आजदेखि नवरात्री सुरू : पाल्पाका भगवती मन्दिरमा पुजापाठ गर्नेको भिडभाड
तानसेन : आज वडा दशैंको पहिलो दिन घटस्थापना। पाल्पाका विभिन्न शक्तिपीठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनको भिडभाड बढेको छ । भक्तजन बिहानैदेखि नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजापाठ तथा देवीको दर्शनको लागि भगवती दुर्गाका मन्दिर पुगेका छन् । पाल्पालीहरूले शुभ साइतमा घरघर, देवीका मठ मन्दिरमा घटस्थापना गरेका छन् ।
जिल्लाको डाडा टाकुरामा रहेका भगवती दुर्गाका मन्दिर सरसफाई गरी आजदेखि देवीको नित्य पुजा आजा सुरू गरिएको छ । पाल्पामा अधिकांश देवी, भगवती, दुर्गाका मन्दिर, डाडाको टुप्पोमा निर्माण गरिएका छन् ।
नवदुर्गा सुरू भएपछि भगवती मन्दिरका वरिपरी भक्तजन भजन कृर्तन, दुर्गा तथा चण्डी पाठ गर्दै देवीको आराधनामा जुटेका हुन् । तानसेनको भगवती मन्दिर परिसरमा परम्परागत नेवारी भाषाको डाफा भजनले संस्कृति जोगाएको छ ।
लोपन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजनलाई संरक्षणको लागि पाका पुस्तासँगै युवाहरू जोडिएका छन् । परम्परागत भजन संस्कृति बुढापाकामा मात्र रहेको अवस्थामा युवालाई समेत डाफा भजनमा सहभागी गराएर तानसेनको पुरानो भजन संस्कृतिको जर्गेनाका लागि सहयोग पुगेको संस्कृतकर्मी राजेन्द्र गोपाल सिंहले बताए ।
भगवती मन्दिरमा तानसेन भजन संरक्षण समिति र भगवती भजन समूहले नियमितरुपमा नवदुर्गा समयभरी बिहानमा डाफा भजन गर्दै आएका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए ।
तानसेनको भगवती मन्दिर, भैरवस्थानको भैरव मन्दिर, रम्भाको रम्भादेवी मन्दिर, दर्लाम महाकाली कन्दिर, बगनासकाली मन्दिर भुवनपोखरीको रैनादेवी मन्दिर, बतासेको कालिका मन्दिरलगायतका मन्दिरमा पुजा आजाका लागि भक्तजनको अध्याधिक भिड हुने गर्दछ । पाल्पामा नवदुर्गाको समयमा मन्दिर वरिपरी विभिन्न समूहबाट सामूहिक देवी स्तुति भजन किर्तन गर्ने परम्परा रहेको छ।
प्रतिक्रिया दिनुहोस !