मनसुनले निम्त्याएको विपद्

मनसुनले निम्त्याएको विपद्
सुन्नुहोस्

देशको मुख्य पर्व दसैंको बेला देशैभरि भारी वर्षा हुँदा जनजीवन कष्टकर भयो। शुक्रबारदेखि देशभर परेको पानीकै कारण पहिरोमा पुरिएर, बाढीले बगाएर आइतबारसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गयो। सबैभन्दा धेरै परेमध्ये इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ। देशभरका राजमार्गहरू बन्द भए।

दसौं करोड खर्चेर बनाइएका बीपी राजमार्गका डाइभर्सन फेरि बगे। देशका मुख्य राजमार्गहरूमा पहिरोको जोखिम बढेपछि सरकारले आवागमन नै रोक्नुपर्‍यो। आइतबार र सोमबार सार्वजनिक बिदासमेत दियो। राजमार्गमा आवागमन रोक्नु र बिदा दिनु जोखिमबाट बचाउने एउटा उपाय हो। यसअघि मात्रै काठमाडौं भित्रिने धादिङको झ्याप्ले खोलामा ३ वटा यात्रुबहाक बस पहिरोमा पुरिँदा ३० जनाभन्दा बढीले ज्यान गुमाएका थिए। राजमार्गहरूमा गाडी नरोकिएका भए यसपाली त्यस बेलाको भन्दा बढी क्षति हुन सक्थ्यो।

समयमै सतर्कता अपनाउँदा केही न केही जोखिम कम भएको छ। यसका लागि सरकार र मौसम विभाग धन्यवादका पात्र छन्। विभागले यसपाली जुन ढंगले मौसमको पूर्वानुमान गरेर बेलामा सूचना दियो, त्यसबाट धेरै धनजनको क्षति हुन रोकिएको पक्कै हो। जबकि, जति क्षति र नोक्सानी भएको छ, त्यो पनि दु: खद् भने हुँदै हो। मनसुनी प्रणाली अब नेपालबाट बाहिरिएको छ। यसको मतलब अब भने पानी पर्दैन भन्ने हो। भत्किएका सडक भने छँदैछन्, तिनमा गरिने यात्रा भने अझै कष्टकर नै हुनेछ। सरकारले जोखिम कम गराउँदै सवारीसाधनको आवागमनलाई खुला गरेको छ।

तर, अझै सकर्त हुन भने पर्छ नै। पानी परेपछि पनि जब घाम लाग्छ, तब पहिरो जाने गर्छ। त्यसैले पानी नपर्दैमा जोखिम हुँदैन भन्न सकिन्न। पहिरो जहाँ पनि जान सक्छ। यसपालीको भारी वर्षाले पनि उसैगरी धेरै पाठ पढाएरै गएको छ। जताततै बाटोघाटो बनाउने गर्दा पहाडका भित्ताहरू खसेका छन्, तिनैले पहिरो चलाएर मृत्यु निम्त्याए।

काठमाडौं उपत्यकामा जुन डुबान भयो, त्यो अव्यवस्थित बसोबासको परिणाम हो। काठमाडौंको अव्यवस्थित सहरीकरणले परम्परागत पानी व्यवस्थापन प्रणालीलाई पूर्णरूपमा ध्वस्त पारेको छ। कुलो, पोखरी र खोल्साहरूलाई हामीले सडक र घरमा परिणत गरेका छौं। जग्गा प्लटिङ गर्दा दुई–तीन फिटको ह्युम पाइप राखेर पानीको समस्या समाधान हुन्छ भन्ने भ्रम पालेका छौं। व्यापक सिमेन्टको प्रयोगले जमिनले पानी सोस्ने प्रक्रिया घटेको छ।

अव्यवस्थित बसोबास, जथाभाबी तयार पारिएका संरचना र पानी बग्ने ठाउँको अवरोध जस्ता कारणले डुबान भएको हो। हामीले पानी बग्ने नदी मिचेर नालामा परिणत गरेका छौं। र, कतिपय ठाउँमा त्यही नाला पनि मिचेका छौं। पानीले आफ्नो बाटो खोज्छ, जब निकास पाउँदैन अनि ठेलिन्छ र डुबान हुन्छ। यत्ति बुझेर सहरलाई व्यवस्थित बनाउन लागेनौं भने भोलिका दिनमा झन् ठूलो जोखिम पक्कै बेहोर्नुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.