नयाँ नेपाल निर्माणको अनुपम अवसर
जेन–जी पुस्ताको सशक्त आन्दोलनले देशमा ‘जब्बर–सत्ता’ मात्र परिवर्तन गरेको छैन, सम्पूर्ण राजनीतिक प्रणालीको उपदेयतामाथि नै प्रश्न उठाएको छ । लामो समयदेखि अस्थिरताको चक्रव्यूहमा फसिरहेको नेपाली राजनीति यससँगै निर्णायक मोडमा पुगेको छ । गत वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको कांग्रेससहितको गठबन्धन सरकारले संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएको थियो । तर, राजनीतिक सौदाबाजी, दलगत स्वार्थ र आन्तरिक अविश्वासका कारण त्यो प्रयास अधुरै रह्यो । लामो संघर्षपछि संविधानसभाको दुई कार्यकाल खर्चिएर जन्मिएको संविधान अन्ततः एक दशकमै महासंकटमा परेको छ । बारम्बार गठबन्धन सरकार बन्नुपर्ने बाध्यता, सत्ताको खिचातानी, पद र सुविधाका लागि हुने लेनदेन, दलहरूबीचको आपसी चलखेल, अनि राजनीतिक आचरणको नैतिक क्षय– यी सबैले स्थिरतामाथि आघात पुर्याएका थिए ।
हामी नेपालीले विगतमा राणा र राजाका जहानिया निरंकश शासन भोगेका छौं । २००७ सालको प्रजातान्त्रिक क्रान्तिबाट सुरु भएको यात्राले दशक–दशकको औसतमा जता उत्री २०६२÷६३ को जनआन्दोलनमार्फत गणतन्त्र ल्याइयो । तर, बलिदानी गरेर प्राप्त उपलब्धि अझै संस्थागत हुन सकेको छैन । अहिले फेरि राजनीति नयाँ पुस्ताको नेतृत्वतर्फ मोडिएको छ । जेन–जी अर्थात् २८ वर्षमुनिका युवाहरू सत्ताको सौदाबाजी गर्ने र आइपरे नेतृत्व हाँक्ने विन्दुमा आइपुगेका छन् । एक दिनको आन्दोलनबाट तिनले देशमा उलटपुलट ल्याएका छन् । यो संसारमै बिरलै सम्भव हुने घटना हो । जेन–जी राजनीतिक चेतनाको सशक्त अनुहारमात्र होइन, यिनको आन्दोलनले पृथक् सन्देश दिएको छ– दम्भयुक्त एवं तानाशाही शासक जनता उठे भने सजिलै ढल्छन् । यो इतिहासले बारम्बार पुष्टि गरिसकेको सत्य हो, र भावी सरकारहरूले पनि यसबाट गहिरो शिक्षा लिनुपर्छ । जनताले दिएको शक्ति क्षणिक हो, त्यसलाई जनताकै हितमा प्रयोग नगर्ने नेतृत्व ढिलो–चाँडो गर्लम्म ढल्छन् । अहिले भएको त्यही हो ।
बदलिँदो परिस्थितिसँगै धमिलो पानीमा माछा मार्न तम्सिने धेरै निस्कन सक्छन् । परिस्थितिले गलत तत्वले नियन्त्रणमा लिन बेर लाउँदैनन् । त्यता चनाखो हुनुपर्ने बेला भएको छ । यस्तो अवस्थामा स्थिर, पारदर्शी र जिम्मेवार नेतृत्व बिना मुलुकको भविष्य सुरक्षित हुन सक्दैन । र, त्यो नेतृत्वको अनपेक्षित एवं थपिएको चुनौती भनेको भत्काइएका÷जलाइएका संरचनाको पुनर्निर्माण हो । राजनीतिक अस्थिरता हटाएर दीर्घकालीन नीति निर्माण गर्ने, संस्थागत सुधारमार्फत सुशासनलाई सबल बनाउने र जनतामा राज्यप्रति विश्वास पुनस्र्थापित गर्ने दायित्व त छँदैछ । त्यसैले अहिलेको आवश्यकता हो– निष्कलंक छवि भएको, बौद्धिक, दीर्घदृष्टि बोकेको, देशलाई नयाँ दिशा दिने नेतृत्व । जसले राजनीतिक स्थिरतालाई मात्र होइन, आर्थिक रूपान्तरणलाई पनि एजेन्डा बनाओस् । शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र प्रविधिमा लगानी गरेर युवा पुस्ताको सपना देशमै पूरा गर्ने वातावरण सिर्जना गरोस् । अनि मात्र नयाँ नेपाल निर्माण सम्भव हुन्छ ।
जेन–जीले गरेको बलिदानी व्यर्थ नजाओस् । उनीहरूले ल्याएको परिवर्तन क्षणिक सत्तास्वार्थमा सीमित नहोस् । बरु, दीर्घकालसम्म देशलाई अघि बढाउने ऊर्जा र अवसरमा परिणत होस् । यथार्थमै नयाँ नेपाल निर्माणको अनुपम अवसर बनोस् । हामी सबैले यसलाई इतिहासको सुनौलो अवसरको रूपमा आत्मसात् गर्न सकौं । सबैमा हार्दिक बधाई तथा शुभकामना !
प्रतिक्रिया दिनुहोस !