शान्ति चाहिरहेको विश्वमा युद्ध

शान्ति चाहिरहेको विश्वमा युद्ध
सुन्नुहोस्

रूसले आफ्नो छिमेकी युक्रेनमाथि चलाइरहेको बर्बर आक्रमणको निशानामा निर्दाेष नागरिकहरू पर्न थालेका छन् । रूसले युक्रेन राजधानी किभमा प्रधानमन्त्री कार्यालय भवनसमेत लक्ष्य गर्दै भदौ २२ गते गरेको आक्रमण निन्दनीय र भत्र्सनायोग्य छ । युद्ध आफैंमा विभीषिकापूर्ण हुन्छ नै त्यसमाथि निर्दोष र गैरसैनिक नागरिक मारिनु अति अमानवीय हो । क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै रूसले युक्रेनी प्रधानमन्त्रीको गृहनगरमा आक्रमण गरी अरू मनोवैज्ञानिक आतंक सिर्जना गरेको छ । शान्तिपूर्ण वार्ताबाट समाधान खोज्नेभन्दा युद्धकै माध्यमबाट रूसले आफ्नो साम्राज्यवादी चरित्रलाई उदांगो पारेको छ । प्रत्यक्षरूपमा युक्रेन युद्धको मारमा परे पनि यसले विश्वभर नै एउटा आतंक सिर्जना गरेको छ ।

संसारको जुनसुकै कुनामा भएको भए पनि अप्रत्यक्ष रूपमा त्यसले विश्वभर नकारात्मक प्रभाव पार्छ । त्यसमाथि युक्रेन खाद्यान्नलगायत वस्तुको एउटा उल्लेखनीय उत्पादक पनि हो । नेपालले समेत त्यहाँबाट खाद्यवस्तु आयात गथ्र्यो । घुमाउरो गरी भए पनि नेपालमा पनि युक्रेनमाथिको आक्रमणको असर र बाछिटा नेपालसम्म आइपुग्छ । नेपाल विश्वमा शान्ति चाहने र कुनै पनि युद्धको पक्षधर नभएको असंलग्न नीति भएको राष्ट्र हो । जुनसुकै बहानाका युद्धको पनि नेपाल सधैं विपक्षमा छ । 

रूसको निशाना सैन्य र ऊर्जा पूर्वाधारमा सीमित रहेन । युक्रेनी राज्य संयन्त्रको मुटुमै प्रहार गर्ने उसको दुस्साहसले हठ र मानवता विरोधी चरित्रलाई झनै नंग्याएको छ । पेरिस सम्मेलनलगायत पश्चिमा राष्ट्रहरूले गरेको शान्तिको पहललाई ठाडै इन्कार गर्दै रूसले शीतयुद्धकालीन मानसिकताको पुनरुत्थानको सन्देश दिएको छ । यसले विश्वको भूराजनीतिक तनाव अझ बढाएको छ । युक्रेनमाथि रसियाली युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन हमला गरी एक वर्ष पनि नपुगेका शिशुको समेत हत्या गर्न रूस उत्कट हुनु ऊ युद्धपिपासु भएकै प्रस्ट संकेत हो । जबकि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि तयार भएको बताएकै छन् ।

 तर रूसी राष्ट्रपति वार्ताका लागि पनि आफ्नै राजधानी सहर मस्कोको प्रस्ताव गर्छन् भने उनी समाधान खोज्न तयार नरहेको बुझिन्छ । हरेक युद्धमा जस्तै रूस—युक्रेन युद्धमा पनि कसैको जितभन्दा मानवताकै हार भएको छ । तसर्थ यो विश्व मामिला हो । मानवअधिकार र शान्तिका लागि विश्व समुदायले नै यो युद्ध रोक्ने पहल कदमी लिनुपर्छ । रूसी तेल र ग्यासमाथिको पूर्ण प्रतिबन्ध लगाउने अनि युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्ने पश्चिमा तरिका पनि युद्ध उक्साउने शैली हो । 

द्वन्द्व अन्त्यका लागि तटस्थताको भाव र व्यवहार चाहिन्छ । तर रूसलाई ठेगाना लगाउने मनसायबाट युक्रेनका लागि पुट दिनु कत्ति पनि जायज हुँदैन । सन् २०१४ मा रूसले क्राइमिया कब्जा गरेको थियो । मुख्य कारण रूसी साम्राज्यवाद हो । युक्रेन स्वतन्त्र राष्ट्र हो । उसले आफ्नो बाटो छान्ने अधिकार राख्छ । ‘सर्पले आफ्नो विष कहिल्यै त्याग्दैन ।’ भनेजस्तो गरी रूसले शान्ति होइन युद्धमात्रै चाहेको प्रतीत भइरहेको छ, जुन विश्वशान्तिकै ठूलो तगारो हो । विश्वव्यापी अस्थिरता सिर्जना गर्ने र आतंकको बादल फैलाउने यस्तो युद्ध अन्त्यको विकल्प छैन ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.