बाँसको छिटी बनाएरै मनग्य आम्दानी
मलंगवा : छठ पर्व नजिकिएसँगै सर्लाहीको कौडेना गाउँपालिका–६, सक्रौलका ६५ वर्षीय जगदेव मुखिया बिनलाई बाँसको छिटी बनाउन भ्याइनभ्याई छ। बिहानदेखि बेलुकासम्म बिनलाई छिटी बनाउनबाट फुर्सद छैन। बिन सपरिवारसहित अहिले छिटी बनाउनमा व्यस्त छन्। छठ पर्वका सामग्रीहरू घरबाट बोकेर छठी घाटसम्म लैजानका लागि बाँसको छिटीको प्रयोग हुने गरेकाले बजारमा छिटीको माग बढ्दो छ।
छठ पर्वको समयमा छिटीको माग भएकाले अरू काम छोडेर छिटी बनाउन लागिएको बिनले बताएका छन्। खेतीपातीको समय अहिले छैन। फुर्सदको समयलाई सदुपयोग गर्नका लगि पनि छिटी बनाउन लागिएको बिनले बताएका छन्। भदौ महिनादेखि नै छिटी बनाउन थालेको बिनले बताए। दुई महिनामा २ सय भन्दा बढी छिटी बनाएको छु। अझै बनाउने क्रम जारी नै छ। आफू र छोरा मिलेर छठसम्म एक हजार बनाउँछौं । घरमै आएर व्यापारीहरूले किनेर लाने हुँदा बजारमा लगेर बेच्नुपर्ने झनझट छैन। अहिले व्यापारीहरू घरमै आएर प्रतिछिटी ३ सय रुपैयाँमा किन्ने गरेका छन्। पर्व नजिक भएपछि ५ सय सम्ममा पनि बिक्री हुने गरेको बिनले बताए। बजारमा आफैं लगेर बेच्दा अलि बढी फाइदा हुन्छ।
एउटा बाँसबाट ४ वटा छिटी निर्माण हुन्छन्। एक दिनमा ४ वटाभन्दा बढी छिटी एकजनाले बनाइन्छ। एउटा बाँस २ सयमा पाइन्छ। गाउँमा किन्दा बढी पैसा पर्ने भएकाले बाँस किनेर ल्याएको छ। अहिले जिल्लाकै उत्तरी क्षेत्र नवलपुरबाट २ सय बाँस किनेर ल्याएको छु। २ महिनामा लागत काटेर २ लाखभन्दा बढी कमाइ हुने बिनले बताए। बाल्यकालमै सीप सिकेकाले पैसा कमाउन अहिले सजिलो भएको छ। खेतीपाती पनि छैन। धानको रोपाइँ तथा गोडमेल पनि भइसकेको छ। घरमा कुनै काम पनि छैन। फुर्सदको समयमा बाँसको छिटी बनाएर राम्रो आम्दानी हुने गरेको बिनले बताए।
छिटी बनाउनेहरू मिलेर गाउँमा ४ ट्र्याक्टर बाँस किनेर ल्याएको सञ्जित मुखिया बिनले बताए। गाउँका ५०÷६० जना छिटी बनाउने पेसामा लागेको सञ्जितले बताए। आफूले पनि अहिलेसम्म डेढ सयभन्दा बढी छिटी बनाएर घरमा राखेको छु। एक्लै भएकाले ५ सयसम्म बनाउने लक्ष्य छ। छिटी बनाएर राम्रो कमाइ हुने गरेको सञ्जितले बताए।
प्रतिक्रिया दिनुहोस !