संघर्ष र न्यायकी प्रतिमूर्ति

संघर्ष र न्यायकी प्रतिमूर्ति

काठमाडौं : नेपालको न्यायपालिका र महिला सशक्तीकरणका क्षेत्रमा जब–जब ठूलो परिवर्तनका कुरा हुन्छन्, त्यहाँ सुशीला कार्कीको नाम अनिवार्य उच्चारण हुन्छ । साधारण परिवारमा जन्मिएर असंख्य संघर्ष पार गर्दै उनी देशको पहिलो महिला प्रधान न्यायाधीश मात्रै होइनन्, इमानदार न्याय र निर्भीक आवाजकी प्रतिमूर्ति बनिन् । 

उनै कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचिन् । शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिनु उनको अर्को संयोग थियो । ५५ वर्षअघि २०२७ मा पौडेलले नै उनलाई विराटनगरमा नेविसंघको सदस्यता दिएका थिए । पौडेल त्यतिबेला नेविसंघको केन्द्रीय सदस्य थिए । 

उनी निरन्तर राजनीतिमा लागे । कार्की बीचमा वकालत पेसामा रहिन् । न्यायाधीश बनिन् । घडीको सुइले घुमाउँदै उनलाई फेरि राजनीतिकै बागडोर सम्हाल्ने ठाउँमा पुर्‍यायो । देशको प्रमुख कार्यकारी हुने सौभाग्य पाइन् । र, राष्ट्रपतिको अभिभारामा रहेका पौडेलसँगै शपथ खान जुर्‍यो, उनलाई ।   

२००९ साल जेठ २५ गते विराटनगरमा जन्मेकी कार्कीका पिता डिल्लीबहादुर कार्की र माता लीलादेवी कार्की हुन् । अक्षर चिन्ने यात्रा पिताको हातबाट सुरु भए पनि पढाइका लागि उनले विराटनगरदेखि कीर्तिपुरसम्मको लामो संघर्षमय बाटो तय गरिन् । प्रारम्भिक शिक्षा विराटनगरकै जनता स्कुलबाट लिएर उनले २०२५ सालमा एसएलसी उत्तीर्ण गरिन् । त्यसयता महेन्द्र मोरङ क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्दै उनले बीए, भारतबाट राजनीतिशास्त्रमा एमए र त्रिविबाट कानुनमा स्नातक पूरा गरिन् ।

विद्यार्थी जीवनदेखि नै उनी नेतृत्व क्षमतामा सक्रिय रहिन् । २०२५ सालमा स्ववियुमा उम्मेदवारी दिने आँट गर्ने, लगत्तै नेविसंघमा सक्रिय भई राजनीतिक चेतना फैलाउने कार्यले उनको व्यक्तित्वलाई थप धारिलो बनायो । तर, उनको जीवनको मूल ध्येय न्याय र सत्यतर्फ मोडियो । २०३५ सालमा कानुन व्यवसायमा पाइला राख्दै उनले आफ्नो वकालती यात्रा सुरु गरिन् । प्रारम्भमा ठूलो बुबा तोरणबहादुर कार्कीको ल फर्ममा बहस सिकेकी उनले धरानमा लामो समय कानुनी पेसामा बिताइन् । तीन दशकभन्दा बढी समयसम्म निरन्तर कानुनी अभ्यास गर्दै उनले न केबल सफल वकिलको छवि बनाइन्, बरु नेपाल बार एसोसिएसन र पुनरावेदन बार विराटनगरको नेतृत्वसमेत सम्हालिन् । २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेर उनले आफ्नो संघर्ष र इमानदारीलाई अझ प्रस्ट प्रमाणित गरिन् ।

२०६५ साल माघमा कार्की सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भइन् । उनको न्यायिक यात्राले छिट्टै नयाँ आयाम पायो । २०७२ साल चैत ३० देखि २०७३ असार २५ सम्म उनी कामु प्रधान न्यायाधीशको भूमिकामा रहिन् । अनि, २०७३ असार २७ मा नेपालको पहिलो महिला प्रधान न्यायाधीश बनेर उनले मुलुकको इतिहासमै अमिट छाप छाडिन् ।

तर, उनको कार्यकाल सहज थिएन । २०७४ साल वैशाख १७ गते संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले न्यायपालिकालाई नै हल्लाइदियो । यसलाई उनीविरुद्धको प्रतिशोधी राजनीति भनेर धेरैले टिप्पणी गरे । तर, सर्वोच्चको आदेशमा पुनर्बहाल भएकी उनले दृढता र सहासको उदाहरण प्रस्तुत गरिन् । अन्ततः जेठ २३ मा संसद्बाट महाभियोग फिर्ता भएपछि उनले आफूलाई न्याय र संविधानको पक्षमा उभ्याउन सक्ने निर्भीक नेतृत्वकर्ताको हैसियतमा स्थापित गरिन् ।
उनका चर्चित फैसला आज पनि नेपाली कानुनको इतिहासमा कोसेढुंगा बनेर रहिरहेका छन् । सुडान घोटाला, जेपी गुप्ताको भ्रष्टाचार प्रकरण, प्रहरी महानिरीक्षक नियुक्ति विवाद, राहदानीमा तेस्रो लिंगीको पहिचान, लोकमानसिंह कार्की बर्खास्त प्रकरणदेखि लिएर गोदावरी मार्बल र कोख भाडासम्बन्धी मुद्दासम्म उनका निर्णयहरूले न्यायको परिभाषा जनमुखी र समानतामुखी बनाएका थिए । 

२०४६ साउनमा उनले कांग्रेस नेता दुर्गाप्रसाद सुवेदीसँग विवाह गरिन् । उनीहरूका एक पुत्र प्रशान्त छन् । राजनीतिक वातावरण, कानुनी संघर्ष र पारिवारिक जीवनलाई सन्तुलन गर्दै उनले आफ्नो पहिचान सदैव न्याय र सत्यप्रति समर्पित बनाएर राखिन् ।

कार्कीले नेपालमा महिला योग्यताका आधारमा उच्चतम शिखरमा पुग्न सक्षम छन् भन्ने पुष्टि गराएकी छन् । उनका संघर्ष र उपलब्धिहरू नेपालका महिला मात्र होइन, सम्पूर्ण न्याय र समानताका पक्षधरका लागि प्रेरणा बनेका छन् । कार्कीका निकटवर्तीहरू भन्छन्– उनी कठोर र सिद्धान्तमा अडिग छिन् । अदालतमा उनी कसैलाई बिनाकारण छुट दिन्नथिइन् । तर, व्यक्तिगत जीवनमा उनी नम्र र आत्मीय देखिन्छिन् । अर्थात्, उनको पहिचान हो– कठोर न्यायाधीश, आत्मीय व्यक्तित्व । महिलाका लागि उनी मार्गदर्शक बनिन् । कानुनी क्षेत्रमा संघर्षरत महिलाले उनलाई प्रेरणाको स्रोत मान्छन् । इमान, साहस र निर्भीकता उनका चिनारी हुन् । 

न्यायालयबाहिर उनको संसार विचार र सिर्जनामा रमाउने किसिमको रह्यो । कानुनी अभ्यास, न्यायिक जीवनसँगै उनी अध्ययन–लेखनमा सक्रिय रहिन् । सँगसँगै न्यायको पक्षमा अडिने, समानताका लागि बोल्ने र भ्रष्टाचारविरुद्ध साहसपूर्वक लड्ने व्यक्तित्वका रुपमा उनी उभिएकी छन् । महाभियोग सामना गर्दा उनले देखाएको दृढता अझै चर्चा हुन्छ । राजनीतिक शक्तिले न्यायालयलाई आफ्नो पक्षमा झुकाउन खोज्दा उनी ठाडै लडिन् । त्यो घटनाले उनको ‘करिअर’ लाई असहज बनायो, तर जनमानसमा उनको छविलाई अझै उचो बनायो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.