शान्ति चाहिरहेको विश्वमा युद्ध
रूसले आफ्नो छिमेकी युक्रेनमाथि चलाइरहेको बर्बर आक्रमणको निशानामा निर्दाेष नागरिकहरू पर्न थालेका छन् । रूसले युक्रेन राजधानी किभमा प्रधानमन्त्री कार्यालय भवनसमेत लक्ष्य गर्दै भदौ २२ गते गरेको आक्रमण निन्दनीय र भत्र्सनायोग्य छ । युद्ध आफैंमा विभीषिकापूर्ण हुन्छ नै त्यसमाथि निर्दोष र गैरसैनिक नागरिक मारिनु अति अमानवीय हो । क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै रूसले युक्रेनी प्रधानमन्त्रीको गृहनगरमा आक्रमण गरी अरू मनोवैज्ञानिक आतंक सिर्जना गरेको छ । शान्तिपूर्ण वार्ताबाट समाधान खोज्नेभन्दा युद्धकै माध्यमबाट रूसले आफ्नो साम्राज्यवादी चरित्रलाई उदांगो पारेको छ । प्रत्यक्षरूपमा युक्रेन युद्धको मारमा परे पनि यसले विश्वभर नै एउटा आतंक सिर्जना गरेको छ ।
संसारको जुनसुकै कुनामा भएको भए पनि अप्रत्यक्ष रूपमा त्यसले विश्वभर नकारात्मक प्रभाव पार्छ । त्यसमाथि युक्रेन खाद्यान्नलगायत वस्तुको एउटा उल्लेखनीय उत्पादक पनि हो । नेपालले समेत त्यहाँबाट खाद्यवस्तु आयात गथ्र्यो । घुमाउरो गरी भए पनि नेपालमा पनि युक्रेनमाथिको आक्रमणको असर र बाछिटा नेपालसम्म आइपुग्छ । नेपाल विश्वमा शान्ति चाहने र कुनै पनि युद्धको पक्षधर नभएको असंलग्न नीति भएको राष्ट्र हो । जुनसुकै बहानाका युद्धको पनि नेपाल सधैं विपक्षमा छ ।
रूसको निशाना सैन्य र ऊर्जा पूर्वाधारमा सीमित रहेन । युक्रेनी राज्य संयन्त्रको मुटुमै प्रहार गर्ने उसको दुस्साहसले हठ र मानवता विरोधी चरित्रलाई झनै नंग्याएको छ । पेरिस सम्मेलनलगायत पश्चिमा राष्ट्रहरूले गरेको शान्तिको पहललाई ठाडै इन्कार गर्दै रूसले शीतयुद्धकालीन मानसिकताको पुनरुत्थानको सन्देश दिएको छ । यसले विश्वको भूराजनीतिक तनाव अझ बढाएको छ । युक्रेनमाथि रसियाली युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन हमला गरी एक वर्ष पनि नपुगेका शिशुको समेत हत्या गर्न रूस उत्कट हुनु ऊ युद्धपिपासु भएकै प्रस्ट संकेत हो । जबकि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि तयार भएको बताएकै छन् ।
तर रूसी राष्ट्रपति वार्ताका लागि पनि आफ्नै राजधानी सहर मस्कोको प्रस्ताव गर्छन् भने उनी समाधान खोज्न तयार नरहेको बुझिन्छ । हरेक युद्धमा जस्तै रूस—युक्रेन युद्धमा पनि कसैको जितभन्दा मानवताकै हार भएको छ । तसर्थ यो विश्व मामिला हो । मानवअधिकार र शान्तिका लागि विश्व समुदायले नै यो युद्ध रोक्ने पहल कदमी लिनुपर्छ । रूसी तेल र ग्यासमाथिको पूर्ण प्रतिबन्ध लगाउने अनि युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्ने पश्चिमा तरिका पनि युद्ध उक्साउने शैली हो ।
द्वन्द्व अन्त्यका लागि तटस्थताको भाव र व्यवहार चाहिन्छ । तर रूसलाई ठेगाना लगाउने मनसायबाट युक्रेनका लागि पुट दिनु कत्ति पनि जायज हुँदैन । सन् २०१४ मा रूसले क्राइमिया कब्जा गरेको थियो । मुख्य कारण रूसी साम्राज्यवाद हो । युक्रेन स्वतन्त्र राष्ट्र हो । उसले आफ्नो बाटो छान्ने अधिकार राख्छ । ‘सर्पले आफ्नो विष कहिल्यै त्याग्दैन ।’ भनेजस्तो गरी रूसले शान्ति होइन युद्धमात्रै चाहेको प्रतीत भइरहेको छ, जुन विश्वशान्तिकै ठूलो तगारो हो । विश्वव्यापी अस्थिरता सिर्जना गर्ने र आतंकको बादल फैलाउने यस्तो युद्ध अन्त्यको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस !