धोती–साडी : अपहेलित होइन, गर्वको पहिचान

धोती–साडी : अपहेलित होइन, गर्वको पहिचान

जनकपुरधाम : धोती, कुर्ता, पाइजामा महिलाले लगाउने सुल्टो साडी मिथिलाञ्चल र तरार्ई–मधेस क्षेत्रको पहिचानसँग जोडिएको आभूषण (वस्त्र) हो। मुख्यतया मिथिलाको विशिष्ट पहिरन धोती भए पनि यसलाई पछिल्लो समयमा एउटा खास समुदायलाई होच्याउने, गिज्याउने, मजाक उडाउने प्रवृत्तिले प्रयोग गर्ने गरिन्छ।

‘धोती’ शब्दको प्रयोग गरेर मधेसी समुदायलाई अपहेलित महसुस गराउनु दुर्भाग्यपूर्ण हो। मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा.रामभरोष कापडी ‘भ्रमर’ ले जानेर होस् या नजानेर धोतीको महत्व बुझ्दै नबुझी एउटा ठूलै समुदायले पहिरनका रूपमा प्रयोग गर्दै आइरहेको पौराणिक वस्त्रको नाउँमा धोतीलाई गालीका रूपमा प्रयोग गरिनु दुःखद पक्ष भएको बताउँछन्। 

विश्वकै सबैभन्दा प्राचीन वस्त्र हो ‘धोती’। सबैभन्दा लामो र सबैभन्दा पुरानो पौराणिक पोसाकमा यसलाई गणना गर्ने गरिन्छ। संस्कृतको ‘धीत’ शब्दबाट आएको ‘धोती’ नौ गज लामो, अढाई गज चौडा, न सिएको आयातकार कपडाको एउटा टुकडा हो यो। 

यसको पहिरन प्रारम्भ कहिलेदेखि भयो भन्ने निश्चित नभए तापनि देवीदेवता, ऋषिमुनिहरूको पहिरनमा धोती नै देखिएको हुँदा यो वस्त्रको महिमागान हुनुपर्नेमा जातीय विभेदको हिंसाका रूपमा प्रयोग गरिनु मानसिक दरिद्रताको पाराकाष्ठा भएको 
डा.कापडीको बुझाइ छ।

शासक वर्गले राज्यको पहुँच नभएका वर्गको जातजाति, भाषा–भाषीको पहिचानलाई ओझेलमा पारेको साहित्यकार डा.राजेन्द्रप्रसाद विमल बताउँछन्। शासक वर्गको आभूषण, खानपान, भाषा, साहित्यको धेरै चर्चा गरिन्छ। तल्लो वर्गमा आफ्नो परम्परा, खानपान, बाजागाजा, संस्कार–संस्कृति, रहन–सहनको संरक्षण र संवर्धन गर्ने नेतृत्वको अभावले यस्तो बिउ उम्रिने मौका पाएको उनी सुनाउँछन्। उनी भने, ‘तल्लो वर्गले धारण गर्ने संस्कृति, संस्कार, भाषा, साहित्यप्रति हिन्ताबोध गर्ने बिउ रोपियो।’

डा.विमलका अनुसार काठमाडौंंमा मधेसीहरू धोती, कुर्ता, गम्छा लगाएर हिँड्न हिन्ताबोध गरिरहेको अवस्था छ। यस्ता वस्त्र धारण गर्नेहरू आफूलाई जोकर बुझ्न बाध्य छन्। तर, नयाँ युवापुस्ताले आफ्नो पहिचान संरक्षण, प्रचार–प्रसारमा जुट्न अब ढिला गर्न नहुने डा.विमलको भनाइ छ।

धोती, कुर्ता लगाएर गम्छा भिड्दैमा, हामी अशिक्षित र तुच्छ वर्गका होइनौं। ‘ढाकाटोपी लगाउँदैमा राष्ट्रवाद झल्किँदैन’ दोहोरी गीतको भाका नबुझ्दा गँवार भइँदैन। कहिले नदेखेको डाँफे र लालीगुराँस मधेसको पहिचानसँग गाभ्न सकिँदैन। झिझिया नृत्य हाम्रो संस्कृति झल्काउने गरेको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको भनाइ छ। 

मण्डल भन्छन्, ‘मधेसमा रहेको व्यापक सोचाइबाट उत्पादित मधेसीलाई सधैं अपहेलना गरिन्छ। सधैं सुरक्षाकर्मी र प्रशासनबाट भयभित भएर बाँच्न सकिन्न। बुद्ध नेपालमा जन्मेको भनेर चिनाउँछौं। तर, हामीसँग राष्ट्रवाद र देशभिक्रको शंकास्पदकै आधरमा नेपाली नागरिकको प्रमाण खोजिन्छ। यदि यी जम्मैलाई नेपाली पहिचान बनाउने हो भने, हामीले आफ्नो सोचमा परिवर्तन ल्यानुपर्छ।’
राजनीतिज्ञ प्रफल्लराज घिमिरेले संस्कृतिको रक्षा हुने ब्राह्मण एंव हिन्दु धर्मावलम्बीहरूले लगाउँदा संस्कर हुने अनि धोती मधेसी, थारू, जनजाति, आर्य आदिले लगाउँदा होच्याउने मानसिक दरिद्रताको परकाष्ठा भएको टिप्पणी गरे। 

कसैलाई कुनै समुदायलाई लक्षित गरेर होच्याउनुभन्दा पहिले नेपालका विभिन्न भूगोल, क्षेत्रमा जलवायु, धर्म संस्कृति एवं परम्परागत आधारमा लगाइने भिन्नभिन्न प्रकारका पोसाकहरूमध्येको घोती पनि एउटा पवित्र सात्विक सनातन नेपाली पोसाक हो। नेपालमा विशेष गरेर तरार्ई–मधेसमा मैथिली, ब्राह्मण आदिवासी, जनजाति, थारू, मगर तथा मधेसी समुदायले लगाउने प्रमुख वस्त्र नै हो धोती।

मधेसका कुनै पनि मधेसी काठमाडौंंं जाँदा वा सिंहदरबार छिर्दा धोती, कुर्ता गम्छा वा पाइजामा कुर्ताको मुरेठ्ठा बाँधेर पस्दा ‘धोती’ भनेर होच्याइन्छ। यसले गर्दा मधेसमा धोेती, कुर्ता वा पाइजामाको मौलिक पोसाक हीनताबोध गर्नेहरूलाई मनोबल उच्च राख्न संस्कृतिक रूपमा आफ्नो मौलिक पहिचान र पहिरनको प्रदर्शन गरेको अभियानका संयोजक मोहन महतो कोइरीले बताए।

‘छठीघाट, सांस्कृतिक वस्त्रके साथ’
‘अइबेर के छठीघाट, अपन संस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका साथ मधेसका युवा–युवतीहरूले रैथाने वस्त्र लगाउँदै जनकपुरमा प्रदर्शन गरे। छठ पर्वमा विशेष रूपमा संस्कृतिक वस्त्र लगाएर सहभागी हुन उनीहरूले सबैमा अपिल गर्दै छठ घाटमा आफ्नो पारम्परिक वस्त्र लगाएर जान र सभ्यता संस्कृतिलाई जोगाउन अपिल गरेका हुन्। ‘अइबेर के छठीघाट, अपन संस्कृतिक वस्त्रके साथ’ भन्ने नारासहित जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिर परिसरमा सांस्कृति वस्त्र प्रदर्शन गरेका हुन्। 

मधेस र मिथिलाञ्चलको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचार–प्रसारको उद्देश्यले युवाहरूले धोती, कुर्ता तथा साडी पहिरनमा सजिएर वस्त्र पहिचान गराउन जनकपुरको गंगासागर, जानकी मन्दिर तथा मैथिली विकास कोष भेला भएर धोतीकुर्ताको महत्वबारे खुलेर प्रशंसा गरे। पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकका रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा पुरुषले धोतीकुर्ता तथा सुल्टो साडी लगाएर निस्किएको हो।

पुरुषले लगाउने धोती, कुर्ता, गम्छा र महिलाले लगाउने नारीको साडी संरक्षण र संवर्धनका लागि अभियान सकारात्मक भएको अभियानमा सहभागी भएका मैथिलीका गायक सञ्जय कुशवाहाको भनाइ छ। उनले भने, ‘पश्चिमा सभ्यताले हाम्रो सभ्यतालाई मास्दै छ, पश्चिमा सभ्यता हामीप्रति हाबी हुँदैछ। त्यसैले आफ्नो सभ्यता र संस्कृतिलाई बचाउन भए पनि हामीले हाम्रो पहिचान जोगाउन आवश्यक छ।’null

मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरूरले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरूले यो जुलुस निकालेको जुलुसमै सहभागी गौशाला नगरपालिका रजखोरकी विनिताकुमारी महतोले बताइन्। ‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ अभियानी विनिताले छ वर्षदेखि चलाउँदै आइरहेको बताइन्। उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोतीकुर्ता लगाएरै छठको घाटमा पुग्न अपिलसमेत गरे। उनले भनिन, ‘युवतीहरूमा साडीप्रति आकर्षण रहे पनि साडी लगाउने तरिकामा आधुनिकताले छोइरहेको छ। युवतीहरू म विशेष आग्रह गर्छु की सुल्टो साडी लगाउनुस्। अर्थात् नारीको शोभा साडी, साडीको शोभा सिधा पल्ला हो।’

‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका साथ मधेसका युवा–युवतीहरूले रैथाने वस्त्रको प्रदर्शन गरेका छन्। छठ पर्वमा विशेष रूपमा संस्कृतिक वस्त्र लगाएर सहभागी हुन उनीहरूले सबैमा अपिल गर्दै छठ घाटमा आफ्नो पारम्परिर वस्त्र लगाएर जान र सभ्यता संस्कृतिलाई जोगाउन अपिल गरेका हुन्। ‘अइबेर के छठीघाट, अपन संस्कृतिक वस्त्रके साथ’ भन्ने नारा सार्वजनिक गरि जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिर परिसरमा संस्कृति वस्त्र प्रदर्शन गरेका हुन्।

मधेस र मिथिलाञ्चलको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचार–प्रसारको उद्देश्यले मधेसका युवाहरूले धोतीकुर्ता तथा साडी पहिरनमा सजिएर वस्त्र पहिचान गराउन जनकपुरमा निस्कएका हुन्। पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकका रूपमा रहेको धोतीकुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा पुरुषले धोर्तीकुर्ता तथा नारीले सुल्टो साडी लगाएर निस्किएको अभियानीहरूको भनाइ थियो। 

अभियानको मुख्य नेतृत्वकर्ता मोहन महतो कोइरीले विगत ६ वर्षदेखि अभियान चलाउँदै छठ घाटमा लग्ने तयारी रहेको बताए। उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोतीकुर्ता लगाएरै छठको घाटमा पुग्न अपिलसमेत गरे। युवतीहरूमा साडीप्रति आकर्षण रहे पनि साडी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति सहभागी विनिता महतोले दुःख व्यक्त गरिन्। उनले युवतीहरूलाई हाम्रा पुर्खाले जसरी लगाउँथे त्यसरी नै सुल्टो साडी लगाउन आग्रहसमेत गरिन्। विनिताले सबैलाई सिधा पल्लामा साडी लगाउन आग्रह गरिन्।

के हो धोती ?
धोती भन्नाले पारम्परिक नेपाली तथा भारतीय पहिरनलाई बुझिन्छ। जुन मुख्यतया पुरुषहरूले लगाउँछन्। यो लामो कपडाको टुक्रा हो। जसलाई कम्मरमा बेरेर खुट्टाको बीचबाट निकालेर कसिन्छ। धोती विशेषगरी धार्मिक तथा संस्कृतिक कार्यक्रमहरूमा लगाइन्छ। मिथिला मधेस क्षेत्रमा पुरुषहरू धोती वस्त्र लगाउँदा कमरमा पछाडिपट्टिबाट धोतीको एक भागलाई विशेष प्रकारले पट्याएर घुसार्ने गर्छन्। यसरी पट्याउने कार्यलाई कोचिआएन अर्थात् कोचा भनिन्छ। धोतीको घुसारिने भागलाई ढेका तथा घुसारिने कार्यलाई खोसबु भनिन्छ। यसरी धोतीको यो ढेका भागको स्थान पिठ्यँुको तल्लो भागमा हुने गर्छ।

यसलाई एक प्रकारको शुद्ध सरल पोसाकका रूपमा लिइन्छ। हिन्दुधर्ममा कुनै धार्मिक काममा शुद्ध पोसाकको पर्यायवाची शब्द धोती हुन्छ। यो केवल एउटा पोसाकबाहेक ज्यादा केही पनि होइन। लाउन सहज र सरल भएकाले देशको भौगोलिक अवस्थाअनुसार धेरै गर्मी हुने क्षेत्रमा ज्यादा प्रयोगमा ल्याउने कुरा स्वाभाविक नै भयो। जसले जति बढी प्रयोगमा ल्यायो, त्यति नै त्यो पोसाकप्रतिको मोह हो। 
‘धोती सान, पहिचान तरार्ईमा धेरैजसो मानिसले धोती लगाउँछन्। धोती हलुका हुन्छ। धोतीको अझ छोटो रूपलाई लगौंटी भनिन्छ। पुरुषले मात्र धोती लगाउँछन् र धोती लोग्ने मान्छेहरूले मात्र लगाउने वस्त्र हो र विशेष गरी ब्राह्मणले मात्र लगाउँछन्भन्दा यो सरासर गलत हुन्छ किनकि नेपालमा विषेशगरी तरार्ई–मधेसमा आदिवासी राना, थारू, मगर र मधेसी तथा मैथिली समुदायहरूले पहिरन गर्ने प्रमुख वस्त्र नै धोती हो। 

पुरुषले लगाउने धोती र महिलाले लगाउने धोतीमा अन्तर छ। महिलाले पनि धोती लगाउँछन् भन्ने कुरामा अब कुनै दुविधा छैन। महिलाका धोती रंगीन हुन्छन् र महिलाले लगाउने धोती रंगहीन लम्बाइका दुई किनारामा कडाइ गरिएको हुन्छ।
धोती एक पारम्परिक नेपाली पोसाक हो जुन अहिले गाउँहरू, विवाह, उत्सव र अन्य विधिहरूमा देखा पर्छ। यो विभिन्न हिन्दु नाम र लगाउने तरिकाको कारण सम्पूर्ण हिन्दु समुदायमा धेरै व्यापक छ। 

उदाहरणका लागि, मधेसी र थारू समुदायको धोती लगाउने स्टाइल फरक छ। मधेसी र भोजपुरी भाषीले रंगीन कलरको लुंगी लगाउँछन् भने मिथिलामा सेतो र धोतीसँगै टाउँकोमा गम्छा बेर्छन्। त्यसैगरी थारू समुदायको पनि धोती पहिरनको विधि फरकफरक हुन्छ। हिन्दीमा धोती र उत्तर भारतका केही अन्य भाषाहरूबाहेक, यसलाई बंगालीमा धोती, तामिलमा बेस्ती, मलयालममा मुन्डु, तेलुगुमा पन्चा र कन्नडमा पन्च पनि भनिन्छ। नेपालमा भने धोती, लुंगी, साडी र लंगोट भन्ने गरेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.