त्रसित नागरिकलाई आश्वस्त पार्न कर्णालीका मुख्यमन्त्रीको आग्रह
दैलेख : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले त्रसित नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति हुने गरी आश्वस्त पार्न सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरेका छन्।
जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न अवस्थाबारे कर्णालीको सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा मुख्यमन्त्री कँडेलले भने, ‘आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकाले आश्वस्त पार्ने गरी काम गर्न चारैवटै सुरक्षा निकायसँग आग्रह गर्दछु।’
मुख्यमन्त्री कँडेलले उद्देश्य राम्रो भएपनि आन्दोलनका नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको बताए। नागरिकहरू अझै पनि भयभीत अवस्थामा रहेकोले जनजीवन सामान्य हुने गरी आफ्ना गतिविधि सञ्चालन गर्न सुरक्षा निकायहरूलाई सुझाव दिए।
‘जेन्जी पुस्ताको आन्दोलनका नाममा भएका हिंसात्मक कामहरूको अनुसन्धान र कारबाहीका कामहरू हुन्छन् नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन्, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईंहरू लाग्नुस्,’ मुख्यमन्त्री कँडेलले भने। थप शान्ति सुरक्षा बिग्रन नदिन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने उनले बताए। ‘तपाईंहरूको तालुकदार निकाय संघीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा तपाईंहरूलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ,’ उनले भने।
मुख्यमन्त्री कँडेलले शान्तिपूर्ण प्रर्दशनबाहेक हिसांत्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने बताए। माथिल्लो तहको आदेशको अन्यौलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताउँदै मुख्यमन्त्री कँडेलले भने ‘नुहुनुपर्ने क्षति भयो, सुर्खेतमा सीमित जनशक्तिले आफ्नो मेहनतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाईंहरूलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्ता छाडेपछि तपाईंहरूको नियन्त्रणमा रहेन।’
उनले अन्य ठाउँभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरूलाई धन्यवाद दिए। यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोध भन्दा संयम र धैर्यताको खाँचो भएकोले सुरक्षाकर्मी संयमका साथ अगाडि बढ्नुपर्ने बताए। ‘आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेर अनुसन्धान गर्न र कानुन बमोजिम कारबाही गर्न तपाईंहरूलाई माथिको आदेश पर्खनु पर्दैन, पूर्वाग्रह नराखेर अनुसन्धान गरि दोषीलाई कारबाहीका दायरामा ल्याउनुस्,’ उनले भने। छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायसहित प्रदेशस्थित चारवटै सुरक्षाका प्रमुखहरूको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !