जितिया पर्वको प्रारम्भ
महोत्तरी : सन्तानको प्रगति अनि सुस्वास्थ्यको कामना सहित मिथिलानीहरुले आजदेखि विधिवत् रूपमा जितिया पर्वको प्रारम्भ गरेका छन्। बिहानै नदी, ताल, तलैया पोखरी लगायतका जलाशयमा गई स्नान गरि व्रतालुले सरसोको तेल, पिना सहितको पूजा सामग्री सूर्य देवतालाई अर्घ्य देखाएर व्रतको सङ्कल्प गरेका छन्।
आमाहरूले आफ्ना सन्तानको दीर्घायुका लागि कामना गर्दै यो पर्वको दर भने आज मध्यरातमा ग्रहण गरिनेछ। मध्यरातमा दही, च्युरा, अमोट लगायतका परिकार ग्रहण गरि दर खाने चलन रहेको छ।
यो पर्वमा थुक समेत ननिल्ने तथा कुनै सामग्री भाँच्ने वा काट्न नपाइने कडा नियम रहेको छ। यो पर्व मिथिलान्चलमा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थ व्रतको टुङ्गो गरिने परम्परा छ।
यो पर्वमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होऊन् भन्ने कामना गर्ने गर्छन्। भनिन्छ द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरूप) ले आफ्नो आर्जित तप शक्तिबाट बचाइ दिएको पौराणिक ग्रन्थमा उल्लेख रहेका छन्। सोही लोककथाको आधारमा द्वापर युगदेखि नै यो कठोर व्रत बस्ने परम्परा चल्दै आएको जनविश्वास छ।
प्रतिक्रिया दिनुहोस !