देश अनिर्णयको बन्धक नबनोस्

देश अनिर्णयको बन्धक नबनोस्
सुन्नुहोस्

जेन—जी युवाले ‘देशमा भ्रष्टाचार अन्त्य होस् र ज्येष्ठ उमेरका नेताहरूको राज समाप्त होस्’ भनेर आन्दोलन गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ को एक दिने आन्दोलनको भोलिपल्टै सम्झौता गर्न बाध्य हुनुप¥यो र पद त्यागे । लगत्तै अर्काे दिन भने भड्काउपूर्ण आक्रोश देशैभरि उर्लियो । त्यहाँ जेन–जी युवाको भन्दा अरूकै अगुवाइ रह्यो । २३ गते नै जेन–जी युवाले आफूहरूको आन्दोलनमा घुसपैठ भएको भन्दै घर फिर्ताका लागि सबैलाई आह्वान गरेका थिए । तर जसलाई जेन–जी आन्दोलनको मौका छोप्नु थियो, त्यही तत्वले राज्यका मुख्यजसो संरचना नै ध्वस्त हुनेगरी आक्रमण ग¥यो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका संरचना, काजगात र दस्तावेज सबैलाई खरानी पारियो । जेन—जी समूहले नै आफूहरूको उद्देश्य राज्यका अंगहरूलाई ध्वस्त पार्नु नरहेको प्रष्ट गरेको छ । 

प्रधानमन्त्रीले राजीनामा गरेपछि मुलुक सरकारविहीन हुने नै भयो, त्यसभन्दा ज्यादा अब के हुने र कसरी अगाडि बढ्ने भन्ने अन्योल छ । सरकार जत्तिकै महत्वपूर्ण राज्यका अरू अंगहरू पनि शून्य बराबरको अवस्थामा छन् । अन्योल यथावत हुनु देश अनिर्णयको बन्दी हुनु हो । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् र सर्वाेच्च न्यायालय सहितका भौतिक, अभौतिक सबै सम्पत्ति नष्ट भएको हुँदा मुलुक कहाँबाट उठ्ने र कसरी अगाडि बढ्ने भन्ने सबैभन्दा पेचिलो प्रश्न तेर्सिएको छ । त्यतिमात्रै नभई व्यावसायिक प्रतिष्ठान र उद्यमीहरूको सम्पत्तिलाई समेत खरानी पारिएको छ, जसले आमनागरिकमा निराशा पैदा गरेको छ । जेन–जी आन्दोलनबाट सरकार परिवर्तनसम्मको स्थितिलाई सामान्य रूपमा लिन सकिए पनि त्यसपछिको विध्वंसले नेपाललाई तातो ताप्केबाट फुत्किएर भुंग्रोमा परेको माछाको हालतमा पु¥याएको छ । तसर्थ अबको निकासका लागि चालिने पहिलो कदम भनेको अन्तरिम सरकार गठन हो, जसको पहिलो सर्त नै आमनागरिकमा विश्वास ब्युँताउने हुनुपर्छ । त्यसलाई विश्वसनीय र तटस्थ एवं परिपक्क नेतृत्व चाहिन्छ ।

नेपाली सेनाले देशको शान्ति सुरक्षाको जिम्मेवारी बहन गरिसकेको छ । उसले जेन–जी आन्दोलनपछिको परिस्थितिमा सहजीकरण गर्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम आएको छ, जेन–जी समूहबाट उनलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव आएको छ । जसलाई जेन–जी युवाहरू अधिकांशले पत्यार गरेका काठमाडौंका मेयर बालेन शाहको समेत समर्थन देखिन्छ । यसबीचमा संवैधानिक जटिलतासमेत देखा परेको छ । कार्कीको नेतृत्वका लागि संवैधानिक बाटो खोज्नु जटिलता हो तर कोसिस र सहमितले जटिलता हल गर्न असम्भव हुँदैन । ७० वर्ष लामो संर्घषबाट प्राप्त नेपालको संविधानको बचाउ हुनेगरी नै अबको निकास खोज्नुपर्छ । किनभने यो संविधान बाइपास गर्नु भनेको नेपालमा अरू थुप्रै द्वन्द्व निम्त्याउने बिउ रोप्नु हो ।

वर्तमान संविधानले महिला, दलित, मधेसी, आदिवासी र सीमान्तकृत वर्गलाई सम्बोधन गरेको छ । समावेशिताको सिद्धान्त अंगालेको संविधानले व्यवस्था गरेको संघीयता जति आलोचित भए पनि द्वन्द्व व्यवस्थापनको महत्वपूर्ण कडी हो । गणतन्त्र जेन–जीले पनि स्वीकारेका छन् । तसर्थ संविधानको आत्मामा प्रहार हुनु हुँदैन । संविधान लेखेका दलहरूलाई पूर्ण निषेधै गरेर छुट्टै शक्ति खडा गरी काम चलाउ नै भए पनि बाटो खोज्नु पनि मनासिब हुँदैन । बरु दलहरू सच्चिन जरुरी छ । सबैजसो पुराना दलका सबै पुरानो पुस्ताको तहले एकैचोटि राजनीतिक सन्यासको घोषणा गरेर नयाँ पुस्ताबाट अघि बढाउनुपर्छ । आखिर ताजा जनादेशमा जाँदा पनि प्रतिस्पर्धामा जाने दलहरू नै हुन् । लोकतन्त्रमा दलविहीनताको परिकल्पना गर्न सकिन्न । दलहरूलाई वा तिनका नेतालाई जे सजाय दिने हो चुनावमै जनताले दिनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.