गोलीको पीडा, न्यायको आस
काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, हामीले गोली खायौं, रगत बगायौं । अब तपाईंले देशलाई सुशासन दिनुहोला,’ अस्पतालको बेडबाटै चितवन टारीका रमेश परियारको सुझाव थियो । जेन–जी आन्दोलनका घाइते भेट्न शनिबार सिभिल अस्पताल पुगेकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग रमेशको अर्को पनि आग्रह थियो–विनासित्ति विद्यार्थीमाथि गोली हान्नेमाथि कारबाही होस् ।
हामीलाई न्याय दिनुहोला ।’ कार्कीको जवाफ थियो– तपाईंहरूका सुझावअनुसार अघि बढ्छु ।’ गत सोमबार भ्रष्टाचारविरुद्धको जेन–जी आन्दोलनमाथि प्रहरीले दमन गर्यो । दर्जनौं जेन–जीको ज्यान गयो । कैयौं घाइते भए । चितवन टारीका २४ वर्षीय रमेश सामान लिन त्यही दिन काठमाडौं आएका थिए । स्कुल कजेलका विद्यार्थीहरू मारिएको दृश्यले उनलाई आक्रोशित बनायो । दोस्रो दिन (मंगलबार) को आन्दोलनमा सहभागी भए । प्रहरीको गोली लागी घाइते भए । ‘स्कुले बच्चाहरूलाई प्रहरीले गोली ठोकेको देखेर खप्न सकिन । आन्दोलनमा गएँ ’, अस्पतालको बेडमा उनले भने, ‘देब्रे खुट्टामा दुईवटा गोली लाग्यो । हातमा अर्को गोलीले घाउ बनायो ।’
प्रधानमन्त्री सुशीला कार्कीसँग घाइतेले भने, ‘हामीले देशका लागि छातीमा गोली थाप्यौं । तपाईंले अब देशलाई सुशासन दिनुहोस्, हामीलाई न्याय ।’
छोरालाई गोली लाग्यो, परिवारमा पीडा
सिभिल अस्पतालमा बिक्रम देउला २२ वर्षीय छोरा बेकम देउलालाई औषधि खुवाउँदै थिए । उनका छोरा पनि गोली लागेर घाइते छन् । उनी भन्छन्, ‘प्रधानमन्त्री हस्पिटल आउनुभयो । घाइतेको अवस्था हेर्नुभयो अनि जानुभयो । आशा छ अब केही राम्रो हुन्छ ।’ घाइते बेकमका काका निश्चिल गिरीले काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार गरिरहेको बताए । निश्चिल भन्छन्, ‘हाम्रो व्यक्तिगत त्यस्तो अपेक्षा केही पनि छैन । हाम्रो मान्छे घाइते भयो, उपचार भएर स्वस्थ बनोस् । यो नै हाम्रो लागि मुख्य कुरो हो ।’ दुईवटा अप्रेसन भएको र अर्को अझै अप्रेसन गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको उनले बताए ।
विद्यार्थीहरूले जरा गाडेर बसेको भ्रष्टाचारलाई हटाउन आन्दोलन गरेको उनले बताए । अब असल स्वभाव र देशलाई माया गर्ने सरकार र मन्त्रीहरू चाहिएको उनले बताए । ‘जेन–जीको नाममा घुसपैठ भयो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतमा आगो लगायो,’ उनले भने, ‘सबै घटनाको छानबिन गर्नुपर्छ । दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।’
रोजीरोटी गुम्यो
कैलालीका २२ वर्षीय आदित्य राउत तीन वर्षदेखि काठमाडौंमा डिजिटल मार्केटिङ गर्थे । सरकारले सामाजिक सञ्जाल निष्क्रिय पारेपछि रोजीरोटी बन्द भयो । सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहित आन्दोलित भए । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घाइते भए । उनलाई तीनवटा गोली लागेका छन् । देब्रे खुट्टा, हात, छाती र दाहिनेपट्टीको कम्मरमा गोली लागेका छन् ।
प्रधानमन्त्री कार्कीले शनिबार थोरै समय उनीसँग पनि कुरा गरेकी थिइन् । ‘अब चाहिँ राम्रो होस्, हाम्रो बलिदानी खेर नजाओस्’, उनले प्रधानमन्त्रीसँग भने, ‘प्रधानमन्त्रीज्यूले आन्दोलनका लागि धन्यवाद, भन्नुभयो । आन्दोलनका मृतक र घाइते परिवारलाई सहयोग हुन्छ भनेर जानुभएको छ ।’
आमाको कोख रित्तिँदा राधिकाले सडक रोजिन्
जेन–जी आन्दोलनमा प्रहरीले गोली चलायो । भाग्दै गर्दा रामेछाप मन्थलीकी ३२ राधिका सुवेदी लडेर घाइते भइन् । अनि, अस्पताल भर्ना भइन् । प्रधानमन्त्री कार्कीले भेटेर सान्त्वना दिएको उनले बताइन् । ‘तपाईंहरू नआतिनुस्, देशको परिस्थित सहज बन्दै गएको छ । तपाईँहरूको उपचार सहज र सहीजकरण हामी गर्छौं,’ प्रधानमन्त्री कार्कीको भनाइ उदघृत गर्दै उनले भनिन् ।
स्कुल÷कलेजका विद्यार्थीलाई प्रहरीले गोली ठोकेर देखेर उनी आक्रोशित भइन् । दोस्रो दिनको आन्दोलनमा सहभागी भएकी थिइन् । उनी भन्छन्, ‘कैयौं आमाका कोख रित्तिएको छ , त्यसको विरोधमा गएका थियौं ।’ उनी वैशासदेखि काठमाडौंमा घरायसी काम गर्दै आएकी छिन् ।
छोरालाई गोली लाग्दा आमालाई पीडै–पीडा
सिरहाको धनगढीका २४ वर्षीय निशेष महरा बीबीएको अन्तिम परीक्षा दिएर बसेका थिए । पहिलो दिनको आन्दोलन शान्तिपूर्ण थियो । स्कुले विद्यार्थीहरू कुनै हतियार लिएर आन्दोलनमा गएका थिएनन् । तर, निहत्था विद्यार्थीलाई ताकी ताकी टाउको र छातीमा गोली हानियो । अन्याय सहन नसकेर दोस्रो दिनको आन्दोलनमा सहभागी भएका निशेषलाई संसद् भवनमा गोली लाग्यो । दाहिने कुहिँनो र कम्मरमा गोली लागेको छ । आमा सरस्वती महराले भनिन्, ‘जेन–जीको आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बनायो ।’
कमाउने उमेरका छोरो घाइते हुँदा सरस्वतीलाई निकै ठूलो समस्या परेको छ । उनले भनिन्, ‘पढाइ सकेको थियो । छोराको कमाउने समय थियो । गोलीले दाहिने हात नै खतम भयो । हातको चारवटा अपे्रसन गर्नुपर्ने डाक्टरले भनेका छन् ।’
प्रतिक्रिया दिनुहोस !