औरही (महोत्तरी) : महोत्तरीको औरहीस्थित सोनामाई मन्दिरमा भूतमेला लागेको छ । जहाँ दशैंको षष्ठीतिथिदेखि दशमीतिथिसम्म भुतप्रेत आत्माले सताएकाहरू मन्दिरमा आउने गर्दछन् ।
यस भूतमेलामा सहभागी हुन आउने पीडित र दर्शनार्थीको लामो लर्को अहिले मन्दिर परिसरमा लागेको छ । जहाँ श्रद्धालुको सुविधाका लागि आवास, खानपानको समेत व्यवस्था गरिएको मेला समितिले जनाएको छ । मन्दिर परिसरलाई दुल्हीझैं श्रृंगारिएको छ भने मनोरञ्जनको लागि नाच तमासाको समेत बन्दोबस्त गरिएको छ ।
हुन त जादुटुनामुना (तन्त्रसिद्धी) तथा भूत बोक्सीमा विश्वास गर्नेहरूले यस मन्दिरमा दशैंको पहिलोदिन घटस्थापनादेखि नै पूजापाठमा तत्लिन हुन्छन् । तान्त्रिक मान्यताअनुसार, घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परीक्षण गर्ने महापर्वको रुपमा लिने गर्दछ । यसमा विश्वास गर्ने (कारनी) हरु वर्षेनि सोनामाई मन्दिरमा ओइरो लाग्ने गर्दछन् ।
कारनी र तिनका आफन्तहरू सोनामाइको प्रभावले तन्त्रमन्त्रको अवसरबाट मुक्ति मिल्ने विश्वासका साथ यहाँ आउने गर्दछ । जहाँबाट निको भएर जाने गर्दछ । नामाइस्थानको ८ वर्ग किमी सीमा क्षेत्रभित्र पाइला टेक्नासाथ कारनीहरू काम सुरु गर्ने मन्दिरका पूजारी केदार झाको दाबी छ । उक्त मेलामा बोक्सी भूतप्रेत नियन्त्रण मेलामा आफ्नो शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजनहरु आउने गरको झा बताउँछन् ।
सोनामाइको मूर्ति राखिएकै मन्दिर परिसरमै पूर्वपट्टि राजदेवी काठको मौलो छ, जहाँ यो अदभूत मेला लाग्ने गर्छ । सोनामाईमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रुपमा मानिन्छ ।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौंदेखि भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका हजारौं पीडित महिला र पुरुष पुग्ने गर्दछन् । यता, सोनामाई मन्दिरमा भक्तजनहरूले भाकलको रुपमा बोका बलि प्रदान समेत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !