मध्यरातमा भेटिइन् एक वर्षको अबोध बालिका, कसले छोड्यो ?

मध्यरातमा भेटिइन् एक वर्षको अबोध बालिका, कसले छोड्यो ?
सुन्नुहोस्

सिमराः दशैंको टीकाको दिन, बिहीबार राति करिब ११ बजे जितपुरसिमरा उपमहानगरपालिका-७ मगर टोलमा एक अबोध बालिका बेवारिस अवस्थामा फेला परेकी छिन्।  करिब एक वर्षको उमेरकी देखिने ती बालिकालाई स्थानीयले उद्धार गरेर तत्कालै प्रहरीको समन्वयमा वडासदस्य सीता उप्रेतीको घरमा सुरक्षित राखिएको छ। बालिकाको स्वास्थ्य अवस्था सामान्य छ। 

स्थानीय बासिन्दाले राति बस्तीको बीचमा बालिकालाई पुरानो लुगासहितको झोलामा राखिएको अवस्थामा भेटेका थिए।  घटनापछि बालिकाको तत्काल उद्धार भए पनि उनीलाई कसले र किन मध्यरातमा त्यस्तो अवस्थामा छोड्यो भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ।  

बालिका भेटिएको करिब १५ घण्टा बितिसक्दा पनि परिवार वा आफन्त सम्पर्कमा नआएको कारणले आशंका गहिरिएको छ।  कतिपयले नियतवश छोडिएको हुनसक्ने तर्क गरेका छन्। मानव अधिकार एलायन्स बाराकी अध्यक्ष रिना बजगाईंले घटनाप्रति गम्भीर ध्यान जानुपर्ने भन्दै यसलाई अपराधको संज्ञा दिएकी छिन्।  ‘अबोध बालिकालाई जसले छोडेको भए पनि यो गम्भीर अपराध भन्दा कम छैन।  दोषी जो सुकै होस कानुनी दायरमा ल्याउनुपर्छ’ उनले भनिन् ‘बालिकालाई छोडेर अलपत्र पार्ने अभिभावक नै भएपनि उ दोषी हो। ’

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीका अनुसार बालिकाको उद्धार भएपछि प्रहरीले तत्कालै अनुसन्धान सुरु गरेको छ।  ‘रातिदेखि नै हामीले बालिकालाई कसले त्यहाँ छोड्यो भन्ने विषयमा खोजी गरिरहेका छौं’ उनले भने ‘बारा र पर्सा जिल्लामा बालबालिका हराएको उजुरी दर्ता भएको छ वा छैन भन्नेबारे पनि जानकारी लिइरहेका छौं। ’ 

घटनास्थल वरपर सीसीटीभी क्यामरा नभएकाले त्यहाँसम्म पुग्ने सम्भावित बाटोमा रहेका क्यामराको फुटेज संकलन गर्ने काम भइरहेको जोशीको भनाइ छ।  जोशीले बालिका हाल प्रहरीको समन्वयमा जनप्रतिनिधिको संरक्षणमा रहेको बताए। अहिलेसम्म आफन्त भएको दाबी गर्ने कोही नआएका कारण उनको परिचय खुल्न सकेको छैन।  सामाजिक सञ्जालमा बालिकाको फोटो र विवरण साझा गरेर प्रहरी र सरोकारवालाहरूले परिवारजन पहिचान गर्न मद्दत पुर्याईदिन आग्रह गरिरहेका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.