नारायणघाट- मुग्लिन सडक : थप पहिरो नखसे ४ बजेबाट यातायात सुचारु
चितवन : नारायणघाट- मुग्लिन सडकखण्डको पहिरो हटाउन समय लाग्ने भएको छ । थप पहिरो नखसे पहिरो हटाउन दिउँसो चार बजेबाट यातयात सुचारु हुने अनुमान गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पहिरो ठूलो भएको कारण हटाउन समय लाग्ने बताए । हिजो साँझदेखि परेको लगातार वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुईन खोला पुल नजिक ठूलो पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार साँझ करिब ६:३० बजेबाट सुरु भएको सानोतिनो पहिरो आज बिहान ७:४० बजे ठूलो रूपमै खसेर सडकको करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइ क्षतिग्रस्त बनाएको हो। झण्डै ७० मिटर माथिबाट लगातार ढुंगा खसिरहेकाले उद्धार तथा पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको छ।
हाल पहिरो हटाउनका लागि ३ वटा लोडर र १ वटा एक्स्काभेटर परिचालित गरिएको छ भने मुग्लिनतर्फबाट थप १ वटा एक्स्काभेटर पनि साइटतर्फ पठाइएको छ। दुबै दिशाबाट पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
“ढुंगा झर्ने क्रम रोकिएमा ४ घण्टाभित्र सडक खुल्न सक्छ” – अर्यालले भने, “सुरक्षालाई ध्यानमा राखेर पहिरो हटाउने काम अगाडि बढाइरहेका छौं। यदि माथिबाट ढुंगा झर्ने क्रम रोकियो भने कम्तिमा ४ घण्टाभित्रमा सडक खुलाउने सम्भावना छ।”
उनका अनुसार स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय र सुरक्षाकर्मीहरू आवश्यक संयोजनमा खटिएका छन्। यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै वैकल्पिक व्यवस्था तथा सूचनाको प्रवाह भइरहेको पनि उनले बताए। स्थानीय प्रशासनले यात्रुहरूलाई सुरक्षित स्थानमा पर्खन र सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। पहिरोका कारण सयौं सवारी साधनहरू दुबै किनारामा रोकिएका छन्।
प्रतिक्रिया दिनुहोस !