देशले नयाँ गति लिओस्, बडादसैंको शुभकामना !

देशले नयाँ गति लिओस्, बडादसैंको शुभकामना !
सुन्नुहोस्

यस वर्षको दसैं नेपाली जनताका लागि केवल धार्मिक र सांस्कृतिक पर्व मात्र बनेको छैन, नयाँ राजनीतिक यात्राको सुरुवातको साक्षी पनि बनेको छ। असत्यमाथि सत्यको विजयोत्सवमा नेपालीले धुमधामसहित दसैं मनाइरहेका छन्। यसकै मुखमै जेन–जी आन्दोलनको सफलतापछि मुलुकले नयाँ सरकार पाएको छ।

आन्दोलनले पुराना सत्ता संरचनालाई चुनौती दिँदै नयाँ पुस्ताले राजनीति गर्न सक्ने र सुशासनको विकल्प सम्भव छ भन्ने सन्देश दिएको छ। बडादसैं सदैव नेपाली समाजमा नयाँ आशा, खुसी र एकताको प्रतीक मानिन्छ। यही पर्वसँगै आएको राजनीतिक परिवर्तनले जनतालाई भविष्यप्रति थप उत्साहित बनाएको छ। जेन–जी आन्दोलनका मागहरू भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, उत्तरदायित्व र सुशासन—जनताको गहिरो अपेक्षासँग जोडिएका छन्। यसलाई सार्थक रूपमा सम्बोधन गर्नु नयाँ सरकारको पहिलो र अनिवार्य 
जिम्मेवारी हो।

केवल नयाँ अनुहार ल्याएर जनताको मन जित्न खोज्नु पर्याप्त हुँदैन, जनताले परिवर्तनको प्रत्यक्ष अनुभव गर्न चाहन्छन्। नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पारदर्शिता र तीव्रता देखिनु जरुरी छ। नयाँ बनेको सरकारका लागि यो दसैं अवसर र चुनौती दुवै हो। अवसर यस अर्थमा कि जनताले असामान्य विश्वास र समर्थन दिएका छन्, चुनौती यसकारण कि यही विश्वासलाई कर्ममार्फत प्रमाणित गर्नुपर्नेछ। निर्वाचन समयमै सम्पन्न गर्ने, आर्थिक पुनर्निर्माणको बाटो खोल्ने, युवालाई रोजगारी सिर्जना गर्ने, सेवा वितरणमा सुधार ल्याउने जस्ता काम अब ढिलो गर्न पाइने छैन। जेन–जी आन्दोलनले युवाको साहस र जनशक्तिको शक्ति देखाइसकेको छ, त्यसैले असफलतामा जनताको निराशा झन् गहिरो हुन सक्छ। अहिलेकै सरकारका लागि तिनै जेन–जी पुस्ता प्रत्युत्पादक नहोलान्भन्न सकिने अवस्था छैन।

पुराना दलहरूको असफलताबाट थाकेका नागरिकले यो सरकारबाट स्पष्ट कार्ययोजना, समयमै निर्वाचन र भ्रष्टाचारमुक्त प्रशासनको अपेक्षा गरेका छन्। यदि नयाँ सरकारले यी अपेक्षा पूरा गर्न सके, दसैंको उत्सवले साँचो अर्थमा नयाँ सुरुवातको प्रतीक बन्नेछ। दसैंलाई उत्सवमय बनाउन सरकारले सुरक्षा, यातायातको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ। राजमार्गहरू निरन्तर सञ्चालन गराउने कार्यमा चुक्नुहुँदैन। देश–विदेशबाट आशीर्वाद थाप्न गाउँघर फर्किएका नेपालीले असहजता खेप्नु निराशा हो। त्यसको समाधान हुनुपर्छ। यो दसैंले प्रत्येक नेपालीको जीवनमा खुसी, शान्ति र समृद्धि ल्याओस् र नयाँ राजनीतिक यात्राले मुलुकलाई स्थायी सुशासन तथा विकासको बाटोमा अगाडि बढाओस्। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई बडादसैंको शुभकामना !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.