जेनजीको आन्दोलन : काभ्रेमा नगरपालिकादेखि व्यक्तिका घरसम्म आगजनी
काभ्रे : काभ्रेमा जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्तिको तोडफोड र आगजनी गरिएको छ।
आन्दोलन उग्र भएपछि जेनजी भीडले बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक कार्यालय काभ्रे, प्रहरी चौकी पाँचखाल, प्रहरी चौकी हिगुवापाटीमा आगजनी गरेका थिए। आगजनीबाट भएको क्षतिको लगत संकलनको कार्य सुरु भएको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए।
आन्दोनकारीले बनेपामा मात्र करोडौंको सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको उनले बताए। सार्वजनिक सम्पत्तिको क्षतिसँगै काभ्रेमा निजी सम्पत्तिमा पनि क्षति पुर्याइएको छ। आइतबार जिल्लामा भएका क्षतिको विवरण संकलन गर्न पनौती पुगेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले जिल्लामा क्षति भएका विवरणहरू संकलन गर्ने कार्य सुरु भएको बताए।
सार्वजनिकदेखि निजी सबै क्षति जिससले संकलन गरिरहेको उनले बताए। धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु, पनौती नगरपालिकाको उप मेयर गीता बञ्जारा, कुशादेवी निवासी क्याप्टेन रामेश्वर थापा र पनौती नगरपालिकाको पूर्व मेयर भीम न्यौपानेको घर पूर्ण रूपमा आगजनी गरिएको थियो। जिल्लामै पूर्व सांसद नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमगाई, पनौती नगरको मेयर रामशरण भण्डारी, पनौती नगरपालिका वडा नं २ को वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको घर पूर्ण रूपमा क्षति पुर्याइएको छ।
प्रतिक्रिया दिनुहोस !