अपडेट : एसिया कपबाट बाहिरिएको भनिएको पाकिस्तान युएईसँग खेल्न तयार
काठमाडौं : एसिया कपबाट बाहिरिएको भनिएको पाकिस्तान युएईसँग खेल्न तयार भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का प्रवक्ता आमिर मिरका अनुसार बुधबारका लागि तय भएको पाकिस्तान र युएईबीचको एसिया कप खेलमा ढिलाइ हुने भएको छ।
पाकिस्तानी टोली निर्धारित समयमा रंगशाला नपुगेपछि विभिन्न अड्कलबाजी सुरु भएको थियो। केही अन्तराष्ट्रिय मिडियाले पाकिस्तान एसिया कपबाट बाहिरिएको समाचार प्रकाशन गरेका थिए।
यसपछि पीसीबीका प्रवक्ता आमिर मीरले भने,ʻपीसीबी अध्यक्ष मोहसिन नक्वी, पूर्वअध्यक्ष रमीज राजा र नजम सेठीबीच वार्ता भइरहेको छ। खेल निर्धारित समयभन्दा एक घण्टा पछि सारिएको छ। हामी केही राम्रो खबर सुन्ने आशा गर्छौं।ʼ
त्यसको लगत्तै पीसीबीका अध्यक्ष मोहसिन नकवीले इन्स्टाग्राममा लेखे,ʻहामीले टोलीलाई दुबई क्रिकेट रंगशाला जान आग्रह गरेका छौं।ʼ
पीसीबीका अध्यक्ष मोहसिन नक्वी हाल एसियाली क्रिकेट परिषद्का अध्यक्ष पनि हुन्।
युएईमा जारी एसिया कपमा पाकिस्तानले अहिलेसम्म दुई खेल खेलेको छ। पाकिस्तानले एउटामा जित र एउटामा हार बेहोरेको छ।
गत आइतबार भारतसँग पाकिस्तान सात रनले पराजित भयो। भारतीय खेलाडीहरूले पाकिस्तानी टोलीसँग हात मिलाउन अस्वीकार गरेको बारेमा धेरै छलफल भएको थियो।
पाकिस्तानले दुबै टोलीका कप्तान टसका लागि मैदानमा आएपछि म्याच रेफ्री एन्डी पाइक्राफ्टले हात नमिलाउन भनेको आरोप लगाएको छ।
पाकिस्तानले यसबारे आईसीसीमा पनि गुनासो गर्दै म्याच रेफ्रीलाई नहटाएमा युएईविरुद्धको खेलबाट बाहिरिने धम्की दिएको थियो।
पहलगाम आक्रमण तथा भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व पछि दुई देशबीचको पहिलो क्रिकेट खेल भएकाले दुवै देशमा धेरै चर्चामा रह्यो।
प्रतिक्रिया दिनुहोस !