क्वान्टम मेकानिकल टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
काठमाडौं : जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार पाउने भएका छन्।
क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा आफ्नो अनुसन्धान गरेका हुन् भने मार्टिनिसले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा र डेभरेटले येल विश्वविद्यालय र सान्ता बार्बरामा काम गरेका हुन्।
नोबेल समितिका अनुसार तीनै वैज्ञानिकको अनुसन्धानले ‘क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरहरूजस्ता क्वान्टम प्रविधिको अर्को पुस्ता’ विकास गर्न महत्त्वपूर्ण आधार तयार गरेको छ। नोबेल कमिटी फर फिजिक्सका अध्यक्ष ओले एरिक्सनले भने, 'शताब्दी पुरानो क्वान्टम मेकानिक्सले निरन्तर नयाँ चमत्कारहरू प्रदान गर्दै आएको छ। यो सबै डिजिटल प्रविधिको आधार भएकाले यसको योगदान असाधारण रूपमा उपयोगी छ।'
यो भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको ११९औँ पटक हो। गत वर्ष कृत्रिम बुद्धिमत्ताका अग्रणी जोन हपफिल्ड र जेफ्री हिन्टनले मेसिन लर्निङका आधारभूत संरचनामा योगदानका लागि फिजिक्स पुरस्कार प्राप्त रेका थिए।
प्रतिक्रिया दिनुहोस !