सर्पदंशका बिरामी अझै धामीझाँक्रीकै भरमा

सर्पदंशका बिरामी अझै धामीझाँक्रीकै भरमा
सुन्नुहोस्

प्यूठान : मल्लरानी–३ प्यूठानकी ४६ वर्षीया जलसरा खत्री जेठ १० गते घरको सरसफाइ गर्दै थिइन्। उनको हात मुसाले प्वाल परेको ठाउँमा पर्यो। केले टोक्यो पत्तो पाइनन्। विस्तारै हात सुन्निन थाल्यो। छरछिमेकलाई गुहारिन्। फेरि प्वालमा हेर्दा छिमेकीले सर्प देखे। अनि थाहा भयो, उनलाई सर्पले टोकेको रहेछ।

त्यसपछि जलसराको सर्पले टोकेको ठाउँभन्दा केही माथि कपडाले बलियो गरी बाँधियो। स्थानीयले धामी झाँक्रीकोमा लगे। सर्पले टोकेको ६ घण्टासम्म निको हुने कुनै छाँट नदेखेपछि स्थानीयले सर्पदंश उपचार केन्द्र लामाचौरमा फोन गरे। अस्पताल ल्याउन स्वास्थ्यकर्मीले सुझाए। बाटोमा आउँदै गरेको बिरामीलाई छिटो उपचार दिन स्वास्थ्यकर्मीको टोली अस्पतालबाट निस्कियो। उपचारको क्रममा खत्रीले ज्यान गुमाइन्। १७ भाइल एन्टिभेनम डोज दिँदा पनि स्वास्थ्यमा सुधार नभएको स्वास्थ्यकर्मी बताउँछन्।

अन्धविश्वासकै कारण सर्पको डसाइबाट यहाँका स्थानीयले ज्यान गुमाउने गरेका छन्। बलियो गरी शरीरका अंग बाँध्ने, धामीझाँक्रीकोमा लैजाने, डसेको ठाउँमा पत्तीले काट्ने जस्ता कारणले ज्यान जाने गरेको हो। यस्तै कारणले प्यूठान ऐरावती गाउँपालिका–६ की अमृता गुरुङले पनि ज्यान गुमाएकी छन्।

लुग्री गाउँपालिका–६ गुम्चाल रोल्पाका खिमबहादुर थापा सर्पदंश उपचार केन्द्रमा बुहारीको उपचार गरिरहेका छन्। चार दिनदेखि बुहारीको उपचारमा रहेको उनले बताए। ‘सर्पले टोकेपछि स्थानीयको सल्लाहअनुसार धामीझाँक्रीकोमा लगे’, उनले भने, ‘अर्काे दिनसम्म पनि सुधार नभएपछि यहाँ ल्याएको हुँ।’

सर्पको डसाइपछि २४ घण्टाभित्र पूर्ण रूपमा निको हुन्छ। तर अन्धविश्वासकै कारण बेहोस अवस्थामा ढिलो गरी आउने बिरामीहरूको उपचारका लागि धेरै दिन लाग्ने गरेको स्वर्गद्वारी सर्पदंश उपचार केन्द्र लामाचौरका प्राविधिक महेशप्रसाद जोशीले बताए। दुई वर्षअघिदेखि सञ्चालनमा आएको उपचार केन्द्रबाट प्यूठानसहित रोल्पा, अर्घाखाँची जिल्लाका स्थानीय र दाङ, गुल्मी जिल्लाका सीमा क्षेत्रका स्थानीय सेवा लिँदै आएका छन्।

नेपाली सेनाको बर्दबहादुर गणको प्राविधिक सहयोगमा स्वर्गद्वारी नगरपालिकाले उपचार केन्द्रको व्यवस्थापन गर्दै आएको छ। सेनाको तर्फबाट दुई जना तालिम प्राप्त प्राविधिकसहित नगरपालिकाले तीन जना जनशक्ति व्यवस्थापन गरेको छ। बिरामी उपचारका लागि पाँच सय रुपैयाँ शुल्क लिने गरिएको छ भने बाँकी सबै नगरपालिकाले बेहोर्ने गरेको उपचार केन्द्रका प्रमुख हेमराज पौडेलले बताए।  ‘नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने एन्टिभेनम प्रयोग गर्दा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका डाक्टरको सहयोग लिने गरेका छौं’, उनले भने, ‘थप औषधि र अन्य सहयोग नगरपालिकाले गर्दै आएको छ।’

स्थापनादेखि हालसम्म केन्द्रबाट २ सय ६५ जनाले सेवा लिएका छन्। त्यसमध्ये दुई जनाको ज्यान गएको छ। आठ जनालाई थप उपचारका लागि रिफर गरिएको छ। यस वर्षको वैशाख महिनामा १० जना, जेठमा १७ जना, असारमा २९ जना, साउनमा २५ जना, भदौमा २७ जनाले उपचार सेवा लिएको उपचार केन्द्रले जनाएको छ।

ऋणमा उपचार केन्द्र
स्वर्गद्वारी नगरपालिकाले उपचार केन्द्र सञ्चालनका लागि सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ पारित गरेको छ। जस अनुसार प्यूठानका अन्य पालिकाहरूले उपचार केन्द्र सञ्चालनमा सहयोग गर्नुपर्ने व्यवस्था भए पनि सहयोग प्राप्त नहुँदा उपचार केन्द्र ऋणमा सञ्चालन गर्नु परेको प्रमुख 
पौडेलले बताए।

‘सीमित जनशक्ति भएकाले चौबिसैघण्टा सेवा दिएबापत प्रोत्साहन भत्ता दिनुपर्ने व्यवस्था भए पनि स्थापनाकालदेखि दिन सकिएको छैन’, उनले भने, ‘भाइल नेपाल सरकारले निःशुल्क दिए पनि अन्य औषधि खरिद, रासनलगायत खर्चले ऋणमा काम गर्नुपरेको छ।’ एकपटक नौबहिनी गाउँपालिकाले एक लाख रूपैयाँ सहयोगबाहेक हालसम्म अन्य पालिकाबाट सहयोग प्राप्त नभएको उनले बताए। हालसम्म पाँच लाखभन्दा बढी ऋण रहेको उनको भनाइ छ।

जिल्ला अस्पतालमा पनि हुन्छ उपचार
सर्पदंशका बिरामीहरूको प्यूठान जिल्ला अस्पताल बिजुवारमा पनि उपचार हुन्छ। चिकित्सकको सल्लाहमा बिरामीको लक्षणअनुसार एन्टिभेनम दिएर उपचार हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन सुवास पौडेलले बताए। वैशाखदेखि साउनसम्म अस्पतालबाट १९ महिला र २३ पुरुष गरी ४२ जनाले उपचार सेवा लिएका छन्।

प्यूठानमा सर्पदंश उपचार नहुँदा कपिलवस्तुको गुरुसिंगेमा नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा जानुपर्ने बाध्यता रहेको थियो। नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने एन्टिभेनमको बजार मूल्य ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँ पर्दछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.