दसैंको बेला, जहिल्यै महँगो हवाई भाडा
दसैंको पिक सिजनमा हवाई टिकट महँगो हुने गरेको भन्दै यात्रुहरूले गुनासो गर्दै आएका छन्।
काठमाडौं : दसैं सुरु भइसकेको छ। अध्ययन, रोजगारी तथा विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा बसोबास गरेकाहरू दसैं मनाउन धमाधम घर फर्किन थालेका छन्। त्यसैकारण हवाई यात्रुको चाप बढेको छ। तर, हवाई भाडा महँगो भएको भन्दै यात्रुहरूले गुनासो र विरोध गरिरहेका छन्।
हुन त, यस्तो गुनासो यो पटक मात्र होइन, हरेक वर्ष हुने गर्छ। अरू बेलाभन्दा हवाई टिकट महँगिएको छ। तर, सरकारले तोकेको हवाई टिकटको न्यूनतम र अधिकतम मूल्यको बीचमा बसेर नै आन्तरिक विमान कम्पनीहरूले भाडा लिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्।
‘हरेक वर्ष यो मुद्दा उठ्ने गर्छ र हरेक वर्ष हामीले त्यही भन्ने गर्छौं। सरकारले तोकेको मूल्यमा नै बसेर भाडादर लिने गरिएको छ,’ भूलले भने। साना विमानका लागि प्राधिकरणले स्थिर भाडा तोकेको छ भने १९ सिटभन्दा बढी क्षमताका विमानका लागि न्यूनतम र अधिकतम भाडाको सीमा निर्धारण गरिएको छ। भाडा गणनामा सञ्चालन खर्च, इन्धन शुल्क, यात्री सेवा शुल्क तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समावेश हुन्छ। तर, आधारभूत भाडा २०७३ सालयता पुनरावलोकन गरिएको छैन। कानुनी प्रावधानअनुसार हरेक ३ वर्षमा परिमार्जन हुनुपर्ने भए पनि अहिलेसम्म अद्यावधिक नगरिएको भूलले बताए।
दसैंको पिक सिजनमा हवाई टिकट महँगो हुने गरेको भन्दै यात्रुहरूले गुनासो गर्दै आएका छन्। प्राधिकरणले आन्तरिक एयरलाइन्सलाई न्यूनतमदेखि अधिकतम दायराभित्रै टिकटहरू समानुपातिक रूपमा वितरण गर्न निर्देशन दिएको र उच्चतम भाडा मात्र बिक्री नगर्न आग्रह गरेको भूलले अन्नपूर्णसँग भने।
कुल सिट क्षमतामा उच्च भाडा १० प्रतिशत क्षमताको मात्र लिन पाउने नियम रहेको उनको भनाइ छ। सरकारले हवाई भाडामा छुट वा सहुलियत दिने हो भने मात्र भाडा दर कम लिन सक्ने निजी कम्पनी बताउँछन्। ‘दशैंको सययमा सहुलियत दरको टिकट दिन कि त नेपाल सरकारले छुट दिन पर्यो, कि प्राधिकरणले विमानस्थल शुल्क नलिन पर्यो कि आयल निगमले हवाई इन्धनको मूल्य घटाउन पर्यो। बढी फाइदा नलिन भन्न मिल्छ तर घाटाको उडान एयरलाइन्स कम्पनीले कसरी गर्न सक्छ ?’ यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्।
विमान कम्पनीहरूले तोकेको दरभन्दा बढी लिन नमिल्ने भन्दै बर्तौलाले दसैंको समयमा सहुलियतदरका टिकट अनलाइनबाट पहिला नै बुकिङ हुने हुँदा अहिले महँगोदरका मात्र टिकट बाँकि भएको बताए।
हवाई यात्रामा चाप कम
दसैंमा उपत्यका छोड्ने चाप बढेसँगै हवाईयात्रुको चाप पनि बढ्ने गर्छ। साधारणतया दसैंपूर्व आन्तरिक उडानको चाप करिब ३० देखि ३५ प्रतिशतले बढ्ने गर्छ। दसैं पूर्वको समयमा करिब ७५ प्रतिशत क्षमतामा सञ्चालन हुने आन्तरिक वायुसेवा कम्पनी यतिबेला भने करिब ९५ प्रतिशतसम्म क्षमतामा उड्ने गर्छन्। अहिले आन्तरिक कुल यात्रु चाप करिब ५ प्रतिशतले मात्र बढेको प्रवक्ता भूलले बताए।
दसैंको समयमा उपत्यका छोड्ने यात्रुको चाप बढी भए पनि उपत्यका भित्रिने चाप भने कम हुन्छ। एकतर्फी चाप भएका कारण विमान कम्पनीले हवाई भाडा पनि दुईतर्फीको सञ्चालन खर्च उठाउने गरी लिने गरेको प्राधिकरण बताउँछ। बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण हवाई भाडाको विषय यात्रु क्षमता र उडान तालिकासँग जोडिएको बताउँछन्। उनले प्राधिकरणले तोकेको अधिकतम सीमाभन्दा कममै टिकट बिक्री भइरहेको स्पष्ट पारे। कर्णका अनुसार केही सीमित उडान भएका मार्गहरू, विशेषगरी तुमलिङटार जस्ता गन्तव्यमा चाप देखिए पनि समग्रमा भने दसैंका कारण अहिले ठूलो मात्रामा थप उडान आवश्यक पर्ने अवस्था नभएको बताए। आन्तरिक विमान कम्पनीहरूले ठूला विमान प्रयोग बढाएकाले यात्रु क्षमता सहजै सम्हालिएको र टिकटको अभाव नभएको बताए। उनका अनुसार बुद्धका हाल अधिकांश उडानमा ८०–९० प्रतिशतसम्म सिट बिक्री भइसकेको छ।
बुद्धसँग भएका कुल १८ विमानमा ४२ सिटका २ वटा र ७२ सिटका १६ एटीआर विमान छन्। दैनिक करिब ६० उडान गर्दै आएको यति एयरलाइन्स पनि अहिले यात्रुको चाप धेरै नभएको बताउँछ। ७ वटा जहाजबाट ट्रंक रुटका विभिन्न ७ गन्तव्यमा उडान गर्दै आएको यतीले अझैं टिकट काट्न सकिने वातावरण भएको बताउँछ। काठमाडौं छोड्दा जहाज भरिएका भए पनि काठमाडौं फर्किदा यात्रु नहुने गरेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्।
‘हामीलाई दसैंको बेलामा भन्दा अरू समयमा नै फाइदा हुन्छ। किनभने यो समयमा एकतर्फी मात्र यात्रुको चाप हुने गर्छ। एकतर्फी चाप मात्र हुँदा एयरलाइन्सले टिकटबाट आधा मात्र कमाउने भयो। अहिले काठमाडौंबाट करिब–करिब पूर्ण क्षमतामा उडे पनि फर्किंदा २०–३० जना यात्रु लिएर फर्किनु परेको छ। अरू बेलामा दुईतर्फी नै चाप हुन्छ। यसले कम्पनीको सञ्चालन खर्चलाई सन्तुलित गर्छ,’ उनले भने।यता, नेपालगन्ज, सुर्खेत, धनगढीलगायतका स्थानमा उडान गर्दै आएको श्री एयरलाइन्सले दसैंमा हवाई यात्रुको चाप नबढेको बताएको छ। श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर यात्रुको चाप नबढेकाले हवाई टिकट र महँगो टिकटदरको समस्या नभएको बताए।
बडादसैं मनाउन उपत्यका छोड्ने एक मात्र हवाईस्थल भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) हो। यहाँबाट विभिन्न ७ विमान कम्पनीहरूले नियमित उडान गर्दै आएका छन्। बुद्ध, यती, समिट, तारा, नेपाल एयरलाइन्स, श्री र सीता एयरले ट्रंक रुट (तराईका जिल्लामा हुने उडान) र स्टल रुट (पहाडी तथा हिमाली जिल्लामा हुने उडान) गर्दै आएका छन्। यी निजी वायुसेवा कम्पनीहरूले अन्य समयमा दैनिक करिब ३ सय उडान भर्ने गरेकोमा दसैंको समयमा भने दैनिक करिब ४ सय ५० उडान (आउने र जाने) हुने गरेको टीआईएका प्रवक्ता रिन्जी शेर्पा बताउँछन्। उनका अनुसार अहिले विमानस्थलमा दैनिक करिब १२ हजार आन्तरिकतर्फ र करिब १५ हजार बाह्य यात्रुको चाप रहेको छ। सामान्य समयमा आन्तरिकतर्फ दैनिक करिब ९ हजार र बाह्यतर्फ करिब १२ हजार यात्रु आउने जाने गर्छन्।
विस्तारै यात्रुको चाप बढिरहे पनि अहिले विमान कम्पनीहरूले उडान थप्नुपर्ने अवस्था नआएको शेर्पाले जानकारी दिए। अघिल्लो दसैंमा बाढीका कारण सडक सञ्जाल बिग्रिएका कारण यात्रु चाप बढेर रातिको समयमा पनि आन्तरिक उडान भएको थियो।
काठमाडौं विमानस्थलबाट विशेषगरी ट्रंक रुटमा उडान बढी हुने गरेको छ। राजविराज र भरतपुरबाहेक अन्य ट्रंक रुटका विमानस्थलहरूमा रात्रिकालीन उडान अवतरण हुन्छ। ती सेक्टरमा दिउँसो नभ्याउँदा राति पनि उडान हुने व्यवस्था गरिएको छ। यता, पर्यटकीय सिजन सुरु भए पनि हेलिकप्टर उडानमा भने यसको प्रभाव पर्न सकेको छैन। पर्यटकीय चहलपहल कम भएकोले चार्टर्ड उडान खासै नभएको नेपाल वायुसेवा सञ्चालक संघका उपाध्यक्ष प्रतापजंग पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस !