नकारात्मकताको बजार

नकारात्मकताको बजार

नेगेटिभिटीको बजार तोड्ने उपाय भनेकै आलोचनात्मक सोच, विवेकशील उपभोग र सकारात्मक–सन्तुलित संवाद हो।

हामी भय बेच्छौं। भ्रमको थोक र खुद्रा दोकान थाप्छौं। डरको विज्ञापन गर्छौं। आक्रोश बेच्छौं। घृणालाई सुक्री बिक्रीको वस्तु बनाउँछौं अनि त्यसबाट अकुत नाफा कमाउँछौं। आजको मिडिया, अराजनीति र सामाजिक मानसिकताको वास्तविकता यही हो। यस्तो क–कसले गर्छन् ? राजनीतिकर्मी, मिडिया, न्याय, स्वास्थ्यका व्यापारी, अभियन्ता, धार्मिक समूहलगायत। नकारात्मकता चाहे त्यो झुटो होस् वा आधा साँचो, आंशिक सत्य होस् वा कृत्रिम नै किन नहोस् ?

आजको समाजको सबैभन्दा बिकाउ वस्तु बनेको छ। सत्यभन्दा पीडा बिक्छ, समाधानभन्दा आक्रोश बिक्छ। आशीर्वादभन्दा निन्दा र घृणाको बजार व्यापक छ। सत्य सुन्न, पचाउन र स्वीकार गर्न असाध्यै गाह्रो मान्ने मान्छे हामी झुट पत्याउन निमेषमै सक्छौं। दु: ख, असन्तोष र अन्यायले गर्दा मानिसहरू नकारात्मक भाष्यतर्फ लोभिन्छन्, किनकि त्यो उनीहरूको दु: खको प्रतिविम्ब जस्तो लाग्छ। मानव मस्तिष्क जैविक रूपमा नकारात्मक कुराप्रति संवेदनशील हुन्छ। यसलाई ‘नेगेटिभिटी बायोस’ भनिन्छ।

नकारात्मकता किन ? :  मानिसको मस्तिष्क खतरा र असन्तोषप्रति स्वाभाविक रूपमा संवेदनशील हुन्छ। यो जैविक गुण र स्वभाव हो। प्रागैतिहासिक युगमा बाघको खतरा चिन्न नसक्नु भनेको मृत्यु थियो। आज त्यो बाघको ठाउँमा डरको ‘हेडलाइन’, ‘भाइरल क्लिप’ र ‘ट्रोल’ले स्थान लिएको छभन्दा अतिशयोक्ति नहोला। त्यसैले हामी ‘नकारात्मकता’प्रति सजग मात्र होइन, आकर्षितसमेत हुन्छौं। सामाजिक–राजनीतिक व्यवहारमा नकारात्मकताको प्रमाण प्रशस्त छन्– मिडिया, विशेषगरी सोसल मिडिया। आज ‘एटेन्सन इकोनिमा’ चल्छ। जसले धेरै ध्यान तान्छ, त्यही बिक्छ। जस्तै:  भ्रष्टाचार, बलात्कार, युद्ध, विफलता शीघ्र क्लिक हुने सामग्रीमा पर्छन्।

अल्गोरिदमले बढी प्रतिक्रिया भएको ‘लाइक’, ‘कमेन्ट’, ‘याङ्ग्री’ र ‘स्याड’ भएका सामग्रीलाई बढावा दिन्छ। मिडियामा आजकल प्राय:  नकारात्मक खबर, आक्रोश, गालीगलौज, ध्रुवीकरण बिक्छ। विचार, सन्तुलन, गहिरो सोच हराउँछ। यसले सूचना होइन, उत्तेजना बेच्छ। असुरक्षा, बेरोजगारी, असमानता, भ्रष्टाचारले जनमानसमा निराशा, रिस, भय, शंका भरिएको छ। त्यस्तो मनस्थितिमा भएका सकारात्मक चीजहरू ‘असली’ जस्तो लाग्दैन। समाचार मिडियाले नकारात्मक खबरलाई बढी प्राथमिकता दिन्छन् किनभने दर्शक र पाठक त्यसतर्फ बढी आकर्षित हुन्छन्। राजनीतिक प्रचारमा डर र नकारात्मक सन्देश सकारात्मक सन्देशभन्दा बढी प्रभावकारी हुने गरेको पाइन्छ।

राजनीतिको अस्त्र :  डर, घृणा र पीडाको कथाले घर बनाएको छ। जब विचारहरू कमजोर हुन्छन्, भावनाहरूको कसरत सुरु हुन्छ। ‘इमोसनल’ कुराको बजार बन्छ र ‘इमोसन’मा खेलेर स्वार्थपूर्ति गर्ने ध्याउन्नमा मान्छे लिप्त छ। त्यसैले यस्ता समाचारका हेडलाइनहरू शीघ्रातिशीघ्र बिक्छन्। ‘हाम्रो धर्म संकटमा छ’, ‘हामीलाई सधैं थिचियो’, ‘देश गयो, हाम्रो पहिचान गयो’ जस्ता भाष्यले भीडलाई उत्तेजित बनाएर नेतृत्व गर्ने कामले निरन्तरता र सामाजिक वैधता प्राप्त गर्दछ।

चेतनशील प्रतिरोध नै हाम्रो समाजलाई भ्रम र भयको बजारबाट मुत्ताm गराउने सबभन्दा ठोस बाटो हो। नेगेटिभिटीको बजार तबसम्म चलिरहन्छ, जबसम्म हामी ग्राहक बन्छौं। विवेकपूर्ण उपभोग र आलोचनात्मक सोच नै वास्तविक प्रतिरोध हो।

घृणामा आधारित एकता बनाइन्छ र त्यसैलाई ‘राजनीतिक जनमत’ मानिन्छ। घृणा र अपमानको भाष्य खडा गरेर मान्छेहरूको खेदो खनिन्छ। कानुनको घेरामा पर्नुअघि अनेक अपराध र कानुन विपरीत कार्यहरू गर्ने व्यक्ति कानुनको फन्दामा परेपछि अनेकौं ‘इमोसनल’ कुरा गरेर मानवीय संवेदना र मानवीयताको कुरा गर्छ।

मिडियाको अर्थशास्त्र :  दु: ख बेच्छ, डर बेच्नेहरूलाई उठाउँछ। कतिपय मिडिया अब सूचना होइन, ध्यान बेच्ने प्लेटफर्म हो। त्यस्ता मिडिया तथ्यभन्दा मिथ्या पस्कँदा छिटो चल्छ भन्ने मीठो भ्रममा छन्। यसर्थ यस्ता सामग्री बनाउन लागिपर्छन् ती मिडियाकर्मी पनि। ‘कसले कसलाई कुट्यो ?’, ‘को कति भ्रष्ट भयो ?’, ‘कसको चरित्र स्खलित भयो’ यसरी नकारात्मक शीर्षक, भड्किलो प्रस्तुति, अतिरञ्जना, अतिशयोक्तिपूर्ण विवरण यी सबै नाफाको स्रोत र माध्यम बन्दै गएका छन्। सकारात्मक खबरले ‘लाइक’ आउँदैन, दु: खद् घटनाले ‘सेयर’ बढ्छ। समाचारको विश्वसनीयता हेर्दैन मान्छे। हेडलाइन हेरेर सेयर गर्न हतारिन्छ। जति धेरै नकारात्मक समाचार र सामग्री, त्यति नै धेरै प्रचारप्रसार र भाइरल बन्छ।

चर्को आवाजको सामाजिक मूल्य :  हाम्रो समाजमा एक अचम्मको मनोवैज्ञानिक र सांस्कृतिक प्रवृत्ति फैलिँदो छ। जो चर्काे बोल्छ, जसले घृणाका शब्दले दुत्कार्छ, त्यही ‘साहसी’ र ‘साँचो’ ठानिन्छ। विचारको गहिराइ, तर्कको मजबुती वा तथ्यको स्पष्टताभन्दा स्वरको तीव्रता र भावनात्मक उग्रता नै धेरैलाई प्रभावकारी लाग्न थालेको छ। समाजले ‘इमोसनल ब्ल्याकमेलिङ’को भाउ दिन्छ। इतिहासमै, ठूला स्वर र कठोर शब्दहरू प्राय:  शक्तिशाली व्यक्तिसँग जोडिएका छन्। धेरैलाई लाग्छ— जसले बिना डर ठूला शब्द बोल्यो, उसैसँग साहस छ। तर वास्तविक साहस भनेको चर्काे बोलाइ होइन, कठिन समयमा पनि संयमित रहन सक्ने क्षमता हो।

असमानता, बेरोजगारी र राजनीतिक असन्तोषको वातावरणमा मानिसहरूको मनमा दबिरहेका आक्रोशलाई कोही चर्को स्वरमा बोल्नेले बाहिर ल्याउँछ। उनीहरूको भाषामा घृणा भए पनि, पीडित वा असन्तुष्ट वर्गलाई लाग्छ। यो त मेरो पक्षमा बोल्दैछ। तसर्थ चर्को स्वर हौसिन्छ। मान्छे आवाज हेर्छ, उसको पृष्ठभूमि हेर्दैन। विगतका कर्तुत हेर्दैन, वर्तमानको चर्को आवा र घृणा पोखिएको स्वरमा दम देख्छ। राजनीतिक मञ्चमा चर्को स्वरले विरोधीलाई ‘ध्वस्त’ पार्छ, टेलिभिजन टक–शोमा चिच्याउनेले ‘सुपरहिट’ ट्याग पाउँछ। दर्शक खुसी, सञ्चालक खुसी, अनि सत्य ? त्यो त स्टुडियोको बाहिर, चिया पसलमा एक्लै बस्छ। यो रोगको जरा गहिरो छ– हाम्रो असुरक्षा, हतास र क्रोध। कोही आएर चर्को स्वरमा हाम्रो रिसको नारा दोहोर्‍याउँछ भने हामी उसको घृणालाई आफ्नै आवाज ठान्छौं।

संस्कृतिको सतही रूपान्तरण :  आज गहिरो कविताभन्दा ‘क्लिकजन्य’ कटाक्ष ट्रेन्डमा रहेको हुन्छ। सजिलो मजाक, अश्लील हाँसो, गालीगलौज नै मूलधार बन्न उद्यत् छ। साँच्चिकै सन्देश दिन खोज्ने सिर्जना, नवीन विषय र रचनात्मक विचार सामाजिक सञ्जालको आवाजहीन कुनामा गुम्सिएर थन्किन बाध्य हुन्छ। सकारात्मक कुरामा मान्छे लाइक कमेन्ट र विमर्श गर्न आउँदैन। नकारात्मक विषयमा लाइक कमेन्ट र सेयरिङको वर्षा हुन्छ। त्यसैले संस्कृति सतही, मूल्यहीन र क्षणिक भएर प्रसारित छ।

समाजको वास्तविक असन्तोष र नक्कली ढाँचा :  नकारात्मकता सधैं झुटो हुँदैन। बेरोजगारी, असमानता, भ्रष्टाचार, अन्याय आदिको पीडाबाट जन्मेको आक्रोश साँच्चिकै हो। तर यो आक्रोशलाई सम्बोधन नगरी, त्यसको ‘क्लिकबेट’ संस्करण (सामान्य कुरालाई बढी आकर्षक, चित्ताकर्षक, रहस्यमय वा भावनात्मक बनाएर प्रस्तुत गर्ने तरिका ‘क्लिकबेट’) बनाइन्छ। विरोधको कारण खोज्ने प्रयास हुँदैन, केवल विरोधलाई कैद गर्ने र बेच्ने खेल हुन्छ।

शान्त स्वरको अवमूल्यन :  आज शान्त, विवेकशील र तथ्यमा आधारित स्वरलाई धेरैले कमजोर ठान्न थालेका छन्। संवादको संस्कृति भन्दा ‘डोमिनेट’ गर्ने संस्कृति हाबी हुँदै गएको छ। हामी पनि कमालका ग्राहक हौं। चर्को बोलीलाई ‘साहस’ मान्ने, घृणालाई ‘सत्य’ ठान्ने, अनि संयमलाई ‘कमजोरी’ ठहर्‍याउने। मानौं, बहसको बजारमा चर्कोपन ‘प्रिमियम’ हो, शान्त स्वर भने ‘डिस्काउन्ट सेल’मा राखिएको वस्तु हो। हामी भुल्छौं, शक्तिशाली बन्न चिच्याउनु पर्दैन। कहिलेकाहीँ साँचो शक्ति भनेको शान्त भएर पनि स्पष्ट बोल्न सक्ने सामथ्र्य हो।

प्रतिरोधको विकल्प के छ ? :  दर्शकको चेतनशीलता हामी के हेर्छौं, के सेयर गर्छौं, त्यसले नै बजार निर्माण गर्दछ। असत्यलाई सेयर नगरौं, सत्य खोजौं। सकारात्मकता होइन, सन्तुलित कुराको प्रचार र विज्ञापनमा जोड गरौं। सधैं राम्रो मात्र होइन, ठीक कुरा पनि आवश्यक हुन्छ। आलोचनासँगै समाधान खोज्ने संस्कार बनाऔं। सचेत दर्शक र पाठक अनि श्रोता बनौं। सकारात्मक र सन्तुलित सामग्री निर्माण गर्ने र प्रवद्र्धन गर्नमा ध्यान खिचौं। दीर्घकालीन सोचको विकासमा लाग्ने र हल्ला होइन, हल खोज्ने प्रवृत्ति निर्माणमा जोड दिऔं। शिक्षा र आलोचनात्मक चिन्तनको प्रवर्धन गर्दै न्याय, करुणा र सहअस्तित्वलाई केन्द्रीय मूल्य बनाउने काम गरौं। नेगेटिभिटीको बजारमा अनि संकट उत्पन्न हुन थाल्छ।

विचारमा लगानी :  मिडिया, कला, साहित्य, शिक्षामा गहिरो सामग्री सिर्जना र प्रवर्धन गरौं। नारा होइन, दृष्टिकोण बिक्ने समाज बनाऔं। सचेतता नै प्रतिरोध हो। आलोचनात्मक चिन्तन नै क्रान्ति हो।
निष्कर्ष :  हामी जिस्कँदै वा अनायासै भए पनि ‘नेगेटिभिटीको बजार’का सक्रिय ग्राहक र आपूर्तिकर्ता बनेका छौं। डर, आक्रोश र घृणा सजिलै बिक्छन्, तर विचार, सत्य र विवेकले बजार पाउँदैनन्। मिडियाको क्लिकबेट मोडल, राजनीतिज्ञहरूको भावनात्मक हतियार र आममानिसको आक्रोश मिलेर एउटा यस्तो वातावरण निर्माण भएको छ, जहाँ सत्यभन्दा झुटो, विवेकभन्दा उत्तेजना, शान्त स्वरभन्दा चर्को स्वरको भाउ बढ्छ। तर यो स्थिति अपरिवर्तनीय होइन। दर्शक, पाठक र प्रयोगकर्ताको चेतनशीलता नै सबैभन्दा ठूलो प्रतिरोध हो। हामीले हेर्ने, सेयर गर्ने र प्रतिक्रिया दिने शैली बदलिएमा बजारको प्रवृत्ति पनि बदलिन्छ।

आलोचना समाधानसहित होस्, शान्त स्वरलाई ‘कमजोरी’ होइन, ‘साहस’ ठान्न सकियोस् अनि विचार र दृष्टिकोणलाई प्राथमिकता दिइयोस् भने नेगेटिभिटीको यो कृत्रिम बजार स्वत:  कमजोर हुन्छ। अन्तत: , परिवर्तनको बिउ हाम्रै सचेततामा छ। नेगेटिभिटीको बजारलाई तोड्ने उपाय भनेकै आलोचनात्मक सोच, विवेकशील उपभोग र सकारात्मक–सन्तुलित संवादमा लगानी गर्नु हो। 

यही चेतनशील प्रतिरोध नै हाम्रो समाजलाई भ्रम र भयको बजारबाट मुक्त गराउने सबैभन्दा ठोस बाटो हो। नेगेटिभिटीको बजार तबसम्म चलिरहन्छ, जबसम्म हामी ग्राहक बन्छौं। सचेतताले मात्र यो बजार तोड्छ। विवेकपूर्ण उपभोग र आलोचनात्मक सोच नै वास्तविक प्रतिरोध हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.