केन्द्रीय सदस्यको सुझाव : ‘अहिले जेनजी आन्दोलनपछिको जनताको मन बुझौं, नेतृत्वको मुद्दा महाधिवेशनमा उठाउँला’
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको १० औं बैठक जारी रहेको छ। बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ।
हालसम्म अधिकांशले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्नु नहुने, जेनजी आन्दोलनपछि बदलिएकोजनताको मन बुझ्नुपर्ने र नेतृत्व परिवर्तनको मुद्दा महाधिवेशनमा मात्र उठाउनुपर्ने बताएका छन्।
यसैगरी केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनौट अब महाधिवेशन प्रतिनिधिका हातमा रहेको बताइन्। ढकालले अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको बताइन्। ‘पार्टीको ११ औं महाधिवेशन घोषणा हिजो घोषणा भइसकेको छ। त्यसपछि पनि नेताहरू अध्यक्षले राजिनामा दिनुपर्दछ भन्दै हुनुहुन्छ’ ढकालले भनिन् ‘अब कसलाई अध्यक्ष बनाउने, कसलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिका हातमा पुगिसक्यो। महाधिवेशन अघि नेतृत्व परिवर्तन भन्ने कुरा बेमौसमको बाजा हो।’
ढकालले अध्यक्ष ओलीले पार्टी बैठकमा राखेको विशेष प्रस्तावले वर्तमान समसामयिक राजनीति,जेन जी आन्दोलन र यसका असर तथा भावी कार्यदिशाका बारेमा स्पष्ट पारेकोले पूर्ण समर्थन गरेर जानुको विकल्प नभएको बताइन्। 
ढकालले भदौ २४ गतेको तोडफोड र आगजनीको पीडित आफू पनि भएको भन्दै यसमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई दबाब दिनुपर्ने र पार्टीले अलग्गै आयोग बनाएर घटनामा संलग्नहरुको छानबिन गर्नुपर्ने माग गरिन्। वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख समेत रहेकी ढकालले जनताले पार्टी तथा सरकारप्रति गर्ने गुनासा सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिले सुन्नु पर्ने बताइन् ।
केन्द्रीय सदस्य मोहम्मद हारुनले जेन जी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास गलत भएको दाबी गरे। ‘देशमा एमाले, प्रदेशमा एमाले, जिल्लामा एमाले, पालिकामा एमाले, टोलमा एमाले छ’ उनले भने ‘तर कसरी एमाले कमजोर छ भन्ने भाष्य खडा गरिँदैछ। यो गलत भाष्यलाई चिर्न सबै पार्टी पङ्ति परिचालित हुनुपर्दछ।’
उनले केपी ओलीको नेतृत्व देशलाई अझै आवश्यक रहेकोले सिंगो केन्द्रीय कमिटीले यसमा एकताबद्ध निर्णय गर्नुपर्ने बताए।
अर्की केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताका सम्पत्ति छानविन गर्नुपर्ने माग गरिन्। उनले पार्टीले अलग्गै आयोग बनाएर नेताहरुको सम्पत्ति सार्वजनिक गर्ने हो भने जेन जी माग पनि सम्बोधन हुने पार्टीमा शुद्धीकरण पनि हुने भनाइ राखे।
केन्द्रीय सदस्य रमेश बडालले मंसिरमा महाधिवेशन प्रस्ताव गरे पनि मुलुकको राजनीतिक परिस्थितिले चैतभन्दा यता हुन सक्ने सम्भावना आफूले नदेखेको बताए। उनले विद्यालयलाई शान्ति क्षेत्र बनाउने र विद्यार्थीलाई राजनीतिबाट अलग्गै राख्दा ठूलो राजनीतिक रिक्तता देखिएको बताए।
पूर्वमहान्याधिवक्ता समेत रहेका बडालले प्रधानमन्त्रीले गरेको संसद विघठन कायम हुन नसक्ने दाबी गरे।
बैठकमा बोल्दै केन्द्रीय सदस्य महम्मद समिरले केपी ओलीको विकल्प खोज्ने कुरा अहिलेको आवश्यकता नभएको बताए। उनले केपी ओलीले सामाना गरेका कठिनाई वा विरोधले न उनी ढलेका छन् न उनका सपना र धारणा फेरबदल भएका छन्। उर्दु भाषामा उनले भने‘ना केपी ओली गिरे, ना केपी ओली के उमिदो मिनार गिरे।’
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ। अहिले नेपाली वर्णानुक्रम अनुसार य अक्षरबाट नाम उठेका केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्। आज कम्तीमा १०० जना केन्द्रीय सदस्यले धारणा राख्ने कार्यसूची रहेको छ। हिजोदेखि सुरु भएको बैठक भोलि समापन गर्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस !