यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू
काठमाडौं : सरकारकाले विभिन्न ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले बताए।
उनीहरूलाई कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको उनले बताए। फिर्ता हुनेमा राजदूतहरू डा. कृष्ण प्रसाद ओली/चीन, लोकदर्शन रेग्मी/अमेरिका, चन्द्र घिमिरे/बेलायत, नेत्र तिम्सिना/मलेसिया, शैल रुपाखेती/जर्मनी, धनप्रसाद पण्डित/इजरायल, जंगप्रसाद चौहान/रुस, सनिल नेपाल/स्पेन, रमेशचन्द्र पौडेल/कतार, नरेशविक्रम ढकाल/साउदी र दुर्गाबहादुर सुवेदी/जापान रहेका छन्।
त्यस्तै बैठकले कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कामको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए। बैठकले नेपाल र भारतबीच आपराधिक गतिविधि सम्बन्धमा पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृति गर्ने निर्णय गरेको उनले बताए।
त्यस्तै बैठकले नेपालले अन्य मुलुकहरूसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सन्धि गर्न वार्ताको लागि प्रस्ताव गर्ने सम्बन्धी ‘ट्रिटी अन म्युचअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स’ स्वीकृत गर्ने र आवश्यकताअनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुकसमक्ष पठाउन स्वीकृति दिने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !