६ घण्टासम्म चलिरह्यो गोली, अस्पतालमा मर्माहत दृश्य

तयारी नपुग्दा सुरक्षा संयन्त्र कमजोर

६ घण्टासम्म चलिरह्यो गोली, अस्पतालमा मर्माहत दृश्य

भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सोमबार गरेको स्वतःस्फूर्त प्रदर्शन अन्ततः हिंसात्मक बनेको छ । त्यस क्रममा काठमाडौंमा १७ र सुनसरीको इटहरीमा भएको यस्तै प्रदर्शनमा २ गरी १९ जनाको मृत्यु भएको छ । काठमाडौं र देशभर गरी कम्तीमा ४ सय घाइते भएका छन् । 

काठमाडौंको माइतीघरबाट बानेश्वरसम्म भएको र्‍यालीका सहभागी संसद् भवनको पर्खाल नाघेर भित्र छिरेपछि प्रहरीले गोली चलाएको थियो । 
शान्तिपूर्ण हुने भनिएको प्रदर्शन अकल्पनीय उग्र बन्दा ठूलो संख्यामा जनधनको क्षति भएको छ । बिहान ९ बजे माइतीघरबाट सुरु भएको आन्दोलनले ११ बजेतिर नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेको थियो । ठूलो हुल नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेको थियो । प्रहरीले रोक्न सुरुमा पानीको फोहोरा हानेको थिए । आन्दोलनकारीले संसद् भवनको सुरक्षा पोस्टमा आगो लगाएर तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । त्यहीबीच कडा प्रदर्शन गरिँदा ठूलो जनधनको क्षति भएको थियो । दिउँसो १ बजे सुरु भएको झडप साँझसम्म चलिरह्यो । यसअघि चैत्र १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलन पनि हिंसात्मक भएको थियो । त्यसमा प्रहरी चुकेको गृह प्रशासनको निष्कर्ष छ । अबका आन्दोलनहरूमा भिड नियन्त्रण गर्न होसियारी अपनाउनुपर्ने त्यो बेलाको निष्कर्ष थियो । तर, सोमबार जेन–जी पुस्ताको आन्दोलन झन् अप्रिय बन्न पुग्यो । प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । 

राष्ट्रिय झण्डासहित जसले प्राण त्यागे ... 
नेपाली झण्डा बोकेर युवाहरू सडकमा आएका थिए । गोली लागेर घाइते हुँदा पनि उनीहरूको घाँटीमा नेपाली झण्डा नै थियो । गोली लागेर ढल्दा पनि झण्डा नै उनीहरूका लागि प्यारो थियो । सिभिल अस्पतालको परिसरमा एकअर्काले उत्साह भर्दै नारा लगाउँदै भन्थे, ‘साथी हो, तिमीहरूले देशका लागि बलिदान दिएका छौं । तिम्रो रगतको मूल्य छ । हामी त्यसको हिसाब–किताब सरकारसँग गर्छौं ।’ त्यही भिडमा थिए, मकवानपुरका १९ वर्षीय प्रशान्त गुरुङ । उनले भने, ‘हाम्रो आन्दोलनले रूप लिइसक्यो । हाम्रो माग जनताको हितमा छ, देशको पक्षमा छ ।’ सरकारले शान्तिपूर्ण आन्दोलनमा हदैसम्म दमन गरेको उनले सुनाए ।

काठमाडौंका १८ वर्षीय स्कुले विद्यार्थी पवन गुरुङले जेन–जीको आन्दोलन सोचेको भन्दा अशान्त बनेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘नेपाल विकास नहुनुमा भ्रष्टाचार नै मुख्य रोग हो ।’

काठमाडौंकै १७ वर्षीय विद्यार्थी विलोचन पौडेलले जरुरी भएरै जेन–जी पुस्ता सडकमा आएको बताए । ‘देशमा तीन वटा ठूला दलले चान्स पाइरहेका छन् । काम गर्दैनन्, सुशासन र विकास ल्याउँदैनन् । अरूलाई पनि गर्न दिँदैनन्’, उनले भने, ‘यतिसम्म भयो कि सामान्य मान्छेले सित्तैमा उपचार पनि पाउने अवस्था छैन । कुशासनको विरोध गर्नै पर्छ, अनि मात्रै देश चल्छ, बन्छ ।’ 

काठमाडौंको पेपसीकोलाका २४ वर्षीय विक्रम राउत बिहानै नयाँ बानेश्वर आन्दोलनमा आएका थिए । भर्खरै उनी मेगा कलेजबाट विज्ञान विषयमा कक्षा १२ पास गरेका छन् । कुशासनले देश विकासै भएन भन्ने उनको बुझाइ छ । ‘भ्रष्टाचार, घुसखोरीले नेपाल आक्रान्त बन्यो । अब अति भयो भनेर जेन–जी पुस्ताको आन्दोलनमा आएको हुँ’, उनले भने । 

जसले गोली छलेर घाइतेहरूको उद्धार गरिरहे...
एम्बुलेन्स चालक राम फुयाँलले प्रहरीको गोली, प्रदर्शनकारीको ढुंगा छेल्दै घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइरहे । उनले चलाउने बा ११ च २५६१ नम्बरको एम्बुलेन्स आन्दोलनकारीले तोडफोड गरे । लुकिङ ग्लास, झ्यालको सिसा फुटाए । तर, उनले घाइतेलाई उपचार गर्न लानुपर्छ भन्ने मर्मसहित भिडलाई छिचोल्दै एम्बुलेन्स कुदाइरहे । एम्बुलेन्सको स्टेरिङ जब नयाँ बानेश्वरको सडकमा घुमाउँथे, उनलाई डर भने भइरहन्थ्यो । अर्का एम्बुलेन्स चालक गोपाल      श्रेष्ठलाई पनि घाइतेलाई अस्पताल पुर्‍याउन हम्मेहम्मे परेको थियो । रेडक्रस सोसाइटी जिल्ला शाखा काठमाडौको उनी एम्बुलेन्स चलाउँछन् । दिउँसो १ बजेदेखि ४ बजेसम्म उनले बानेश्वरदेखि सिभिल हस्पिटलसम्म साइरन बजाएर घाइते लिएर हुँइकिइँरहे । सिभिलमा उपचार सम्भव नहुनेहरूलाई रेफर गरिन्थ्यो । कुनै बेला कान्तिपुर हस्पिटलतिर त कुनै बेला वीर अस्पतालततिर, त कुनै बेला ट्रमा सेन्टरतिर घाइतेसहित एम्बुलेन्स हुइँक्याइरहे ।

‘पाँच वटा एम्बुलेन्समा तोडफोड भयो । तर पनि उद्धारमा हामी खटिरह्यौं’, उनले भने, ‘मैले मात्रै २५ जना घाइतेलाई अस्पताल पुर्‍याएँ । कति गम्भीर घाइतेले सडकमै प्राण त्यागे भने, कतिको हस्पिटलमा उपचार हुँदैछ । यस्तो कहालिलाग्दो अवस्था मैले अहिलेसम्म कहिले देखेको थिइनँ ।’

नयाँ बानेश्वरको दर्दनाक त्यो दृश्य
तीनकुनेबाट बानेश्वर भिड पुग्यो, माइतीघरबाट अर्को ठूलो हुल त्यहीं आयो । निषेधित संसद् भवनको दक्षिण र पश्चिम गेट तोड्न खोजेपछि अवस्था बिग्रिएको थियो । ‘प्रहरीले सुरुदेखि नै भिडलाई शान्तिपूर्ण बनाउन भनिरह्यो । तर, निषेधित क्षेत्र तोडेर पर्खाल तड्पेर संसद् भवन नै पस्न खोज्यो । अनि कुरो बिग्रिएको हो’, सुरक्षामा खटिएका एक प्रहरी जवानले सुनाए । 

आन्दोलनकारीले संसद् गेटमा रहेको सुरक्षा पोस्टमा ढुंगामुढा गरेर आगो झोसे । अनि प्रहरीले हस्तक्षेप गरेको थियो । टियरग्यास हानेर स्थिति नियन्त्रण लिन खोजे तर सकेनन् । सोमबारको दिन बित्दै गयो, आन्दोलन झन्झन् उग्र बन्दै गायो । दिउँसो १ देखि ३ बजेको बीचमा प्रहरीले संसद् भवनको सुरक्षार्थ असंख्य गोलीहरू प्रहार गरे । कुनै बेला आकाशमा त कुनै बेला आन्दोनकारीको छाती र टाउकोमा । यो क्रम साँझसम्मै चल्यो । 

यसले एकपछि अर्को गर्दै सिभिल हस्पिटलको इमरजेन्सी कक्षाका बेड घाइतेले भरिभराउ भयो । बेड नपुगेर भुइँमै राखेर उपचार गरिएको थियो । अस्पतालको गेटमा घाइतेका साथीहरू कोही रोइरहेका थिए त कोही आफन्तलाई फोन गरिरहेका थिए । एम्बुलेन्सले नभ्याएपछि मोटरसाइकलमै पनि घाइतेहरूलाई अस्पताल ल्याइएको थियो । पछि एम्बुलेन्स अपुग भएसँगै हस्पिटलको गेटमै आधा दर्जन बढी ह्विलचेयर र बेड नै राखियो । दिउँसो २ बजे त त्यसले पनि नभ्याएपछि काँधमै घाइतेहरूलाई बोकेर अस्पताल पुर्‍याइएको थियो ।

घाइतेहरू पीडाले छट्पटाइरहेका थिए । अस्पतालमा उपचार गर्न बेड पाउनै मुस्किल थियो । उता प्रहरीले प्रहार गरेको टियरग्यासले अस्पतालको इर्मेजेन्सी कक्षसम्मै प्रभाव पारेको थियो ।

एम्बुलेन्स पनि जलाइयो 
आन्दोलनकारीले संसद् भवनको गेटस्थित सुरक्षा पोस्टलगायतका स्थानमा आगजानी गरे । काँडेतार उखेले । पर्खालको तल्लो भाग फुटाए । त्यहाँबाट उनीहरू भित्र पस्न खोजेका थिए । तोडफोड हुँदा संसद् सुरक्षामा खटिएका सुरक्षाकर्मी खाजा खाँदै गरेका प्लेटहरू असरल्ल थिए । पंखाहरू भुइँमा खसेका देखिन्थ्ये । खाना पकाउने कराही संसद्को गेटमा देखिन्थ्यो । यस्तै दृश्य संसद् भवनको १ नम्बर गेटमा देखियो । गेटमै एउटा एम्बुलेन्स नै जलाइएको अवस्थामा भेटियो । अर्को एम्बुलेन्स साइरन बजाउँदै थियो, जुन तोडफोडमा पर्‍यो । 

संसद् भवन नजिकै रहेको यातायात व्यवस्था कार्यालयमा पनि आन्दोलनकारी कम्पाउन्ड तोड्दै भित्र प्रवेश गरेका थिए । तिनले केही गाडी, मोटरसाइकल, दुइटा कोठामा आगजानी गरे । ५ बजेतिर त प्रहरीले सिभिल हस्पिटलभित्रै पसेर टियरग्यास प्रहार गरे । आन्दोलनकारीलाई लाठी चार्ज गरे । सोमबार अबेर रातिसम्म काठमाडौंको बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । शव वाहनले शवहरू बोकेर पोस्टमार्टमका 
लागि पुर्‍याइरह्यो । दृश्य अति दर्दनाक थियो । 

कतिपयले एम्बुलेन्सभित्रै ज्यान गुमाए, कयौं उपचारका क्रममा अस्ताए
कसैको टाउको त कतिपयको हात अनि छातीबाट रगत बगेको थियो । अंगभंग भई घाइते अवस्थामा अस्पताल पुर्‍याइएकाहरू अधिकांश अचेत थिए । शरीरको कपडा रगतले निथ्रुक्क भिजेको देखिन्थ्यो । घाइतेमध्ये केहीले एम्बुलेन्समा लैजाँदालैजाँदै बाटोमै ज्यान गुमाए त दर्जन बढी घाइते उपचारका क्रममा देह त्याग गर्न पुगे ।

सुशासनको मागसहित निष्क्रिय सामाजिक सञ्जाल खुलाउन माग गर्दै प्रदर्शनमा उत्रेका जेन–जी माथि प्रहरीले बल प्रयोग गर्दा मुलुकभर अकल्पनीय घटना घट्यो । एकै दिन १९ जनाले ज्यान गुमाए । नेपालमा हालसम्म भएका विरोध प्रदर्शनमा एकै दिन १९ जनाले ज्यान गुमाएको यो पहिलो घटना हो । प्रदर्शनका क्रममा चार सयभन्दा बढी घाइते भएका छन् । स्कुले पोसाकमा प्रदर्शनमा सहभागीहरू घाइते भई अस्पताल उपचाररत छन् । जेन–जीले काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, नेपालगन्ज दाङलगायतका देशका विभिन्न सहरमा विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको माइतीघरबाट सुरु भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अ    श्रुग्यास र गोली प्रहार गरेको थियो । प्रहरीले प्रहार गरेको अ    श्रुग्यासले सिभिल (निजामती) अस्पताल र एभरेस्ट अस्पताल दिनभरजसो धुवाँमय भएको देखिन्थ्यो ।

काठमाडौंमा १७ को मृत्यु, ३ सय ४७ घाइते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, काठमाडौं उपत्यकाका पाँचवटा अस्पतालमा १७ जनाको मृत्यु भएको छ । उपत्यका बाहिर धरानमा दुई जनाको ज्यान गएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, निजामती (सिभिल) अस्पतालमा ३ जना, एभरेस्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेजमा ३ जना र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १ जना गरी १७ जनाको ज्यान गएको छ । उनका अनुसार सोमबार साँझसम्म विभिन्न अस्पतालबाट ३ सय ४७ जना घाइते भई भर्ना भएका छन् । घाइतेहरूको हातखुट्टा, नाक, मुख र टाउकोमा चोट लागेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. सन्तोष पौडेलले अस्पतालमा ल्याइएका घाइतेमध्ये ८ जनाको ज्यान गएको जानकारी दिए । ‘उपचारका लागि ल्याउने क्रममा कतिपयको एम्बुलेन्सबाट ल्याउने क्रममा बाटोमै ज्यान गएको पाइएको छ’, पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘कतिपयको उपचारका क्रममा ज्यान गएको हो ।’ ट्रमा सेन्टरको आपत्कालीन कक्ष (इमरजेन्सी), शल्यक्रिया कक्षमा कार्यरत सम्पूर्ण चिकित्सक घाइतेको उपचारमा केन्द्रित भएको उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार, हाल सिभिल अस्पतालमा एक सयभन्दा बढीको उपचार भइरहेको छ । एभरेस्टमा १०२, राष्टिय ट्रमा सेन्टरमा ५९, काठमाडौं मेडिकल कलेजमा ३७, त्रिवि शिक्षणमा १८ जना, वीर अस्पतालमा ६, पाटन अस्पतालमा ४, नर्भिकमा ३ जनाको उपचार भइरहेको छ । जेन–जी पुस्ता (१३ देखि २८ उमेरसमूह) का युवा ऐतिहासिक रूपमा पहिलो पटक सुशासनको माग गर्दै विरोध प्रदर्शन गर्दै सडकमा उत्रिएका हुन् । झन्डै चार हजारको संख्यामा रहेका किशोर÷युवाहरूको प्रदर्शन गर्दैगर्दा निषेधित क्षेत्र संसद् भवनमा केही युवा प्रवेश गरे । सोही क्रममा प्रहरीले पानीको फोहोरा, अ    श्रुग्यास र रबरको गोली प्रहार गर्दा सयौं घाइते भए । एक सयभन्दा बढी घाइते निजामती अस्पतालमा उपचाररत छन् । घाइतेको उपचारमा स्वास्थ्यकर्मीको अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट चारजना चिकित्सकलाई सिभिल अस्पतालमा खटाएको छ । त्यस्तै, थप ६ जना स्वास्थ्यकर्मीलाई अस्पतालको आपत्कालीन कक्ष (इमरजेन्सीमा)मा परिचालन गरिएको छ ।

निःशुल्क उपचार गर्न परिपत्र 
स्वास्थ्य मन्त्रालयले घाइतेहरूको निःशुल्क उपचार गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर जारी गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अग्रसरतामा संघीय अस्पतालमा भर्ना भएका सबै घाइतेलाई निःशुल्क रूपमा शीघ्र उपचार गर्न परिपत्र गरिएको छ । त्यस्तै मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका बखत विभिन्न स्थानमा सहजै उपलब्ध गराउन निर्देशन दिएको प्रवक्ता बुढाथोकीको भनाइ छ । काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रेफर हुने बिरामीलाई अन्य अस्पतालमा लिएर जान सहजीकरणका लागि पनि आह्वान गरिएको छ । यसैगरी, सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेहरूको उपचारमा जुट्न आह्वान गरिएको छ ।

रगत अभाव भए १११५ मा फोन गर्नू
सयौंको संख्यामा घाइते भएको हुँदा रगतको अभाव हुने देखिएको छ । इच्छुक व्यक्तिलाई रक्तदान गर्न चिकित्सकहरूले अपिल गरेका छन् । स्वास्थ्य मन्त्रालयले रगतको अभाव भएमा सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ ? जानकारी तत्काल पाउन सक्ने जानकारी गराएको छ । घाइतेहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले रातभर सेवा सञ्चालन हुने जनाएको छ ।

मानव अधिकार आयोगले भन्यो, ‘अत्यधिक बल प्रयोग दुःखद्’
राष्ट्रिय मानव अधिकार आयोगलगायतका विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न र पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन्न आग्रह गरेका छन् । सरकारले फेसबुक, टिटर, युट्युबलगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी नामक समूहको आह्वानमा अनुगमनमा गएको आयोगकोे सवारीसाधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ । 

 तयारी नपुग्दा सुरक्षा संयन्त्र कमजोर
जेन–जी पुस्ताको आन्दोलनमा व्यापक रूपमा प्रहरी दमन भएको छ । आन्दोलनकारी निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ जाँदै गर्दा प्रहरीले गोली चलाएको थियो । सोमबार दिउँसो दिनभरजसो प्रदर्शनकारी र प्रहरीबीच झडप भइरह्यो । प्रहरीको गोली लागेर काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ । ३ सय ४७ जना घाइते भएका छन् । यीमध्ये २२ जना घाइतेको अवस्था गम्भीर छ ।

जेन–जीको आन्दोलनलाई साथ दिँदै चितवन, बुटवल, काठमाडाै, ललितपुर, झापा, मोरङ, सुनसरी, सुर्खेतलगायतका ठाउँमा पनि प्रदर्शन भएको थियो । काठमाडौंमा एकैदिन धेरै संख्यामा प्रदर्शनकारीको मृत्यु भएपछि सरकारको आलोचना भएको छ । विभिन्न संघसंस्था र व्यक्तिहरूले प्रधानमन्त्रीसहित गृहमन्त्रीको राजीनामा माग गरेका थिए । सोमबार साँझ गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् । आन्दोलनकारीलाई रोक्नेभन्दा पनि एकै ठाउँमा जम्मा भएको स्थानमा गोली चलाएको देखिन्छ । आन्दोलनमा रिपोर्टिङ गरिरहेका तीनजना पत्रकारलाई समेत गोली लागेको छ । आन्दोलनमा घुसपैठ भएको बहानामा प्रहरीले गोली हानेर नै तर्साउने प्रक्रियामा थियो ।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले देशभर भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका छन् । प्रदर्शनमा नेपाल प्रहरीका ३८ जना सुरक्षाकर्मी घाइते भएको उनले जानकारी दिए । सशस्त्रका २ जना प्रहरी घाइते भएका छन् । उनी भन्छन्, ‘आन्दोलनमा सरकारी सम्पत्ति तोडफोड गर्ने, हिंसा मच्चाउने ५० जनालाई पक्राउ गरिएको छ । काठमाडौंमा २६ जना र पोखरामा २४ जना पक्राउ गरिएको छ ।’

प्रदर्शनकारीले संयमता अपनाउन नसक्दा ठूलो क्षति भयो— आईजीपी खापुङ
नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन–जीको आन्दोलन सुरुदेखि नै नियन्त्रण बाहिर गएको बताए । प्रदर्शनमा ठूलो संख्यामा अराजक समूह मिसिएर निरन्तर रूपमा हिंसामा उत्रिएको हुँदा मानवीय क्षति बढी भएको उनले बताए । आईजीपी खापुङ भन्छन्, ‘बिहान ७ बजेदेखि साँझ ७ बजे पनि प्रहरी भोकभोकै फिल्डमा छन् । आन्दोलन सकिएकै छैन । प्रहरीलाई गोली चलाउने आदेश संगठनले दिएको छैन । सीडीओ कार्यालयले आदेश दिएको हो । यो विषयमा हामीले समीक्षा गरिरहेका छौं ।’

उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता शेखर अधिकारीका अनुसार प्रदर्शन सुरुबाटै हिंसात्मक बन्यो । शान्तिपूर्ण आन्दोलन हुने विश्वासका साथ आवश्यक सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । निषेधित क्षेत्र तोड्दै संसद् भवनमा आगो लगाउने क्रममा प्रहरीले रोकेको थियो । यही बेलामा भएको झडपमा मानवीय क्षति भएको उनले स्वीकार गरे ।

 आन्दोलन जारी रहन्छ— जेन जेड आन्दोलन
आन्दोलनरत जेन जेड समूहले आन्दोलन जारी राख्ने बताएका छन् । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै उनीहरूले शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गरेर ताकी—ताकी गोली हानेको बताएको छ । उनीहरूको सूचनामा भनिएको छ, ‘लोकतान्त्रिक भनिएको अधिनायकवादी सरकारले सुशासनको माग गर्दै गरेको शान्तिपूर्ण प्रदर्शनमा एकै दिनमा १९ जना युवाको हत्या गरेको छ । शहादत प्राप्त साथीको रगत साक्षी राखेर तपाईंको रगत खेर जान नदिने वाचा गर्छौं । यो हाम्रो देश हो । हाम्रो आन्दोलन निरन्तर छ ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.