(अ) नागरिक पल्टु
महोत्तरी : भनिन्छ, बुढेसकाल र दीर्घरोगले सताएपछि आफ्नै शरीरले पनि साथ दिँदैन । परनिर्भर हुनुपर्छ । घरपरिवारका सदस्यको सहारा चाहिन्छ । तर, यस्तो अवस्थामा पनि सहारा पाइएन भने दैनिकी कस्तो होला ? निश्चय नै, जीवन जिउँदो लास सरह नै हुँदो रहेछ । हो, यस्तै जीवन मरणको अवस्थाबाट जीवन गुजार्दै छन् महोत्तरी गौशाला ९ का ६० वर्षीय पल्टु सदा ।
विषहरपुरको मुसहरबस्तीमा उनको उजाडिएको फुसको घर छ । जहाँ भुइँमै ओछ्याएको पुरानो चटाइमा सुत्छन् । दीर्घरोग प्यारालाइसिसका कारण उठबस गर्न सक्दैनन् । हलचल गर्न पनि सहारा नै चाहिन्छ । कहिलेकाहीँ सुत्ने गरेकै चटाइमा सौच गर्न बाध्य छन् । उजाडिएको घरको छानाको प्वालबाट निलो आकाश र बादल देखिन्छ । उनका लागि त्यही प्वालबाट आउने प्रकाश नै उनका लागि दिन हुन्छ ।
एक वर्षदेखि बाहिरी वातावरणसमेत हेर्न पाएका छैनन् । फुसको प्वालबाट सूर्यको किरण र वर्षात्को पानीले दुःख दिन्छ । जुन उनका लागि असह्य, अनि पीडादायी हुन पुग्छ । यस्तो तनावमय अवस्थामा पत्नीका दुःख पनि कम छैनन् । साँझ–बिहान मुखमा माड लगाउन उनलाई एक्लै छोडेर पत्नी काममा जान्छिन् । शरीरले साथ दिएसम्म पल्टुले राम्रोसँग घरपरिवार पालेको स्थानीय ललिता सदाले बताइन् । उनले भनिन्, ‘घरायसी खर्च, दुई छाक खानाको प्रबन्ध अनि औषधिको व्यवस्था तिनै श्रीमतीको काँधमा छ । मन मारेर उनी श्रीमान्लाई एक्लो घरमा छाडी गाउँघरमै मजदुरी गर्छिन् ।
मालिकले दिएको खानाबाट श्रीमान्– श्रीमतीले बाँडिचुँडी पेट भर्ने गरेका छन् । श्रीमती साथमा हुँदा त पल्टुलाई अलि सहजता हुन्छ । कामको सिलसिलामा हाटमेला गएको खण्डमा उनलाई भने जीवन नै नर्कजस्तो हुँदो रहेछ ।’
नागरिकता नहुँदा पल्टुलाई झन् समस्या
पल्टु सदासँग नागरिकता छैन । जसले गर्दा सरकारी स्तरबाट उनलाई सहयोग गर्नसमेत अप्ठ्यारो भएको पूर्ववडाअध्यक्ष महेश सिंह दनुवारले बताए । उनले भने, ‘मैले सहयोगका लागि उनलाई सम्बन्धित निकायमार्फत अनेकौं पटक पहल गरे तर सफल भइन् । कारण एउटै थियो उनको नागरिकता । जुन उनीसँग छैन । पल्टु सदाको बुवाको समेत नागरिकता थिएन । जसका कारण उनको सन्तान पनि जन्मदर्ता र नागरिकताविहीन छन् । बालिग उमेरका छोरा बेरोजगार छन् । अहिले उनका छोरा भारतमा मजदुरी गर्दै छन् ।
दीर्घरोगीका लागि सरकारी संयन्त्रबाट आउने सहयोगबाट पल्टु बञ्चित भएको स्थानीय वीरबहादुर चौधरीले बताए । चौधरीले भने, ‘स्पष्ट रूपमा बोल्न नसक्ने उनलाई खानपिन, औषधि र लताकपडाको अति आवश्यकता छ । यस अवस्थामा त उनलाई अब सहयोगी मनकारी संस्थाले नै सहयोग गर्नुपर्ने हुन्छ ।’
उनलाई बास बस्न तत्कालीन भरतपुर गाविसले ४ धुर जग्गा गाउँ बल्कमार्फत उपलब्ध गराएको थियो । जहाँबाट उनले ३ छोरी र १ छोराको जसोतसो पालनपोषण गरे । पल्टुलाई नागरिकताकै अभावमा यसपटक पनि जग्गा उपलब्ध गराउन नसकिएको भूमिसुधार तथा व्यवस्थापन समिति महोत्तरीका अध्यक्ष पीताम्बर महतोले बताए । वर्षांैसम्म एकै स्थानमा बसे तापनि नागरिकता नहुँदा जग्गा उपलब्ध गराउन नसकिएको महतोले बताए ।
प्रतिक्रिया दिनुहोस !