पटाकासहित कार बरामद
वीरगन्ज : वीरगन्ज भन्सार गेटबाट सशस्त्र प्रहरीले पटाकासहितको एउटा कार बरामद गरेको छ।
भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको बा१२च ३१०३ नम्बरको कारबाट ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका बरामद भएपछि सशस्त्र प्रहरीले उक्त कार पनि नियन्त्रणमा लिएको हो।
भन्सार गेट अगाडिको सडकमा नियमित चेकजाँच खटिएको सशस्त्र प्रहरीले उक्त कार रोकेर चेकजाँच गर्न खोज्दा कारका चालक कार छाडेर फरार भएका थिए। त्यसपछि सशस्त्र प्रहरीले उक्त कारभित्र खानतलासी गर्दा विभिन्न ब्राण्डका ९ कार्टुन पटाका फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। बरामद पटाका शुक्रबार नै खाल्डोको पानीमा डुबाएर नष्ट गरिएको उनले बताए।
पटाका बरामद गरिएको कारको भने १८ लाख रुपैयाँ मूल्यांकन गरेर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !