जहिल्यै विपद्को मारमा कर्णाली, तीन तहबीच समन्वयकै अभाव

जहिल्यै विपद्को मारमा कर्णाली, तीन तहबीच समन्वयकै अभाव

वीरेन्द्रनगर : भदौ पहिलो साता भोजपुरका प्रदीप राई रारा घुम्न आए। राराको सौन्दयर्ताको बखान गर्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरे। राराका रमणीय दृश्य देखेर साथीहरूले पनि अर्को वर्ष रारा घुम्न जाने भन्दै उनको सामाजिक सञ्जालमा प्रतिक्रिया फर्काए।

मख्ख बनेका प्रदीप कर्णाली राजमार्ग हुँदै घर फर्किैदै थिए। कालिकोटको गगनेखोलामा गएको पहिरोले सडक अवरुद्ध भयो। प्रदीप तीन दिन बाटोमै अलपत्र परे। ‘बाटो अबरुद्ध भएपछि तीन दिन चाउचाउ खाएर ज्यान जोगाइयो,’ प्रदीपले दुःखेसो पोखे, ‘सामान बोक्ने गाडीमा रात बिताउनुपर्‍यो। यात्रुहरूले तीन दिन सडकमै दुखकष्ट साथ बिताउनुपर्‍यो।’ 

यस वर्ष भदौमा हप्तौं दिनसम्म कर्णाली राजमार्ग अबरुद्ध भयो। कुन दिन बाटो बन्द हुने र कुन दिन खुल्ने, ठेगानै भएन। कर्णालीको लाइफलाइन मानिने कर्णाली राजमार्गको यो हविगतले यहाँको जनजीवन प्रत्यक्ष प्रभावित भइरहेको छ। कर्णाली राजमार्गमा यात्रा गर्ने जोकोहीले वर्षाको बेला प्रदीपकै जस्तो सास्ती भोग्नुपर्छ। राजमार्गको कुन खण्डमा कति खेर पहिरो खस्ने हो र कति दिन अलपत्र परिने हो, ठेगान नै हुँदैन।

कालीकोटको नरहरीनाथ गाउँपालिका लालुका उमेश बिष्टले भने, ‘कर्णाली राजमार्गमा हुने विपद्का कारण कर्णालीको जनजीवन नै प्रभावित भइरहेको छ। तर, सम्बन्धित निकायले यो राजमार्ग नियमित सञ्चालनका लागि खासै ध्यान दिएका छैनन्। हरेक वर्ष पहिरो खस्छ, डोजरले पन्छाइन्छ। केही दिन सडक सुचारु हुन्छ। फेरि पहिरो खसिहाल्छ। त्यसैकारण पहिरोको स्थायी रोकथामको उपाय नखोजिएसम्म कर्णालीवासीले बर्सेनि सास्ती भोगिरहनुपर्छ।’ 

कर्णालीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य नाडी हो– कर्णाली राजमार्ग। तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले भने, ‘वर्षाको समयमा पहिरो र बाढीका कारण कर्णाली राजमार्ग पटक–पटक अबरुद्ध हुन्छ। यसले यात्रुहरूलाई थुप्रै समस्या भोग्न बाध्य पार्छ। दैनिक उपभोग्य वस्तुको आयात–निर्यातमा पनि ठूलो असर पुर्‍याउँछ। विकास निर्माणका आयोजनाहरूको समान ढुवानी गर्न पनि असहज छ। वर्षा सुरु हुने बित्तिकै ठाउँठाउँमा पहिरो खस्छ। बाढीले सडकलाई बगाएर यातायात ठप्प हुन्छ। यसको स्थायी समाधानका लागि संघिय सरकारले ठोस पहल गर्नुपर्ने आवश्यक्ता छ।’ 

कर्णाली प्रदेश प्राकृतिक विपत्तिका कारण बर्सेनि मारमा पर्दै आइरहेको छ। यहाँ भिरालो जमिन, जथाभावी हुने विकास निर्माण र जलवायुका कारण हुने विपत्तिका कारण बर्सेनि भौतिक र मानवीय क्षति भइरहेको छ। यहाँका सडक र पूर्वाधारहरू प्रायः वर्षाको समयमा बाढी र पहिरोले अवरुद्ध भइरहन्छन्। जसले दैनिक जनजीवन र आर्थिक गतिविधिमा ठूलो बाधा पुर्‍याइरहेको छ। कर्णाली राजमार्ग कर्णालीको लाईफलाइन हो। यहाँ हुने विपद्ले समग्र कर्णालीमा मानिसहरूको आवतजावतका साथै दैनिक उपभोग्य बस्तुहरूको आयात निर्यात पनि प्रभावित हुने गरेको छ। 

जहाँ बाटो खनिँदैन, माटो खनिन्छ 
कर्णाली राजमार्गसँग जोडिएका शाखा सडकहरूले पनि कर्णाली राजमार्गमा विपद् सिर्जना गरिरहन्छन्। जुन सडकहरू वातावरण प्रभाव मूल्यांकनबिना नै धमाधम डोजर चालकलााई इन्जिनियर बनाएर निर्माण गरिन्छन्। इन्जिनियर कृष्णप्रसाद पाण्डेले भने, ‘विकासका लागि विकासले कर्णालीमा विपद्को थप जोखिम पारिरहेको छ। कर्णाली राजमार्गको गगने खोलामा पनि पहिरोको रोकथाम भइसकेको थियो। तर, त्यहाँको पालिकाले हाउडी जाने शाखा सडक खनेकै कारण निरन्तर पहिरो खसिरहन्छ। यसले कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई धेरै सास्ती दिइरहेको छ।’

उनका अनुसार कर्णालीमा स्थानीय तहले सडक खन्दैनन्। यिनीहरूले माटो खन्ने काम गरिरहेका छन्। स्थानीय सरकारले बाटो खन्दैनन्, माटो खन्छन्। वातावरणीय पूर्वअध्ययनबिना खनिने सडक हो भने, अध्ययन नै नगरी माटो मात्र खनिने हो। त्यसले मानव निर्मित विपद्हरू व्यापक रूपमा बढिरहेका छन्। 

उनले भने, ‘सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन नगरी खन्नु हुँदैन्। अझ सडक ऐनमा कुनै पनि मुख्य राजमार्गबाट शाखा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयको अनुमति लिनपर्छ। त्यो नियम पालना कसैले गरेका छैनन्। निर्माण गरिएका सडकहरू पनि गाडी गुड्नका लागि होइन, मेसिन गुड्ने गरी निर्माण गरिन्छन्। त्यसैले न यातायातका साधन त्यहाँ गुडाउन सकिन्छ, न त्यसले मुख्य राजमार्ग नै नियमित सञ्चालन हुन दिन्छन्। कर्णालीमा पछिल्लो समय जथाभावि हुने विकासले पनि विपद् निम्त्याइरहेको छ।’

कतिपय ठाउँमा सडक डिभिजनले हरेक वर्ष बिग्रेको सडक पिच गर्छ। तर, हप्ता दिन पनि टिक्दैन। सडक बनाउँदै जान्छ, पछाडि भत्किँदै जान्छन्। जसका कारण यो राजमार्गको यात्रा जोखिमयुक्त छ नै। त्यसमाथि हरेक वर्ष आउने बाढी र पहिरोका कारण पटक–पटक अबरुद्ध हुने, कतिपय स्थानहरूमा एक गाडीले अर्को गाडीलाई साइड दिने ठाउँ नपुग्दा जाम हुने, सडकमा परेका ठूला–ठूला खाल्डाहरूले सवारी साधन चल्नै निकै कठिन हुने, सडकहरूमा ट्राफिक संकेतहरू नहुँदा दुर्घटनाका साथै अन्य जोखिमहरू निम्तिने जस्ता समस्याले सवारी साधन सञ्चालक तथा सवार यात्रु हैरानी भोगिरहेका छन्। बर्सेनि बिग्रिँदै गएको सडकको मर्मतसम्भार र स्तरोन्नतिको काम नहुँदा पनि यो राजमार्गको यात्रा थप जटिल बन्दै गएको छ।

विपद्बाट बर्सेनि क्षति 
कर्णालीमा विपद्बाट बर्सेनि ठूलो धनजनको क्षति भइरहेको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र कर्णाली प्रदेशका १० वटा जिल्लामा २ सय ५० वटा विपद्का घटनाहरू भए। जसमा ३ जनाको ज्यान गयो। २१ जना घाइते भए। ४१ वटा पशुचौपाया मरे। २ सय ९९ वटा भौतिक संरचनाहरूमा क्षति पुग्यो। १ करोड २६ लाख ३७ हजार २ सय बराबरको भौतिक क्षति भएको प्रहरीको भनाइ छ। 

यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा पनि कर्णालीमा ८ सय २१ विपद्का घटना भए। उक्त घटनामा ३५ जनाको मृत्यु भयो। १ सय ८० जना नागरिक घाइते भए। ८ सय ६२ पशुचौपाया मरे। १ हजार ३ सय ६ भौतिक संरचनामा क्षति भयो। १६ करोड २६ लाखभन्दा बढीको भौतिक क्षति भयो। यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ७ सय ६५ वटा विपद्का घटनाहरू भए। १ सय ९४ जनाको ज्यान गयो। ४ सय ७४ जना घाइते भए। ७ सय २५ पशुचौपाया मरे। ६३ हजार १ सय ३१ वटा भौतिक संरचनामा क्षति पुग्यो। २ अर्ब ६६ करोड १५ लाखभन्दा बढीको भौतिक क्षति भयो। त्यस अघिका बर्षहरूमा पनि बर्सेनि ५० भन्दा बढी मानिसहरूले विपद्बाट ज्यान गुमाइरहेका थिए। करोडौंको क्षति व्यहोर्दै आएको छ, कर्णालीले। 

विपद् प्रतिकार्यमा समन्वयको समस्या
कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या हुने गरेको छ। मुगुको छायानाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले विपद् व्यवस्थापनको काम एकद्वारबाट हुनुपर्ने बताए। उनले भने, ‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच तालमेल नमिल्दा विपद् व्यवस्थापनमा समस्या छ। जिल्ला तहमा संघ र प्रदेशका संरचनाहरू छुट्टाछुट्टै छन्। उनीहरूले पनि स्थानिय सरकारसँग समन्वय गरेर आफ्ना योजना तर्जुमा गर्दैनन्। प्रदेश र संघीय सरकारले योजना तर्जुमा गर्दा स्थानीय सरकारसँग समन्वय गर्दैनन्। यसले विपद्का क्षेत्रमा छरिएर लगानी जाने र उचित प्रतिफल नआउने समस्या भइरहेको छ।’ 

विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भए तापनि समन्वयको अभावमा कार्यान्वयन हुन नसकेको नागरिक समाजका अगुवाहरूको भनाइ छ। कर्णाली प्रदेशसभाकी पूर्वसदस्य पद्मा खड्काले भनिन्, ‘विपद् व्यवस्थापनको क्षेत्रमा सरकारले बनाएका ऐन नियमहरू प्रभावकारी रूपमा कार्यन्वयनमा आएका छैनन्। 

जसका कारण नागरिकहरूले विपद् आउँदा तत्काल सरकार साथमा रहेको अनुभूति गर्न पाउँदैनन्। स्रोत साधनहरूमा पनि जनताका आवश्यकताभन्दा पनि पहुँचका आधारमा हुने बाँडफाँडले विभेद गर्ने गरिन्छ। विपद् व्यवस्थापनमा प्रदेश सरकार चुकिरहेको छ। स्थानीय सरकारले पनि स्थानीय समस्या अनकूलभन्दा पनि आफू अनुकूल स्रोत परिचालन गर्ने गलत संस्कारले विपद् व्यवस्थापनका लागि आवश्यक मुख्य काम ओझेलमा परेको छ।’ null

कर्णालीको भौगोलिक कठिनाइ तथा यस्ता जोखिमयुक्त स्थानमा विपद्को सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारीको अभावमा उद्धारमा पनि उस्तै समस्या भइरहेको छ। विपद् व्यवस्थापनमा तीन तहका सरकारसँगै साझेदार निकायबीच समन्वय गरी एकीकृत रूपमा कार्यक्रम बनाएमा सहज हुने उनको भनाइ छ। 

विपद्को प्रतिकार्यमा सरकार गम्भीर छ –प्रवक्ता शाह
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णालीमा बाढी पहिरो तथा अन्य विपद्को प्रतिकार्यका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए। जलबायु अनुकूलन हुने गरी विकास निर्माण गर्न र विपद् भइसकेपछि पीडित नागरिकहरूको घाउमा मलम लगाउन सरकारले योजनाबद्ध काम गर्ने गरेको उनले बताए। उनले भने, ‘कर्णालीमा विपद्बाट हुने पीडितहरू धेरै छन्। 

सबै पीडितहरूको दीर्घकालीन बसाइँ व्यवस्थापन गर्न धेरै चुनौतीहरू छन्। त्यसमा स्थानीय सरकारसँग समन्वय गरी पहल भइरहेको छ। कतिपय जिल्लामा एकीकृत बस्ती निर्माण गरी त्यस सुरक्षित बस्ने वातावरण पनि बनाइएको छ।’ बाढी–पहिरो तथा अन्य विपद्बाट अस्थायी टहरा र पालमुनी बसेकाहरूलाई जग्गा प्राप्तिका साथै उनीहरूको सुरक्षित बासका लागि पहल भइरहेको उनले बताए। 

कर्णालीमा बर्सेनि विपद्का घटनाहरू हुने र प्रयाप्त स्रोत साधन नहुने समस्याका कारण पीडितहरूको व्यवस्थापनमा समस्या भइरहन्छ। ‘तर, सरकारले सबै नागरिकका समस्यामा साथ दिदै आएको छ,’ उनले भने, ‘समय लागे पनि सबैको उचित व्यवस्थापन गर्नका लागि सरकार प्रतिबद्ध छ। त्यसका लागि सबै सरोकारवालाहरूसँग समन्वय गर्ने कार्य भइरहेको छ। कतिपय विकल्पहरूको खोजी गर्दा पीडितहरूले नै सहयोग नगर्ने समस्या पनि छ। यसलाई सबै पक्ष जिम्मेबार बनेर सहयोग गर्नुपर्ने अवस्था छ।’

कर्णालीमा विपद्का कारण  पीडितहरू धेरै छन्। 
सबै पीडितको दीर्घकालीन बसाइँ व्यवस्थापन गर्न धेरै चुनौतीहरू छन्। स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थापनको पहल भइरहेको छ। 
विनोदकुमार शाह,भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कर्णाली प्रदेश

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच तालमेल नमिल्दा विपद् व्यवस्थापनमा समस्या छ । विपद्का क्षेत्रमा छरिएर लगानी हुने र उचित प्रतिफल नआउने समस्या भइरहेको छ। 
विष्णुकुमार भाम,मेयर, छायानाथ रारा नगरपालिका,  मुगु

विकासका लागि विकासले कर्णालीमा विपद्को थप जोखिम पारिरहेको छ । गगने खोलामा पहिरोको रोकथाम भइसकेको थियो। तर, त्यहाँको पालिकाले हाउडी जाने शाखा सडक खनेकै कारण निरन्तर पहिरो खसिरहन्छ । 
कृष्णप्रसाद पाण्डे, इन्जिनियर

बाटोमै कुहिन्छ स्याउ

कर्णाली प्रदेशको अधिकांश जनसंख्या राजमार्गमा निर्भर छ। ०७८ सालको जनगणनाअनुसार कर्णालीको कुल जनसंख्याको ७३ दशमलव ७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न छ। उत्पादित वस्तु बजारीकरण गर्ने, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र व्यापारका लागि सबैलाई सजिलो यातायात सेवा हो।

कालीकोट चिलखायामा स्याउ उत्पादन गरिरहेका टेकबहादुर शाहीले भने, ‘स्याउलाई बजार लैजाने समयमा नै पहिरोले राजमार्ग अबरुद्ध हुन्छ। यसले हाम्रो वर्षभरीको कमाई नै प्रभावित बन्ने गरेको छ। स्याउ बोकेका ट्रकहरू गगने खोलाका आसपास दिनहुँ रोकिन्छन्। कति स्याउ बाटोमै कुहिएर जान्छन्। हाम्रो उत्पादन बजारमा पुग्नै समस्या भईरहेको छ। यसले हाम्रो आम्दानीमा पनि गिरावट ल्याएको छ।’ कर्णाली राजमार्ग स्वास्थ्य सेवाका हिसाबले पनि ज्यादै महत्वपूर्ण छ। मुगु, जुम्ला, कालीकोट जस्ता बिकट जिल्लाबाट गम्भीर प्रकृतिका बिरामीहरू सुविधा सम्पन्न अस्पताल लिने एक मात्र सहज रुट कर्णाली राजमार्ग हो। वर्षा याममा हवाई सेवा सञ्चालन भएका जिल्लाहरूबाट पनि प्रतिकूल मौसमका कारण चाहिएको बेला पाइँदैन। 

कर्णाली प्रदेशसभामा उपसभामुख रहेकी कालीकोटकी सांसद यसोदा न्यौपानेले भनिन्, ‘कर्णालीका कष्ट सरकारले सुन्दैन। कर्णाली राजमार्गमा प्रयाप्त बजेट विनियोजन गरी पहिरो व्यवस्थापन र सुविधायुक्त सडक निर्माण गर्न पटक–पटक आग्रह गरेका छौं। तर, सरकारले हाम्रा र हाम्रा प्रतिनिधिका कुराहरू सुन्दैन। यहाँ जनताहरूले दुख पाईरहेका छन्। हामीले गाली पनि खाईरहेका छौँ।’ उनले केही समय अगाडि गगने खोलामा पहिरो खसेर पाँच दिनसम्म सडक अबरोध हुँदा जुम्ला र कालीकोटबाट आएका स्याउका ट्«कहरू बाटोमै थन्कीएको बताइन्। 

वर्षायाममा हुने विपद्का कारण कर्णालीको पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित हुने गरेको छ। कर्णाली प्राकृतिक दृष्टिले निकै धनी छ। यहाँ वर्षभरि पर्यटकहरूको आगमन हुने प्रसस्त आकर्षक पर्यटकीय गन्तव्यहरू छन्। वर्षायाममा हरियालीका कारण ती पर्यटकीय क्षेत्रहरू पनि निकै मनमोहक बन्छन्। पर्यटन व्यवसायी कमल गौतमले भने, ‘बाढी–पहिरो जस्ता प्राकृतिक विपद्ले वर्षायाममा कर्णाली भ्रमण सहज हुँदैन। सुक्खा सिजनमा यातायात र हवाई सेवा दुवै सहज भए पनि कर्णालीको खास रूप देख्न पाइँदैन। त्यसमा पनि पछिल्लो समय भइरहेको जलवायु परिवर्तनको असरले कर्णालीमा पर्यटन क्षेत्र निकै प्रभावित बनिरहेको छ। यसले दीर्घकालीन रूपमा प्रदेशको आर्थिक विकासमा नकारात्मक प्रभाव पारिरहेको छ। सरकारले सडक यातायात सेवा नै सहज र सुविधायुक्त बनाएर कर्णालीलाई बाह्रै महिना पर्यटक आउन सक्ने गन्तव्य बनाउनु आवश्यक छ।’ 

कर्णाली प्रदेशको भौगोलिक संरचना जटिल छ। धेरै ठाउँमा जमिन स्थिरता कम छ र भू–संरचना पहिरोको उच्च जोखिममा छ। वर्षा तथा बाढीले जमिनलाई कमजोर बनाउँछ र पहिरो आउँछ। मानव गतिविधि, जस्तै वन कटान, अवैध निर्माण र अनियमित सडक निर्माणले पनि समस्यालाई झन विकराल बनाउँदै लगेका छन। कर्णालीमा विपद् न्यूनीकरणका लागि आधुनिक प्रविधि र दीर्घकालीन योजना आवश्यक छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.