स्वतन्त्रता र परिवर्तनको खोजी

जेन–जी आन्दोलन डायरी

स्वतन्त्रता र परिवर्तनको खोजी

काँपेका हातबाट शब्दहरू अर्पण गर्दैछु। लाग्छ– लेखिएको छ, देशको कुनै कालखण्डको यौटा तर सशक्त इतिहास।

शुभेच्छा अर्याल (२०) । जेन–जी आन्दोलनपश्चात् देशले सबैलाई निकै आशावादी बनाएको महसुस गरेकी छु। देशको इतिहासमा कहिल्यै नदेखिएको तीव्रता र गहिराइ लिएर आएको आन्दोलनले मुलुकलाई एकै झट्कामा हल्लाइदिएको आभास भइरहेछ। दशकौंदेखि जरो गाडेर बसेको भ्रष्टाचार, बेथिति र कुशासनको अन्धकारलाई युवा पुस्ताको दह्रो स्वरले चिरिदिँदा आनन्द आएको छ।

बारम्बार पुरानै अनुहारलाई सत्तामा देखिरहनु परेको र युवा पुस्ताको प्रतिनिधित्व गर्न नसकेको, देशमा बढ्दो भ्रष्टाचार र घट्दो विकासक्रमले दिक्क भएर जेन—जीहरू सडकमा आएका थियौं। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र न्याय खोज्ने पुस्ताको अडानले यस्तो आँधी ल्यायो, जसले पुरानो सत्ता २७ घण्टामै ढालिदियो र नयाँ बाटो खोलिदियो।

संविधानका प्रावधानहरूभन्दा पर ‘आवश्यकताको सिद्धान्त’ र विषम परिस्थितिको बलमा अन्तरिम सरकार गठन भयो। यसले केवल शासन परिवर्तन नभई, चेतनाको पुनर्जन्म भएको छ जहाँ नागरिक शक्ति, सत्ताभन्दा ठूलो प्रमाणित भएको छ।

हामीले यस आन्दोलनको फलस्वरूप, न्याय दिलाउन सक्ने क्षमता देखाइसकेकी सुशीला कार्की प्रधानमन्त्री पायौं। इतिहास पल्टाउँदा राणाशासनदेखि विभिन्न व्यवस्था परिवर्तन गर्दै यहाँसम्म आइपुगे पनि योभन्दा ठूलो परिवर्तन माग गरिरहेको क्षेत्र हो– हाम्रो समाज। उसो त समाज आजको भोलि परिवर्तन हुने पनि होइन तर जेन—जी पुस्तालाई समाजले फरक तरिकाले अप्ठ्यारोमा पारिरहेको छ भन्ने कुरा भने नकार्न नसकिने परिस्थिति बनेको छ।

डिजिटल युगमा हुर्केका जेन—जी केवल सुविधा र प्राविधिक सहजतामा मात्र होइन, सामाजिक स्वतन्त्रता, आफ्नो पहिचान र समान अवसरमा पनि केन्द्रित पुस्ता हो। तर यी सबै कुराको अवसर र अधिकार कमैले मात्र अनुभव गर्न पाएका छन्। देशमा विद्यमान जातीय विभेद, पितृसत्तात्मक संरचना, लैंगिक असमानता, सांस्कृतिक तथा पारिवारिक दबाब र सामाजिक मान्यताहरूले गर्दा नयाँ सम्भावनाहरूमा ठूला अवरोध खडा भएका छन्।

तसर्थ, देशमा सरकारमात्र परिवर्तन हुँदैमा युवा देशमै बस्छन् भन्ने कुरामा शंका छ। बिदेसिएको युवाको बाढीलाई सही ढंगले देशमै सञ्चित गर्ने हो भने समाज परिवर्तन धेरै आवश्यक छ। देश संकटमा परेको अवस्थामा एउटा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न देशले पहिलोपटक महिला प्रधानमन्त्री पायो। तर अझै पनि घरका सानादेखि ठूला निर्णायक भूमिकाहरूमा महिलाको सहभागिता कमै देखिन्छ।

पहिलेको तुलनामा परिवर्तन भएको त हो तर अझै पनि महिलाले गरेका प्रशंसनीय काममा ‘उनी पुरुष जस्तै रहिछन्’ भन्ने टिप्पणी गरिन्छ। तर ‘उनी महिला भएर पनि यो गरेकी हुन्’ भन्ने दृष्टिकोण भने कम नै देखिन्छ। यसरी सफलता र आदर्शलाई पुरुषसँग मात्र जोड्ने मानसिकताले महिलाको स्वाभिमान र पहिचानमाथि दबाब बनाइरहेको छ।

अब जेन–जी आन्दोलनले ल्याएको परिवर्तनका सन्दर्भ कोट्याउँदैछु। प्रगतिशील समाजमा हुर्केर आफ्ना लागि बोल्न सिकेका जेन–जी युवती विवाहपश्चात् पितृसत्ताका गुडिया बनेर बस्न पटक्कै चाहँदैनन्। बुहारी उठेर चिया खान दिन्छे भनेर ढुकेर बस्ने समाजले घर सम्हाल्ने, जागिर सम्हाल्ने र बच्चा सम्हाल्ने ट्रिपल बर्डनको कुरा सुन्नै सक्दैन। अझै आफ्नो नयाँ काम गर्छु भन्ने युवतीलाई यो समाजले कहिले न्याय देला भन्न सकिँदैन।

तसर्थ, दोस्रो जवाफ दिनुभन्दा युवती समाज र देश त्याग्न नै सजिलो मान्छन्। माननीय सुशीला कार्कीका श्रीमान्ले अन्तर्वार्तामा सासूससुरा नभएकाले सुशीलाले घरको जिम्मेवारी लिनु परेन भन्ने अभिव्यक्ति निकै खल्लो लाग्यो। सासूससुराकै सहारामा धेरै प्रगति गर्ने नारीहरू पनि छन्। कुनै निश्चित व्यक्तिलाई दोष लगाउन खोजेको चाहिँ होइन तर कति जरो गाडेर बसेको रहेछ पितृसत्ताले ? गम्भीर कुरा पनि कति सजिलै पचाएको रहेछ नेपाली समाजले ?

घरमा आफूभन्दा परिपक्व व्यक्ति हुँदा त झन् सजिलो पो हुनुपर्ने अपेक्षा हुन्छ। त्यो कुरा यो समाजमा कहिले देख्न पाइएला ? पितृसत्ताले महिलालाई मात्र होइन, पुरुषलाई पनि धेरै दुःख दिएको छ। आर्थिक रूपमा सफल बन्नुपर्ने, आफ्नै घरका महिलाका लागि बोल्दा उल्टै दबाबमा पर्नुपर्ने, दुःख पोख्न नहुने, सधैं बलियो, निर्भीक र सफल देखिनुपर्नेजस्ता सामाजिक दबाबले पुरुषहरूलाई मानसिक तनाव, आत्मविश्वासको कमी गराई आफ्नो पहिचान संकटमा पुर्‍याइरहेको छ।

जेन—जी आन्दोलन केवल शासन परिवर्तनको कथा होइन, यो समाजको चेतनामा उठेको नयाँ कदम हो। यही नै नयाँ नेपालतर्फको सबैभन्दा ठूलो आशा हो।

समाजमा विद्यमान जातीय भेदभावको त के कुरा गर्नु ! अझै पनि जातकै आधारमा कोठाभाडा नदिने समाचार सुन्नमा आउँछ। फरक जातीय पृष्ठभूमिका प्रेमसम्बन्ध भएकै कारण यो समाजसँगबाट अलग्गिएका युवा पुस्ता हाम्रै घर समाज वरपर छन्। युवाले इच्छाएको विषय रोजेर अध्ययन गर्न खोज्दा पनि समाजलाई प्रत्येक पाइलामा जवाफ दिनुपर्ने बाध्यता छ।

पढाइलाई अध्ययन वा ज्ञानको साधनभन्दा पनि सामाजिक प्रतिष्ठासँग तुलना गर्ने प्रवृत्ति बढ्दै गएको छ। युवाहरू आज रोजगारीको अभावका कारण गम्भीर चुनौतीको सामना गरिरहेका छन्। सरकारी क्षेत्रले स्थायी रोजगारको सुनिश्चितता दिन सक्ने क्षमता सीमित छ। केवल लोकसेवा आयोगमार्फत सबै युवालाई समेट्न पर्याप्त हुुँदैन र सबै युवाको इच्छा पनि हुँदैन।

नेपालमा निजी क्षेत्र, उद्यम विकास, कृषि, तथा अन्य सीपमा आधारित गतिविधिहरू र सिर्जनात्मक गतिविधिहरू प्रवद्र्धन गर्न सकिन्छ, तर यसलाई पर्याप्त प्राथमिकता दिइँदैन। उद्यम खोल्छु वा कृषि गर्छु भन्ने युवालाई सधैं कि सरकारी जागिर खानुपर्ने कि खाडी मुलुक जानुपर्ने दबाब दिइन्छ जसकारण युवाहरू निजी क्षेत्र वा नयाँ व्यवसाय सुरु गर्न सकिरहेका छैनन्। यत्रो सम्भावना बोकेको देशमा अझै पनि यस्तो संकुचित मानसिकता रहनु दुःखदायक यथार्थ हो। यसले युवाहरूको सिर्जनशीलता र सम्भावनालाई कुण्ठित बनाइरहेको छ। 

यी सबै उदाहरण अन्ततः रोजाइसँग सम्बन्धित छन्। कसले कस्तो विषय पढ्ने, कहाँ बस्ने, उद्यम गर्ने वा विदेश जाने, कसरी पैसा कमाउने, विवाह गर्ने वा नगर्ने, बच्चा जन्माउने वा नजन्माउने, कस्तो जीवनशैली अपनाउने ? यी सबै कुरा व्यक्तिगत स्वतन्त्रता हुन्। तर विडम्बना, बिस्तारै नैतिकता हराउँदै गएको समाजले त कोही व्यक्ति आफ्नो लैंगिक पहिचान खुलाएर समुदायमा पर्छु वा कोही व्यक्ति अन्तरजातीय विवाह गर्छु भन्दा पनि उल्टै आफ्नै नैतिकतामा प्रश्न गर्दछ।

गाउँ फर्केर आफ्नो काम गर्न चाहनेलाई कायरको उपनाम दिइन्छ। आफ्नो निर्णय आफंै लिन सक्ने महिलालाई विवाहपश्चात् अनुमति लिने भन्ने सोचमा बाँधिन्छ जुन शब्द नै सबैभन्दा घृणित बन्देज हो। यो समाजले युवालाई आफ्नो–आफ्नो पहिचानको क्षितिजमा पुग्न दिन नै सकेन। जनताले आफ्नो आवाज र आवश्यकता नीति निर्माण तहमा पुर्‍याउने जिम्मेवारीसहित प्रतिनिधि चयन गर्छन्।

प्रतिनिधिको दायित्व समुदायका निर्णयलाई सदनमा पुर्‍याउनु हो। तर यो अपेक्षा र व्यवहार बीचको दूरी नै हाम्रो व्यवस्थाको मुख्य चुनौती बनेको छ। भ्रष्टाचार, नातावाद, कृपावाद, कुशासन अपराध नै हुन्। सत्ताधारीले देशको लागि कर्म नगर्नु अधर्म हो। र बिस्तारै हाम्रो समाज पनि त्यति नै घिनलाग्दो हुँदैछ।

जेन—जी पुस्ताले राजनीतिक विषयलाई लिएर सरकार र आफ्नै परिवारप्रति पनि खबरदारी गरेका थिए। अब सामाजिक पक्षलाई पनि प्रश्न उठाउने बेला आएको छ। यो स्वतन्त्रताको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। आमा–बा, नातावादभन्दा पनि सही र गलतको निर्णय लिन सिकौं। र अघिल्ला पुस्ताले रोजाइको कदर गर्न सिकौं। परिवर्तन आफैंमा छ।

अन्ततः, जेन—जी आन्दोलन केवल शासन परिवर्तनको कथा होइन, यो समाजको चेतनामा उठेको नयाँ कदम हो। थोरैबेरका लागि परिस्थिति कठोर भए पनि असारे बादलले आकाश ढाक्छ, तर घामलाई सधैं रोक्न सक्दैन। त्यसैगरी, सत्य र न्यायको प्रकाशलाई कुनै शक्ति, कुनै संरचनाले स्थायी रूपमा ढाक्न सक्दैन। यही नै नयाँ नेपालतर्फको सबैभन्दा ठूलो आशा हो।

अर्याल, सोसल मिडियामा कन्टेन्ट क्रिएसन गर्छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.