शक्तिपीठहरूमा खोईछ भर्नेको भीड
महोत्तरी : मिथिलाञ्चलका विभिन्न देवी भगवतीको शक्तिपीठहरुमा सोमबारदेखि खोईछ भर्ने (एक विशेष प्रकारका विधी सहितको पूजा) सुरु भएको छ । दशैंको सप्तमी तिथिका दिन मधेशका विभिन्न दैवी शक्तिपीठ एवम देवी नवदुर्गाको प्रतिमा सम्मुख विवाहित महिलाहरूले खोईछ भरेका हुन् ।
यहाँका प्रसिद्ध बर्दिवासको माईस्थान, औरहीको सोनामाई, जलेश्वरको त्रिशुलीमाई, बलवाको परौलस्थानका शक्तिपीठसाथै ग्रामिण भेगमा निर्मित नवदुर्गा भवानीको मूर्तिको सम्मुख उनीहरूले यसरी खोईछ भरेका हुन् ।
दशैंको सातौं दिन अर्थात सप्तमी तिथीका शुभ घडीबाट सुरु भएको खोईछ भर्ने कार्य अष्ठमी तिथीसम्म जारी रहने छ । खासगरी महिलाहरूले देवी दुर्गासमक्ष विभिन्न प्रकारका श्रृगांरका समान, फलफूल, नौवैद्य, चुनरी लगायतका पूजासामग्रीहरु अर्पण गरि खोईछ भरेका हुन् ।
मिथिलान्चलमा नवविवाहिता महिलालाई माईतीबाट बिदाई गर्ने क्रममा आफ्नो कूलदेवता लगायत सम्पूर्ण परिवारको आशिर्वाद स्वरुप खोईछ दिइने परम्परा रहेको छ । सोही अनुसार नै माता दूर्गा भवानीलाई पनि आज भाकल पूरा भएका विवाहित महिलाहरुले खोईछ भरी माताको कृपा माया दृष्टि आफ्नो सम्पूर्ण परिवारमाथि रहिरहोस भन्ने कामना स्वरुप खोईछ भर्ने परम्परा रहेको खोईछ भर्नका लागि आउने गर्छन् ।
यस पटकको खोईछ भर्ने कार्य बडादशैंको सप्तमी तिथिदेखि अष्ठमी तिथिसम्म जारी रहनेछ ।
प्रतिक्रिया दिनुहोस !