दै परिपक्वताका साथ काम गरिने स्पष्ट पारे। 'प्राप्त सुझावलाई ध्यान दिएर काम गर्नेछौं। वर्तमान संविधान निकै मिहेनत गरेर हामीले जारी गरेका हौं। ३१ वटा मौलिक हकका लागि हामीले पैरवी गरेका हौं। जनताको बहुदलीय जनवादका आधारमा संविधान बनेको हो। बाटो बनाउने बेलामा विरोध हुन्छ, बाटो बनिसकेपछि त्यो बाटोमा हिड्दिनँ भनेर कसैले भन्दैन, हामी देश, जनता र विकासको बाटोमा अगाडि बढिरहेका छौं,' उनले भने। 

राजनीतिक प्रतिवेदनमाथि प्राप्त प्रश्न एवं सुझावबारे धारणा राख्दै उनले एमालेमा हिजोको जस्तो परिस्थिति नरहेको र एमाले जवाफदेहिताको केन्द्र तथा प्रतिस्पर्धाको राजनीतिमा रहेको बताए। 'अहिले वामएकताको नारा दिइरहेका छन्। हिजो हामीलाई सिध्याउन भनेर हिँडेका हैन? पार्टी खिइँदै गएर दुई चार जनामा सीमित भएकाहरूलाई फेरि एकताको नारा लगाइरहेका छन्। हामीले फर्मालिन हाल्न किन जानु,' उनले भने। 

एमालेसँग गौरवपूर्ण इतिहास, भरलाग्दो वर्तमान र आशालाग्दो भविष्य रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध ‘पपुलिष्ट’ राजनीति गर्नेविरुद्ध किन बोल्न र लेख्न नसकेको भन्दै नेता तथा कार्यकर्तालाई प्रश्न गरे। उनले प्रदेश तथा स्थानीय तहको नेतृत्वमा रहेका पार्टी नेताहरूलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए। अध्यक्ष ओलीले भने, 'प्रदेश र स्थानीय तहमा रहेका हाम्रा साथीहरूले कुनै खोट नआउने गरी काम गर्नुपर्छ। हामी एउटा महान् उद्देश्यमा छौं। त्यसैले यसमा दृढ भएर काम गरौं।'

उनले वितरणमुखी बजेटले देशको विकास नहुने भएकाले सबै क्षेत्रको विकासका लागि समुचित बजेट व्यवस्थापन गरिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले चुरे दोहनका कारण वातावरणमा समस्या भएको भन्दै चुरे संरक्षणका लागि ठोस् राजनीतिक कदम आवश्यक रहेकाले यसका लागि नीति र कार्यक्रम बनाएर छुट्टै प्रबन्ध गरिने धारणा राखे।

उनले जनसरोकारका विषयमा महिलामाथि भइरहेका ज्यादती, युवाका चासो, किसानका माग, विद्यार्थीका आवश्यकताका विषयमा एमालेले अभियान चलाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सूचना प्रविधिको जमाना भएकाले त्यसको उपयोग गर्दै आम्दानी गरेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताए। 'मानिसको मस्तिष्क अहिले उत्पादनको साधन भएको छ। प्रविधिसँगको पहुँच भएको व्यक्तिले विश्वस्तरमा व्यापार र उद्यम गर्नसक्छ। आज शारीरिक श्रमभन्दा मानसिक श्रम बलियो भएको छ, छोराछोरी पढाइदियो मात्रै भने पनि आज परिवार सम्पन्न हुन्छ। त्यसले समयलाई चिनेर काम गर्न आवश्यक छ,' उनले भने।

प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व र स्थिर सरकार आवश्यक रहेको बताए। 'एमालेले दश वर्ष शासन गर्न पायो भने देशमा धेरै विकास हुन्छ। हामीकहाँ १० महिना पनि सरकार टिक्दैन, १० महिनामा त जग हालेको घर पनि पूरा भएको हुँदैन। अहिले भने मैले नै धेरै समय सरकार टिकाएको हो। त्यसैले जनसरोकारका पक्षमा काम गरौँ एमालेलाई कसैले बिर्सिँदैन,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.