नक्कली मानसिक समस्या
मानसिक समस्या २१औं शताब्दीको एक गम्भीर र चुनौतीपूर्ण स्वास्थ्य समस्या हो। सन् २०१८ को तथ्यांकअनुसार विश्वका करिब ९७ करोड मानिस (अहिले एक अर्ब बढी) मानसिक समस्याबाट पीडित छन्। पुरुषको तुलनामा महिलामा मानसिक समस्या बढी छ। विश्व जनसंख्याको करिब ११.९ प्रतिशत महिला तथा ९.३ प्रतिशत पुरुष मानसिक समस्याहरूको चपेटामा छन्। मानसिक समस्यामा परेका सिर्फ ५० प्रतिशत मानिसमात्र मानसिक स्वास्थ्यको पहुँचमा छन्।
तर नेपालजस्ता अविकसित देशहरूमा त मानसिक स्वास्थ्य सेवाको पहुँच निकै कम छ। स्वास्थ्य क्षेत्रले जति नै प्रगति गरे पनि मानसिक स्वास्थ्यको सम्बन्धमा विश्वभरि नै अहिले पनि गलत धारणा कायमै छ। प्रायः व्यक्तिले आफू मानसिक समस्यामा परेको स्वीकार्दैनन्। मानसिक समस्याको औषधि खाइरहेको अवस्थामा पनि आफू मानसिक समस्यामा परेको व्यक्ति हो भन्न हिच्किचाउँछन्।
कसैले मैले डिप्रेसनको औषधि खाँदैछु भनेको वा सिजोफ्रेनिया भएर म अहिले अस्पतालमा भर्ना भएको छु भन्दैनन्। मानसिक समस्याको सन्दर्भमा नेपाली समाज झनै अन्धविश्वासमा जकडिएको छ। अहिले पनि अधिकांश नेपालीले मानसिक समस्या हुँदा भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहहरूका कारणले पैदा भएको मान्छन्। देवीदेवताको अभिशाप ठान्छन्। नेपाली समाजमा मानसिक समस्याहरू लुकाउने–छुपाउने प्रवृत्ति विद्यमान छ। शिक्षित पनि यस्ता समस्या भरसक लुकाउने र रोगले निकै च्याप्यो भने उपचारका लागि धामीझाँक्रीको शरण पुग्ने प्रचलन छ। मानसिक समस्याको सम्बन्धमा समाज विद्यमान यो एउटा पक्ष हो।
समाजमा कतिपय व्यक्ति यस्ता हुन्छन्, जसले आफूमा कुनै मानसिक स्वास्थ्य समस्या नभए पनि मानसिक समस्या भएको ढोंग गर्छन् र मानसिक समस्या परेका व्यक्तिले झैं व्यवहार गर्न थाल्छन्। जसले जानाजान अनेक ढोंग गरेर रोगको लक्षणहरू सिर्जना गर्ने तथा समस्यालाई बढाइचढाइ गर्छन्। नक्कली लक्षणहरू प्रदर्शन गर्छन्। लक्षणहरू देखाउन आफैंलाई चोट पुर्याउन सक्छन्। आफूलाई बिरामी भएको देखाउन परीक्षणहरू जस्तै पिसाबको नमुना दूषित गर्न सक्छन्। प्रायः व्यक्तिले सहानुभूति र माया पाउन तथा आफन्तको ध्यान खिच्न यस किसिमको ढोंग गर्ने गर्छन्। सजाय र जिम्मेवारीबाट भाग्न पनि यस किसिमको नाटक गर्छन्।
फौजदारी सजाय वा सैन्य कर्तव्यबाट बच्न, आर्थिक लाभ प्राप्त गर्न, विपन्न तथा कामचोर व्यक्तिले पेट पाल्न तथा विशेषगरी कैदीहरूको सम्बन्धमा स्थानान्तरण, औषधि, क्षतिपूर्ति, ध्यान वा मनोरञ्जन आदि कारणले कैदीहरूले मानसिक समस्याको नक्कल गर्न सक्छन्।
स्कुल तथा कलेज जान नचाहने वा गृहकार्य नगर्ने कतिपय विद्यार्थीले पनि यस किसिमको नक्कली मानसिक समस्याको ढोंग गर्न सक्छन्। तर यस किसिमको लक्षण स्कुल पोबियामा पनि देखिन सक्छ। स्कुल पोबिया चाहिँ वास्तविक मनोव्यावहारिक समस्या हो। यस मनौवैज्ञानिक समस्याबाट विश्वका ३ देखि ५ प्रतिशत विद्यार्थी पीडित छन्। नक्कली मानसिक समस्याको इतिहास हेर्ने हो भने पहिलो पटक सन् १९०० तिर सैन्य सेवाबाट बच्न कतिपय सैनिकले यस किसिमका लक्षण देखाएपछि यो नक्कली मानसिक समस्या प्रकाशमा आएको हो।
उल्लेखनीय कुरा के भने व्यक्तित्व विकार तथा फैक्टिसस डिसअर्डरमा पनि यस किसिमको लक्षणहरू देखिन गर्छन्। तर व्यक्तित्व विकार तथा फैक्टिसस डिसअर्डर गम्भीर भावनात्मक कठिनाइहरूसँग सम्बन्धित छन् भने मलिंगेरिङ (रोगको बहाना) भावनात्मक कठिनाइहरूसँग सम्बन्धित हुँदैन।
वस्तुतः यो चेतन मनको खेल हो। तर यस किसिमको नक्कली मानसिक समस्या (मलिंगेरिङ) ले घरपरिवार, समाज तथा चिकित्सकलाई समेत हैरान बनाउन सक्छ। त्यो किनभने सुतेको व्यक्तिलाई त उठाउन सकिन्छ, तर सुतेको स्वाङ पार्ने व्यक्तिलाई उठाउन गाह्रो हुन्छ। यद्यपि केही कुरामा ध्यान दिने हो भने मानसिक समस्याको बहाना गर्ने बिरामीहरू र वास्तविक मानसिक समस्या भएका बिरामीहरूलाई छुटाउन सकिन्छ। तर नक्कली मानसिक समस्याको सम्बन्धमा सामान्य मान्यताहरू जस्तै आँखामा नगर्ने, कम मुस्कुराउने र बोली लर्बराउने आदि जस्ता मापदण्डलाई बिरामी झुट बोलेको छ कि छैन भनेर निर्धारण गर्न प्रयोग गर्नु हुँदैन किनकि यी मापदण्डहरूले मात्र नक्कली मानसिक समस्या छुट्ट्याउन सकिँदैन।
यसैगरी, सिजोफ्रेनिया भएका वास्तविक, शंकास्पद बिरामी र नक्कली मानसिक समस्याका व्यक्तिमा देखिने भ्रम छुट्ट्याउन गाह्रो हुन सक्छ। किनकि सिजोफ्रेनियाका लगभग ६५ प्रतिशत बिरामीहरूमा श्रवण भ्रम र ३५ प्रतिशत बिरामीमा दृश्य भ्रम हुने गर्छ।
साइकोटिक भ्रम भएका बिरामीहरूले क्रोधित छिमेकीहरूको आवाज वा धेरै नकारात्मक सन्दर्भका सन्देशहरू सुन्न सक्छन् जस्तै, तपाईं राम्रो हुनुहुन्न। तर नक्कली मानसिक समस्या देखाएका व्यक्तिमा यस्तो देखिँदैन। साधारणत नक्कली मानसिक समस्याको शंका लागेमा अनेक मेडिकल टेस्टहरू जस्तै सीबीसी, लिभर फंक्सन टेस्ट, रेनल फंक्सन टेस्ट, ब्लड अल्कोहल लेभल टेस्टदेखि लिएर एमआरआई तथा मनोवैज्ञानिक टेस्टहरू जस्तै एमएमपीआई, द एफ स्कल, मलिंगरिगं टेस्ट तथा सीडीआई आदि गर्न आवश्यक हुन्छ। यी टेस्टबाट व्यक्तिले देखाएका लक्षण कुनै शारीरिक रोगहरूका लक्षण हो कि होइन, मानसिक समस्याहरू जस्तै कन्भर्जन डिसअर्डर, फैक्टिसस डिसअर्डर, हाइपोकोन्ड्रियासिस, सोमाटिक डिसअर्डर, सिजोफ्रेनिया, मुड डिसअर्डर तथा डिसोसिएटिभ डिसअर्डर हो कि होइन भन्ने जानकारी प्राप्त गर्न सकिन्छ।
नक्कली मानसिक समस्याको कुनै विशेष उपचार छैन। यो समस्या कुनै औषधि खाएर पनि ठीक हुँदैन। नक्कली मानसिक समस्याको ढोंग गर्ने व्यक्तिले उपचारको क्रममा उपचारप्रति खासै चासो पनि राख्दैनन् र आफूले चाहेको लाभ प्राप्त गरेपछि मात्र मानसिक समस्याको बारेमा गुनासो गर्न छोड्छन्। कतिपयले भने परिवार तथा समाजलाई नै सताई राख्छन्। यस्तो अवस्थामा मनोचिकित्सकले व्यवहार थेरापी, मनोचिकित्सा तथा परामर्शद्वारा नक्कली मानसिक समस्याका व्यक्तिको उपचार गर्नुपर्छ।
मनोचिकित्सक तथा परिवारका सदस्यले उपचारमार्फत नक्कली मानसिक समस्याका व्यक्तिलाई उसको इज्जत बचाउने मौका दिनुपर्छ। यदि नक्कली मानसिक समस्याको ढोंग गर्ने व्यक्तिको खुलेयाम पोल खोलियो भने व्यक्तिमा साँच्चै डिप्रेसनलगायतका मानसिक समस्या देखिन सक्छ। परिवार तथा समाजमा कलह र हिंसाको घटना पनि घट्न सक्छ। त्यसैले आवश्यक परे, मनोचिकित्सकको सहयोग लिऔं। तर, कतिपय नाटक जस्तो लाग्ने मानसिक समस्या नाटक नभएर वास्तविक नै हुन सक्छ भन्ने पनि बुझौं।
बानियाँ, साइकोथेरापिस्ट हुन्।
प्रतिक्रिया दिनुहोस !