अर्थतन्त्रको आडभरोसा

अर्थतन्त्रको आडभरोसा
सुन्नुहोस्

जेन—जी आन्दोलनका नाममा भदौ २४ गते राज्यका सम्पत्तिमात्रै तोडफोड भएन, निजी क्षेत्रका उद्योग व्यवसायमाथि पनि तोडफोड गरेर खरानी पारियो । यसै पनि उचित वातावरण नपाएको नेपालको उद्यम, व्यवसाय क्षेत्र त्यसपछि झनै प्रताडित बनेको छ । निजी क्षेत्रको मनोबल गिरेको छ । आफ्नो उद्यम, व्यवसाय खरानी बनाइँदा पनि फेरि खरानीबाट उठ्ने उद्घोष अगुवा उद्यमी व्यवसायीले गरे । तर समग्रमा सम्पूर्ण निजी क्षेत्रको मनोबल उकासिएको छैन । झन् तोडफोड र विध्वंस मच्चाउनेहरूमाथि सरकारले कुनै कारबाही गरेको छैन । मतलब न्यायको प्रत्याभूति निजी क्षेत्रलाई छैन ।

बैंकमा लगानीयोग्य पुँजी ७ खर्ब रुपैयाँभन्दा बढी थुप्रिएको थियो । जेन—जी आन्दोलन अघिसमेत हुन नसकेको कर्जा प्रवाह अब हुन कठिन हुनु स्वाभाविक भयो । यी सबैको असर समग्र अर्थतन्त्रमा परेको छ । अर्थतन्त्रमा शिथिलता बढिसक्यो । ठूला औद्यागिक प्रतिष्ठानहरूमा भएको आक्रमणको प्रत्यक्ष, अप्रत्यक्ष असर साधारण किसान र साना तथा मझौला व्यवसायीसम्म परेको छ । रोजगारी सिर्जना र राजस्व संकलन प्रभावित भएको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार जेन–जी आन्दोलनले निजी क्षेत्रको मनोबल थप कमजोर बनाएको छ । आर्थिक वर्ष २०८२/०८३ को भदौसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले मात्रै बढेको थियो । त्यो गत वर्षभन्दा कम हो । अब त बढ्ने आशा नै जेन—जी आन्दोलनले कमजोर पारिदियो । लगानीको कुनै वातावरण अहिले छैन । लगानी नभए उत्पादन हुँदैन । रोजगारी सिर्जना हुँदैन । सरकारले पाउने राजस्व पनि घट्छ । समग्रमा आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्छ । 

रेमिट्यान्स आप्रवाहमा भने उल्लकेख्य वृद्धि छ । रेमिट्यान्स भनेको अर्थतन्त्रको खम्बा होइन, टेको हो । सधैं टेकोको भर पर्न सकिन्न । त्यो धरापले कुनै न कुनै दिन खतरा निम्त्याउँछ । अर्थतन्त्रको बाह्य पक्ष बलियो त छ । शोधानान्तर बचतदेखि विदेशी मुद्राको सञ्चिति सकारात्मक छन् । बाह्य अर्थतन्त्रले सूक्ष्म अर्थतन्त्रलाई भर दिन सकेको छैन । आन्तरिक अर्थतन्त्र बलियो नभएसम्म आर्थिक वृद्धि हुँदैन । आन्दोलनको जगमा उभिएको सरकारले निर्वाचन त गराउनु नै छ, सँगसँगै निजी क्षेत्र र सम्पूर्ण नागरिकमा आशा जगाउनु पर्नेछ । राज्यको उपस्थिति कमजोर भएरै पछिल्लो समय जेन—जीका नाममा अराजक समूह फेरि फणा उठाउँदै अराजकता र उपद्रव मच्चाइरहेको छ । यो वातावरणमा विदेशी लगानी त के स्वदेशी लगानी पनि प्रवाह हुन सक्दैन ।

अर्थतन्त्र उठाउने हो भने निजी क्षेत्रलाई न्यायको प्रत्याभूति दिँदै विश्वासको वातावरण बनाउनुपर्छ । सुशासन कायम गर्ने र दण्डहीनता अन्त्य गर्नु भनेको भरोसायोग्य वातावरण बनाउनु हो । लगानीमैत्री वातावरण बनाउन, सुरक्षाको प्रत्याभूति दिनुपर्छ । त्यो उपद्रवीहरूमाथिको कारबाहीबाट सुरुवात गर्नुपर्छ । त्यसो भएन भने न त निर्वाचनको वातावरण बन्छ, न त अर्थतन्त्रका लागि अनुकूलता आउँछ । लगानी वृद्धि होइन, पलायन हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.