महेन्द्र माविको आँगनमा उज्यालो होइन, मौनता

महेन्द्र माविको आँगनमा उज्यालो होइन, मौनता

दार्चुला : दार्चुला जिल्लाको मुटुमा अवस्थित महेन्द्र माध्यमिक विद्यालय, जसलाई स्थानीयहरूले ‘गौरवको प्रतिमूर्ति’ भनेर सम्बोधन गर्दै आएका छन्। तर आज विडम्बनाको घेरामा छ। आठ दशकदेखि हजारौं विद्यार्थीलाई उज्यालो भविष्य दिएको यो शिक्षालय अहिले आफ्ना शिक्षक–कर्मचारीलाई चाडपर्वकै बीचमा अवकाश दिनुपर्ने बाध्यतामा पुगेको छ।
    
२००९ सालमा स्थापना भएको उक्त विद्यालय अहिले संकटको भुमरीमा फस्दै आएको छ। विद्यालयको आँगन आज असामान्य मौनताले ढाकिएको छ। भित्तामा टाँसिएका पुराना पोस्टरहरू हावा–पानीले फाट्नेवाला छन्। कार्यालयतिर हेर्दा ताल्चा झुन्डिएको ढोका, धुलोले ढाकिएका कुर्सी र थुप्रिएका फाइलहरूले विद्यालयको पीडालाई मुखरित बनाइरहेको छ।

विद्यालयको गौरवशाली इतिहास

यो विद्यालयले दशकौंको यात्रामा गाउँ–गाउँबाट आएका हजारौं बालबालिकालाई शिक्षाको प्रकाश दिएको छ। धेरै यहाँबाट पढेर शिक्षक बने, कसैले इन्जिनियर, कसैले चिकित्सक, कसैले सरकारी सेवामा जीवन समर्पण गरे। धेरैले विद्यालयलाई दार्चुलाको ‘ज्ञानको गढ’ भनेर चिन्ने गरिएको छ। यसै विद्यालयमा अध्ययन गरेका दिलेन्द्र प्रसाद बडू, गणेश सिंह ठगुन्ना, लक्ष्मण जोशी मन्त्री ,सांसद भएका छन्।

यो विद्यालयले अहिलेसम्म आफ्नो इतिहासलाई बिराएको थिएन अब भने संकटको घेरामा पुगेको छ। विद्यार्थीको चाप थेगी सक्नु छैन। अहिले यो विद्यालयमा कक्षा शिशुदेखि १२ सम्म झन्डै २५ सयको हाराहारी विद्यार्थी अध्ययनरत छन्।

स्थानीय सरकार महाकाली नगरपालिकाले विद्यार्थीहरूबाट लिँदै गरेको सहयोग शुल्क कटौती गरेपछि अहिले यो विद्यालयले समस्या झेल्न बाध्य भएको छ। २०७९ सालसम्म केही मात्रामा विद्यार्थीहरूबाट शुल्क उठाइन्थ्यो। पछि स्थानीय सरकार महाकाली नगरपालिकाले निःशुल्क शिक्षाको प्रावधान लिए पछि यो समस्या देखा परेको हो।

नगरपालिकाको आर्थिक सहयोग
 
स्थानीय सरकार महाकाली नगरपालिकाले आफ्नो बजेटबाट विषयगत १५ वटा  शिक्षक महेन्द्र माविमै उपलब्ध गराए पनि अब आफ्नो बजेटबाट थप कर्मचारी, सहयोगी, गेटपाले लगायतका कर्मचारीहरूको व्यवस्थापन गर्न सक्ने अवस्थामा छैन।

अबको विकल्प केहो ?

अबको विकल्प भनेको यात स्थानीय सरकार महाकाली नगरपालिकाले आवश्यक बजेट निर्धारण गर्ने। होइन भने विद्यालय व्यवस्थापन समितिलाई आवश्यक व्यवस्थापन गर्ने भनेर पत्राचार गर्ने। यदि त्यस्तो नि सम्भव छैन भने निश्चित कोटा निर्धारण गरेर विद्यार्थी भर्ना गर्न बाहेक कुनै विकल्प नभएको महेन्द्र माविका पूर्व प्रधानाध्यापक रामदत्त जोशी बताउँछन्। उनी भन्छन्, ‘म पनि यहीँ पढेँ, मेरा छोराछोरी पनि यहीँ पढे। महेन्द्र माविले गाउँलाई शहरसँग जोडेको छ। तर आज आफ्ना शिक्षक–कर्मचारी नै असुरक्षामा देख्दा मुटु चिरिएको जस्तो भएको छ ’, मेरै कार्यकालमा नियुक्त भएका थिए। कर्मचारी अभाव भएरै राखिएका हुन। विद्यालयले अचानक अवकाशको निर्णय गर्नु थिएन भएसम्म केही स्रोतहरू हेर्नु पर्ने हो त्यो गरेनन्।

कर्मचारी भक्कानिँदै भन्छन्, ‘दशैंमा विद्यार्थीले हामीलाई टीका लगाइदिनु भन्दै आउँथे। तर यसपटक आफ्नै घरमा चुलो बाल्ने धैर्य छैन। हाम्रो दशैं त आँसुमा बगिसक्यो।’ अर्को कर्मचारीको स्वर अझै कटु छ, ‘विद्यालयका लागि जीवन दिएँ। बिहानदेखि साँझसम्म पसिना बगाएँ। तर आज हामीलाई विद्यालयले ‘अब तिमीहरूको आवश्यकता छैन’ भनेर छाडिदियो।’ सबैभन्दा मार्मिक कुरा भनेको कर्मचारीहरूको स्वर हो। एक वृद्ध कर्मचारीले भने, ‘हामीले विद्यालयका लागि जीवन दिन सक्छौँ, तर विद्यालयले हामीलाई जीवन दिन सक्दैन भन्ने कल्पनासम्म गरेको थिइनँ।’


कार्तिक ११ मा के हुने ?

विद्यालय हाल असोज ३ गतेदेखि बन्द छ। तर कार्तिक ११ गते पुनः सञ्चालनमा आउँदा प्रश्नहरूको थुप्रोले विद्यालयलाई घेर्नेछ।
ढोका कोले खोल्ने?, गेटमा विद्यार्थीलाई कसले स्वागत गर्ने?, कम्प्युटर कसले चलाउने?, प्रशासनिक अभिलेख कोले मिलाउने?
गेटपाले छैन, कार्यालय सहयोगी छैन, कम्प्युटर अपरेटर छैन, प्रशासनिक सुब्बा छैन। यस्तो अवस्थामा विद्यालय सञ्चालन असम्भव जस्तै देखिन्छ।

स्थानीय सरकारको मौनता

यस विद्यालयको सबैभन्दा नजिकको सहारा महाकाली नगरपालिका हो। तर अहिलेसम्म नगरपालिकाले ठोस कदम चाल्न सकेको छैन स्थानीय अभिभावक पुस्कर जोशी भन्छन्, ‘नगरपालिका हाम्रो सिंहदरबार हो। तर यदि यतिबेला पनि दर्शक बनेर बस्छ भने विद्यालय ढल्छ, अनि त्यससँगै हाम्रो भविष्य पनि ढल्छ।’

सहजीकरण अपरिहार्य

स्थानीय महाकाली नगरपालिकासम्म आशा त पुगेको छ, तर सहयोग अझै अनिश्चित छ। ‘नगरपालिका हाम्रो नजिकैको सिंहदरबार हो। तर यदि यतिबेला पनि मुखदर्शक बनेर बस्छ भने विद्यालय र शिक्षक–कर्मचारीको भविष्य ध्वस्त हुन्छ,’
शिक्षकको व्यवस्थापन  महाकाली नगरपालिकाले गरेको छ। यो विद्यालयका लागी सौभाग्य रहेको छ। अब  कर्मचारी व्यवस्थापनमा पनि नगरपालिकाको सहयोग आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंह ठगुन्नाले बताए। 

‘अभिभावकको  सहयोग वा नगरपालिकाले अनुदान दिएमा कार्तिक ११ गते  देखि हाजिर गर्ने  निर्णय गर्न सकिन्छ। अवकाश हैन  केही समयका लागि हाजिर गर्नमा  रोक लगाएको हो। यदि कुनै निकाय बाट सहयोग प्राप्त नभएमा  अवकाशै दिने बाध्यता आएको हो।’ 

विद्यालयका प्रधानाध्यापक दामोदर जोशीका अनुसार नगरपालिकाले तत्काल बजेट उपलब्ध गराउन नसके विद्यालयलाई न्यून शुल्क उठाएरै भए पनि कर्मचारीलाई बचाउने बाटो खोलिनुपर्ने आवाज सर्वत्र सुनिन्छ।

दार्चुलाको गौरवशाली महेन्द्र मावि आज अस्तित्वकै संकटसँग जुधिरहेको छ। यी कर्मचारीहरूको पीडा केवल व्यक्तिगत मात्र होइन, सम्पूर्ण समाजको सामूहिक घाउ हो। आज आवश्यक छ—विद्यालय व्यवस्थापन समिति, नगरपालिका, अभिभावक, शिक्षा–प्रेमी सबै एउटै स्वरमा उठ्नु पर्छ। यदि अहिले कदम चालिएन भने, विद्यालय केवल इतिहासका पानामात्र सीमित हुनेछ। दशैं–तिहारमा जब घर–घरमा उज्यालो फैलिएको छ, महेन्द्र माविको आँगनमा भने आँसु र मौनता मात्र बाक्लिँदै गएको छ। यसले कर्मचारी तन्त्रमा मात्रै होइन अब आउने पिँढीलाई समेत असर हुन सक्ने जानकारहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.