संकटकालको मितव्ययिता

संकटकालको मितव्ययिता
सुन्नुहोस्

सरकारले सरकारी खर्चमा व्यापक कटौतीको निर्णय गरेको छ । फजुल खर्च रोक्नेदेखि मितव्ययिता अपनाउने प्रकारका निर्णयले पक्कै पनि अर्थतन्त्रलाई त्राण दिनेछ । मन्त्री र सांसदका सचिवालयका नाममा हुँदै आएको कार्यकर्ता भर्तीमाथि सरकारले अंकुश लगाएको छ ।

सरकारको यो निर्णय केवल आर्थिक आवश्यकता मात्र नभएर राज्य सञ्चालनप्रतिको नयाँ दृष्टिकोणको संकेत हो । यसअघिका सरकारहरूले कार्यकर्तामुखी नियम बनाएर आफू र आफ्नालाई पोस्दै आएका जो थिए । अहिले सरकारसँग मुख्यरूपमा फागुनमा चुनाव गराउने र पुनर्निर्माणलाई पनि अघि बढाउने चुनौती छ । त्यसका लागि चाहिने भनेको पैसै हो । त्यसो त अर्थमन्त्री रामेश्वर खनालले पदबहाली लगत्तै टुक्रे योजना कटौतीको निर्णय गरेका थिए । वास्तवमा प्राथमिकता प्राप्त योजनामा बजेट अभाव र दलका कार्यकर्तालाई रिझाउने खालका योजनाहरूमा बजेटको कनिका यसअघिका विकृति नै थिए । मन्त्रीका सल्लाहकार, बैठक भत्तादेखि आवास भत्तासम्म, विदेशी भ्रमणदेखि फर्निचर खरिदसम्म सबै ठाउँमा कैंची चलेको छ । यो निर्णयले नेपाली राज्य व्यवस्थामा जरा गाडेर बसेको भ्रष्टाचार र फजुल खर्चको जरा काट्ने प्रयास गरेको छ । 

स्विट्जरल्यान्डमा सांसदलाई मासिक भत्ता २२ हजार फ्रयांक छ । त्यहाँका सांसदसँग स्वकीय सचिव हुँदैनन् । सिंगापुरका मन्त्रीहरूले सार्वजनिक यातायात प्रयोग गर्छन् । डेनमार्कका प्रधानमन्त्री साइकलमा कार्यालय जान्छिन् । न्युजिल्यान्डकी प्रधानमन्त्री आफ्नै घरमा बसेर काम गर्छिन् । यी उदाहरणहरूले देखाउँछ कि सुशासनमा फजुल खर्च हुन्न । राजनीतिक नियुक्तिको विकृतिले मुलुकलाई टाट पल्टाउन भूमिका खेलेको थियो ।

जनताको कर तिरेको पैसा कार्यकर्ता पोस्न प्रयोग गर्नु नैतिक अपराध थियो । तर मितव्ययिता केवल संकटकालको मात्र आवश्यकता होइन । सुशासनको आधारभूत सिद्धान्त पनि हो । जब सरकार मितव्ययी हुन्छ, निजी क्षेत्रले धेरै लगानी गर्छ । जब सार्वजनिक खर्च कम हुन्छ, कर दर घटाउन सकिन्छ । जब फजुल खर्च बन्द हुन्छ, उत्पादक क्षेत्रमा लगानी बढ्छ । तसर्थ सार्वजनिक खर्चमा मितव्ययिताका लागि जुन निर्मम कदम चालिएको छ, त्यो स्वागतयोग्य छ । 

सरकारका यी निर्णयहरूको कार्यान्वयनमा चुनौतीहरू आउन सक्छन् । वर्षौंदेखि सुविधाभोगी जीवनशैलीमा अभ्यस्त रहेका पदाधिकारीहरूबाट प्रतिरोधको सामना गर्नुपर्ने हुन सक्छ । यसका लागि सरकारले दृढ इच्छाशक्ति र निरन्तर अनुगमन गर्नुपर्छ । यी निर्णयहरूलाई कागजमा मात्र सीमित नराखी कडाइका साथ लागु गर्नुपर्छ । सरकारले गरेको खर्च कटौती र मितव्ययिताको निर्णय जनताको चाहना अनुसारै छ ।

जनता आफ्नो सेवा गर्न पठाएका नेता, सांसद र मन्त्रीहरू सादगी होउन् भन्ने चाहन्छन् । दलीय स्वार्थभन्दा देशको स्वार्थ हेरुन् भन्ने चाहन्छन् । सुशीला कार्की नेतृत्व सरकार त चुनावपछि रहँदैन । सत्ता हस्तान्तरण लोकतान्त्रिक विधिबाट गरेर ऊ बिदा हुन्छ । तर उसले गरेका मितव्ययिताको निर्णय भने निरन्तर हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.