आर्थिक उपार्जनको मौका भनेर फाइदा उठाउनेहरूलाई निगरानी गर्नू : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सबै सरोकारवालाबीचको सहकार्यलाई वृद्धि गर्नुपर्ने बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विपद् व्यवस्थापनका लागि सरकार र नागरिकका साथसाथै सामुदायिक एवं व्यवसायिक संस्थाहरूबीच समझदारी विकास हुनुपर्ने बताए।
मन्त्री अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको स्पिरिटअनुसार काम हुनुपर्ने उल्लेख गर्दै विपद् जोखिम व्यवस्थापनमा गरिएको निर्देशनको पूर्ण पालना हुनुपर्ने बताए। शुक्रबारदेखि भइरहेको भारी वर्षाका कारण हालसम्म मानवीय क्षति नभएको र त्यस्तो क्षति शून्य नै होस् भन्ने हिसाबले सरकारले काम गरिरहेको बताउँदै उनले त्यसमा कमी कमजोरी नहोस् भन्ने ढंगले निर्देशन गरिएको पनि बताए।
गृहमन्त्री अर्यालले विपद्का बेला आर्थिक उपार्जनको मौका हो भनेर फाइदा उठाउने तत्वहरुलाई कडा रूपमा निगरानी गर्न मातहतका संयन्त्रलाई निर्देशन दिए। सुशासनको विषयवस्तु विपद्का बेला अझ महत्वपूर्ण हुने मन्त्री अर्यालको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !