जनमत पार्टी फुट्यो, जनस्वराजलाई आयोगको मान्यता
काठमाडौं : पार्टी गठन भएको सात वर्षमै डा.सीके राउत नेतृत्वको जनमत पार्टी अन्तः फुटेको छ । मंगलबार निर्वाचन आयोगले दीपक साह नेतृत्वमा गठित जनस्वराज पार्टीलाई दलको मान्यता दिएसँगै जनमत पार्टी दुई चिरामा विभक्त भएको हो ।
साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिसहित जनस्वराज पार्टी दर्ता भएको आयोगले जनाएको छ । साउन २२ गते उपाध्यक्ष साहलाई पार्टीको हितविपरीत काम गरेको भन्दै जनमत पार्टीले सधारण सदस्य नरहने गरी निष्कासित गरेको थियो।
आयोगका अनुसार जनस्वराज पार्टीले माग गरेको झन्डामा नीलो, सेतो र रातो रङको ठाडो धर्का रहनेछ । जनस्वराज पार्टीले माग गरेको छाप गोलाकार हुनेछ, जसमा पार्टीको नाम अंकित हुनेछ र मध्य भागमा पार्टीको निर्वाचन चिह्न रहनेछ ।
हाललाई जनस्वराज पार्टीले कुनै निर्वाचन चिह्न माग गरेको छैन । आयोगमा दर्ता कायम रहेका दलहरूको चिह्नसँग नबाझिने गरी उपयुक्त चिह्न प्रस्ताव गर्न आयोगले जनस्वराज पार्टीलाई निर्देशन दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !