संघर्ष र न्यायकी प्रतिमूर्ति
काठमाडौं : नेपालको न्यायपालिका र महिला सशक्तीकरणका क्षेत्रमा जब–जब ठूलो परिवर्तनका कुरा हुन्छन्, त्यहाँ सुशीला कार्कीको नाम अनिवार्य उच्चारण हुन्छ । साधारण परिवारमा जन्मिएर असंख्य संघर्ष पार गर्दै उनी देशको पहिलो महिला प्रधान न्यायाधीश मात्रै होइनन्, इमानदार न्याय र निर्भीक आवाजकी प्रतिमूर्ति बनिन् ।
उनै कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचिन् । शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिनु उनको अर्को संयोग थियो । ५५ वर्षअघि २०२७ मा पौडेलले नै उनलाई विराटनगरमा नेविसंघको सदस्यता दिएका थिए । पौडेल त्यतिबेला नेविसंघको केन्द्रीय सदस्य थिए ।
उनी निरन्तर राजनीतिमा लागे । कार्की बीचमा वकालत पेसामा रहिन् । न्यायाधीश बनिन् । घडीको सुइले घुमाउँदै उनलाई फेरि राजनीतिकै बागडोर सम्हाल्ने ठाउँमा पुर्यायो । देशको प्रमुख कार्यकारी हुने सौभाग्य पाइन् । र, राष्ट्रपतिको अभिभारामा रहेका पौडेलसँगै शपथ खान जुर्यो, उनलाई ।
२००९ साल जेठ २५ गते विराटनगरमा जन्मेकी कार्कीका पिता डिल्लीबहादुर कार्की र माता लीलादेवी कार्की हुन् । अक्षर चिन्ने यात्रा पिताको हातबाट सुरु भए पनि पढाइका लागि उनले विराटनगरदेखि कीर्तिपुरसम्मको लामो संघर्षमय बाटो तय गरिन् । प्रारम्भिक शिक्षा विराटनगरकै जनता स्कुलबाट लिएर उनले २०२५ सालमा एसएलसी उत्तीर्ण गरिन् । त्यसयता महेन्द्र मोरङ क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्दै उनले बीए, भारतबाट राजनीतिशास्त्रमा एमए र त्रिविबाट कानुनमा स्नातक पूरा गरिन् ।
विद्यार्थी जीवनदेखि नै उनी नेतृत्व क्षमतामा सक्रिय रहिन् । २०२५ सालमा स्ववियुमा उम्मेदवारी दिने आँट गर्ने, लगत्तै नेविसंघमा सक्रिय भई राजनीतिक चेतना फैलाउने कार्यले उनको व्यक्तित्वलाई थप धारिलो बनायो । तर, उनको जीवनको मूल ध्येय न्याय र सत्यतर्फ मोडियो । २०३५ सालमा कानुन व्यवसायमा पाइला राख्दै उनले आफ्नो वकालती यात्रा सुरु गरिन् । प्रारम्भमा ठूलो बुबा तोरणबहादुर कार्कीको ल फर्ममा बहस सिकेकी उनले धरानमा लामो समय कानुनी पेसामा बिताइन् । तीन दशकभन्दा बढी समयसम्म निरन्तर कानुनी अभ्यास गर्दै उनले न केबल सफल वकिलको छवि बनाइन्, बरु नेपाल बार एसोसिएसन र पुनरावेदन बार विराटनगरको नेतृत्वसमेत सम्हालिन् । २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेर उनले आफ्नो संघर्ष र इमानदारीलाई अझ प्रस्ट प्रमाणित गरिन् ।
२०६५ साल माघमा कार्की सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भइन् । उनको न्यायिक यात्राले छिट्टै नयाँ आयाम पायो । २०७२ साल चैत ३० देखि २०७३ असार २५ सम्म उनी कामु प्रधान न्यायाधीशको भूमिकामा रहिन् । अनि, २०७३ असार २७ मा नेपालको पहिलो महिला प्रधान न्यायाधीश बनेर उनले मुलुकको इतिहासमै अमिट छाप छाडिन् ।
तर, उनको कार्यकाल सहज थिएन । २०७४ साल वैशाख १७ गते संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले न्यायपालिकालाई नै हल्लाइदियो । यसलाई उनीविरुद्धको प्रतिशोधी राजनीति भनेर धेरैले टिप्पणी गरे । तर, सर्वोच्चको आदेशमा पुनर्बहाल भएकी उनले दृढता र सहासको उदाहरण प्रस्तुत गरिन् । अन्ततः जेठ २३ मा संसद्बाट महाभियोग फिर्ता भएपछि उनले आफूलाई न्याय र संविधानको पक्षमा उभ्याउन सक्ने निर्भीक नेतृत्वकर्ताको हैसियतमा स्थापित गरिन् ।
उनका चर्चित फैसला आज पनि नेपाली कानुनको इतिहासमा कोसेढुंगा बनेर रहिरहेका छन् । सुडान घोटाला, जेपी गुप्ताको भ्रष्टाचार प्रकरण, प्रहरी महानिरीक्षक नियुक्ति विवाद, राहदानीमा तेस्रो लिंगीको पहिचान, लोकमानसिंह कार्की बर्खास्त प्रकरणदेखि लिएर गोदावरी मार्बल र कोख भाडासम्बन्धी मुद्दासम्म उनका निर्णयहरूले न्यायको परिभाषा जनमुखी र समानतामुखी बनाएका थिए ।
२०४६ साउनमा उनले कांग्रेस नेता दुर्गाप्रसाद सुवेदीसँग विवाह गरिन् । उनीहरूका एक पुत्र प्रशान्त छन् । राजनीतिक वातावरण, कानुनी संघर्ष र पारिवारिक जीवनलाई सन्तुलन गर्दै उनले आफ्नो पहिचान सदैव न्याय र सत्यप्रति समर्पित बनाएर राखिन् ।
कार्कीले नेपालमा महिला योग्यताका आधारमा उच्चतम शिखरमा पुग्न सक्षम छन् भन्ने पुष्टि गराएकी छन् । उनका संघर्ष र उपलब्धिहरू नेपालका महिला मात्र होइन, सम्पूर्ण न्याय र समानताका पक्षधरका लागि प्रेरणा बनेका छन् । कार्कीका निकटवर्तीहरू भन्छन्– उनी कठोर र सिद्धान्तमा अडिग छिन् । अदालतमा उनी कसैलाई बिनाकारण छुट दिन्नथिइन् । तर, व्यक्तिगत जीवनमा उनी नम्र र आत्मीय देखिन्छिन् । अर्थात्, उनको पहिचान हो– कठोर न्यायाधीश, आत्मीय व्यक्तित्व । महिलाका लागि उनी मार्गदर्शक बनिन् । कानुनी क्षेत्रमा संघर्षरत महिलाले उनलाई प्रेरणाको स्रोत मान्छन् । इमान, साहस र निर्भीकता उनका चिनारी हुन् ।
न्यायालयबाहिर उनको संसार विचार र सिर्जनामा रमाउने किसिमको रह्यो । कानुनी अभ्यास, न्यायिक जीवनसँगै उनी अध्ययन–लेखनमा सक्रिय रहिन् । सँगसँगै न्यायको पक्षमा अडिने, समानताका लागि बोल्ने र भ्रष्टाचारविरुद्ध साहसपूर्वक लड्ने व्यक्तित्वका रुपमा उनी उभिएकी छन् । महाभियोग सामना गर्दा उनले देखाएको दृढता अझै चर्चा हुन्छ । राजनीतिक शक्तिले न्यायालयलाई आफ्नो पक्षमा झुकाउन खोज्दा उनी ठाडै लडिन् । त्यो घटनाले उनको ‘करिअर’ लाई असहज बनायो, तर जनमानसमा उनको छविलाई अझै उचो बनायो ।
प्रतिक्रिया दिनुहोस !