मिथिलानी, जितिया र कठोर परीक्षा

मिथिलानी, जितिया र कठोर परीक्षा

महोत्तरी : भनिन्छ आमा एउटा यस्तो शब्द हो जुन आफैंमा महान् हो । आमालाई त्यत्तिकै मायाकी खानी भनेकी होइन । उनले जीवनभरि नै आफ्ना सन्तानका निम्ति त्याग गरेकै हुन्छिन् । त्यसैले त आमालाई ममतारूपी भगवान् भनिएको छ ।

हरेक युगमा आमाले छोराछोरीका लागि त्याग गरेकै पाइन्छ । सन्तानका सुख, शान्ति, दीर्घायु अनि कल्याणका निम्ति हरसम्भव परीक्षा दिएकै हुन्छन् । एक गाँससमेत नखार्ईकन आमाहरू सन्तानको भरणपोषणमा जीवन बिताएकी हुन्छिन् । त्यसैले त अन्य नाताभन्दा आमा शब्द प्यारो अनि पूजनीय भएको हो । अहिले मिथिलानीहरू सन्तानका लागि ३६ घण्टे निराहर कठोर व्रत बसेका छन् । उनीहरू जितिया पर्व मनाइरहेका छन् । सन्तानको सुस्वास्थ्य अनि पारिवारिक कल्याणका निम्ति थुकसमेत निलिनीकन बडो सचेत अनि पवित्रासाथ उपवास बसेका हुन् ।

  •  सन्तानको दीर्घायु र कल्याणका लागि मिथिलानी आमाहरू कठोर ‘जितिया व्रत’मा।
  •  जितिया पर्वमा आमा देवत्वको प्रतिरूप, सन्तानलाई रक्षा गर्ने आस्थाको पर्व।
  •  राजा जितवाहनको कथा र पौराणिक मान्यतामा आधारित ‘जितिया’ परम्परा।
  •  सन्तानको दीर्घायु, सुस्वास्थ्य र कल्याणका लागि ३६ घण्टासम्म निराहार व्रत।
  •  सप्तमीमा नुहाएर खाना, अष्टमीमा दर, नवमीमा पारण—पुरे समय निराहार र निर्जल बस्ने कठोर परम्परा।

पर्वको अवधिभरिमा जानेर वा नजानेर कुनै पनि सामग्री भाँचिए वा टुट्न गए व्रत नै अधुरो रहन पुग्छ । यसो गरेको खण्डमा पुनः अर्को वर्ष पर्व नै नमनाउने कठोर धार्मिक विधि रहेको छ । त्यसैले हरेक आमाले बडो सचेत अनि श्रद्धापूर्वक यो पर्व मनाइरहेका छन् । शनिबार पर्वको पहिलो दिन नहाय खाय विधि व्रतालुले मनाएका छन् । व्रतालुहरू चोखो भएर पर्वको शुभारम्भ गरेका थिए ।

त्यस्तै, मध्यरातिमा दर खाएका व्रतालु आइतबार व्रतको दोस्रो दिन मुख्य पर्व मनाइरहेका छन् । सूर्योदयभन्दा चार घडीपूर्वको समयमा व्रतालुहरू बेसारको पातमा दही, चिउरा, फलफूलसहित भगवान् जितुवाहनलाई प्रसाद अर्पण गरी दर खाएका छन् । भगवान्लाई अर्पण गरेको प्रसाद बिहानपख बच्चाहरूलाई समेत खान दिएका छन् ।

व्रत अवधिमा व्रतालुले नजिकको जलाशयमा गई सामूहिक रूपमा राजा जितवाहनको कथा सुन्ने गरिन्छ । आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होऊन् कामना गर्छिन् ।

जितिया दुई प्रकारको रहेको गौशालाकी शिक्षिका बवी सिंहले बताइन् । उनी भन्छिन्, ‘अविवाहित महिलाले गर्ने व्रतलाई ‘खर जितिया’ भनिन्छ । त्यस्तै विवाहितले महिलाले गर्ने व्रतलाई ‘जितिया’ भन्ने गरिन्छ । खर जितिया गर्ने आमाको सन्तान अनेकौं दुःख र कष्टबाट पार लगाउँछन् ।’

आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्य वृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने अर्की व्रतालु रामकली देवी महतोले बताइन् । उनी भन्छिन्, ‘सन्तानको कल्याण र सौर्य वृद्धिको कामनासहित व्रतालु मिथिलानीले यस पर्वमा दिवंगत पितृ रिझाउन व्रत बस्ने परम्परा छ । यस व्रतमा पुरुषले पितृपक्षमा दिवंगत आफ्नतलाई तर्पण दिएजस्तै व्रतालुले दिवंगत आफन्त महिलालाई तर्पण दिने गर्छन् ।’ द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरूप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक लोककथामा उल्लिखित रहेको गौशाला दुर्गा मन्दिरका पूजारी शिवशंकर मिश्राले बताए । पछिल्लो समयमा आई सोही धार्मिक मान्यताको यो कठोर व्रत बस्ने परम्परा बसेको पूजारी मिश्रा बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्य पुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको उनको भनाइ रहेको छ ।

यस्तो छ व्रतको विधि
जितिया पर्वको पहिलो दिन भदौ शुक्लपक्ष सप्तमीमा नुहाएर खाना खाने चलन छ । यस दिन व्रतालुहरू पोखरी वा कुनै जलाशयमा गई नुहाएर सूर्य भगवान्लाई जलको अर्घ दिन्छन् र तोरीको तेल, पिना र सिन्दूर भगवान् जितमाहनलाई र आफ्नो स्वर्गीय माता–पिता तथा सासू–ससुराका नाममा चढाउँछन् ।
 
यस दिन खानाका रूपमा कोदोको रोटी, साग, भात र माछा खाने विशेष परम्परा छ । अरू पर्वहरूमा पर्व सुरु हुनुभन्दा दुई–तीन दिनअघिदेखि नै माछामासुजन्य खानेकुरा खान वर्जित गरिन्छ । तर जितिया एउटा यस्तो पर्व हो, जसमा माछा खाएर पर्वको सुरु गरिन्छ । दोस्रो दिन अष्टमीको रात करिब ३–४ बजेतिर घिरौंलाको पातमा दही, चिउरा, मिठाई, केरा, काँक्रो, अम्बा जस्ता फलफूल जितमाहन, पितृ तथा चिलका नाममा चढाइन्छ । 

चिलका नाममा चढाइएको पातलाई घरमाथि छानोमा फालिन्छ भने पितृ तथा भगवान् जितमाहनका नाममा चढाइएको पातलाई व्रतालुले आफ्ना श्रीमान् वा छोराछोरीलाई खान दिन्छन् । यतिबेला व्रतालुले पनि आफूले चढाएको प्रसाद खान्छन् । यसपटक राति ३ बजेसम्ममा खाइसक्नुपर्ने परम्परा छ । यो खाना (दर) नै व्रत अगाडिको अन्तिम खाना हुन्छ । 

तेस्रो दिन अर्थात् नवमीको दिन पनि फेरि एकाबिहानै पहिलो दिन जसरी नै बेसारको पातमा दही, चिउरा, मिठाई, केरा, काँक्रो, अम्बा, लड्डु, आँपको अमोट, तुलसीको पात आदि भगवान् जितमाहन, पितृ तथा चिलका नाममा चढाई अगरबत्तीले पूजा गरिन्छ र त्यसलाई पानीले छर्की पूजाको समापन गरिन्छ । सप्तमीदेखि सुरु भएर नवमीसम्म चल्ने यस पर्वमा अष्टमीको दिन, रात र नवमीको पारणसम्म पूर्णरूपले निराहार र निर्जल गरेर व्रत बस्ने गरिन्छ ।

जितिया पर्वका अवसरमा मिथिलामा धेरै जसो ठाउँहरूमा भगवान् जितुवाहनको प्रतिमा राखी पूजा आजासँगै विभिन्न संस्कृतिक कार्यक्रहरूको आयोजना गरिएको छ ।

यस्तो छ पौराणिक लोकगाथा
एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रूख थियो, जसमा पोथी चील चरा बस्थी । जसको रूखमुनि पोथी स्यालको बास थियो । उनीहरू दुवै साथी–साथी भए । 

एकदिन गाउँका अरू महिलाहरूले जस्तै उनीहरूले पनि भगवान् जितमहान गोसाइँको निर्जल व्रत बस्ने निर्णय गरे । तर संयोगवश त्यसै दिन उनीहरू बस्ने मरुभूमिको छेउस्थित सहरको धनी व्यापारीको छोरालाई ल्याएर गाडियो । चीलले अरू महिलाहरू झैं व्रत कायम राखे पनि स्याल भने गाडेको लाशको मासु सेवन गर्ने तीव्र इच्छा दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि ब्राह्मण परिवारमा दिदी–बहिनीका रूपमा जन्मिन्छन् ।

चील अब शीलवती नामकी व्राह्मण कन्याका रूपमा र उनकी बहिनी अर्थात् स्यालको यस जन्ममा कपुरवती हुन्छे । शीलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको विवाह राजा मलायकेतुसँग हुन्छ । शीलवतीको सात जना सुन्दर पुत्रहरू हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनी एकदमै दुःखी र निराश हुन्छिन् । शीलवतीका छोराहरूले राजा मलायाकेतु कहाँ काम गर्न थाल्छन् ।

ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकी शीलवतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ती सातै जना शीलवती पुत्रहरूको हत्या गर्न लगाइ तिनको टाउकालाई रातो कपडामा बेरेर दिदी कहाँ पठाउने षड्यन्त्र गर्छिन् । 

तर यो कुरा भगवान् जितमहान गोसाइँले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ । ती सातै जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरिएको भाँडो शीलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारका रूपमा परिणत हुन्छ ।

यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयभित अनि रुवावासी भइरहेको होला भनी एकजना सेविकालाई बुझ्न पठाउँछिन् । तर शीलवतीको घरमा हर्ष उल्लास र खुसियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवान्को कृपा छ भन्ने सोच्छन् ।

दिदीको खुसी सहन नसकी अव कपुरवती दिदीको घर पुग्छिन् र आफूले सम्पूर्ण कुरा भनिदिन्छिन् । यसो भन्दै गर्दा शीलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जहाँ उनले चीलका रूपमा भए पनि भगवान् जितमहान गोसाइँको व्रत बसेकी थिइन् । यो प्रसँग शीलवतीले बहिनीलाई भन्छिन् । यो सुनेर बहिनी कपुरवती बेहोस हुन्छिन्, जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान् जितमहान गोसाइँको श्रद्धापूर्वक ढंगले आमाहरूले छोराछोरीका रक्षका लागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहि आएको छ । मधेस प्रदेशमा जितिया पर्वका अवसरमा जितिया मनाउने महिलाका लागि बिदा दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.