धनात् धर्मः ततः सुखम्
लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ। उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन्।
तिहार लागेको छ। जताततै धनको पूजा हुँदैछ। धन भन्नु श्री हो। लक्ष्मी हो। विद्या हो। आचरण हो। विनय हो। शुद्धता हो। प्रदूषणरहित समाज हो। देश हो र संसार पनि। एउटा सूत्र हेरौं– विद्याले विनयी बनाउँछ। विनयताबाट सत्पात्र बन्छ। असल पात्रबाट धनार्जन हुन्छ। धनले धर्मार्जन हुन्छ र धर्मले मानिसलाई सुख दिन्छ। सुख प्राप्तिपछि सन्तोष भनौं, शान्ति मिल्छ र शान्तिपछि आनन्द प्राप्ति हुन्छ।
मानवको अभीष्ट भनेको आनन्द नै हो। तर आज मान्छे उल्टो दिशामा चलेकाले न उसलाई सुख छ, न शान्ति नै, आनन्दको विषय त कल्पना बाहिरको कुरो भएको छ। गोधन नै सम्पत्ति हो, गाई लक्ष्मी हुन् । उनको पूजा हुन्छ विशेष सधैं, तिहारमा त हुन्छ नै। गाई मात्रै होइन, वृषको पनि पूजा हुन्छ। वृष भनेपछि गाईको मालिक यसो भनौं शिवको पूजा हुन्छ, शिवका वाहक वृष नै हुन् गोरुको पनि पूजा हुन्छ यतिबेला। गाईको गोबरमा धन बसेकीले लक्ष्मी पूजा गर्दा गोबरले घर आँगन लिपिन्छ, तेलमा पनि लक्ष्मी बस्ने हुँदा गोबर, तेल र हर्षश्रीको प्रतीक पुष्पको वर्षा नै हुन्छ तिहारमा।
करागे्र बसते लक्ष्मी करमध्ये सरस्वती करमूले स्थितो ब्रह्मा प्रभाते करः दर्शनम्। अर्थात् हातको अगाडि भागमा लक्ष्मी, हातका बीच भागमा लक्ष्मीकै अर्को रूप सरस्वती, हातकै मूल भागमा ब्रह्मा रहेका हुछन्। ऊर्जा भनौं महाकालीको निवास पनि हातैमा हुन्छ। संसारको सृष्टि, पालना र संहारका काममा ब्रह्मा, विष्णु र रुद्रलाई क्षमतावान् बनाउने यी ३ देवीको उपासनाले मानवलाई पूर्ण शक्ति मिल्छ। हामीले हरेक दिन हातको दर्शन गर्नुपर्छ, जसले हाम्रा हरेक दिन सुखी र शान्त, सीपयुक्त हुन सकोस्। तिहार आउँदा सजाउने लक्ष्मी पूजा गर्ने अरूबेला हाम्रो संस्कार गतिलो नहुने भएकाले आज मानिसलाई सन्तोष नभएको हो, दुरुपयोग हुँदा पनि लक्ष्मी खुसी हुन्नन्।
सामाजिक सेवामा, सार्वजनिक निर्माणमा, उद्यान, शौचालय, बाटाघाटा, मठमन्दिर, असहाय, दीनदुःखीको सेवामा लागेको धन पवित्र हुन्छ। आम्दानीको १० प्रतिशतमा आफ्नो हक, भोग अधिकार नरहने र त्यो आयलाई सार्वजनिक, सामाजिक सेवामा अर्पण गर्नुपर्ने बिषयमा पूर्वीय चिन्तनले यत्रतत्र व्याख्या गरेको छ। आनन्द प्राप्तिका लागि लक्ष्मीको आध्यात्मिक एवं दैवी स्वरूपलाई बुझ्नुपर्ने हुन्छ। चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वको भाव, अप्रमाद र उद्योगमा लक्ष्मीको बास हुन्छ। धनको सदुपयोग, पदार्थको सदुपयोग, तत्वज्ञानको सदुपयोग, लज्जा, त्याग, शिष्टतामा लक्ष्मीको बास हुनेहुँंदा लक्ष्मीपूजा गर्ने साधकहरू सज्जन, शान्त, धीर, वीर हुन जरुरी छ।
भनिन्छ, लक्ष्मीका धेरै पाउमध्ये एक पाउ उत्पादनमा, उब्जनीमा छ। पृथ्वीको प्राकृतिक स्रोत साधनमा लक्ष्मीको एक पाउ छ। लक्ष्मीको अर्को पाउ प्रकृतिको रसादि तत्वमा छ, जसले शुद्ध तत्वलाई सिँंचन गरी पोषण दिन्छ। जलमा रहेकी लक्ष्मीलाई विज्ञानले विद्युतीकरण समेत गरेर हराभरा बनाएको छ। उद्योग, कलकारखाना र मानव जीवनदेखि यन्त्रसाधनसमेत सजिलो बनेको छ। वृक्ष, वनस्पतिको हरियालीका लागि लटरम्म फलपूmलको सिर्जनामा सहायकसिद्ध भएकी लक्ष्मीको अर्को पाउ तापशक्ति अग्निमा छ। वेदका मन्त्रले अग्निको स्तुति वन्दना गरेको छ।
लक्ष्मीको अर्को पाउ बसेको छ, सत्यमा, साधुका हृदयमा, सत्यवादीतामा, सरसतामा, मधुरवाणीमा, आशीर्वादमा, मीठो मुस्कानमा, प्रिय र सत्यबोली, आचरण र तप, मनको शुद्धता र सात्विक आहार–विहारमा लक्ष्मीको पाउ अडेको हुन्छ। यसर्थ, तपस्वी, साधु, सन्त केवल भेषको कारण होइन, आचरण पवित्रतामा हुनुपर्ने र तिनको आशीर्वादमा लक्ष्मीको आगमन हुने हुनाले कीर्ति, बुद्धिका साथै बिवेक, संयम, आत्मसंयमी आदि व्यक्तिमा यस्ती लक्ष्मीको निवासस्थान हुन्छ। वेदले लक्ष्मीको सदैव वन्दना गरेको छ।
लक्ष्मीको चर्चा गर्दा यिनको स्वरूप बुझ्नुपर्ने हुन्छ। यिनका मुख्य २ रूप छन्। एउटा, भौतिकरूप, अर्को, आध्यात्मिक वा दैवीस्वरूप। भौतिक रूपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधन मात्र बन्न पुग्छिन्। दैवी र आध्यात्मिक रूपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन्। उपभोगले मात्र हेर्दा लक्ष्मीको बाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ। तर उपयोगको रूपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन्। जहांँ लक्ष्मीको सेवा हुन्छ, त्यहांँ नारायणको सेवा हुनु जरुरी छ। नारायणको वाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्तिमय र कान्तिमय बन्न पुग्छ। लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ। उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन्। आनन्द प्राप्तिका लागि लक्ष्मीको आध्यात्मिक एवं दैवीस्वरूपलाई बुझ्नुपर्ने हुन्छ। खासमा, यतिबेला देश अहिले गम्भीर संकटमा छ। त्यसैले शुभकामना होइन, शुभकामले देश समृद्ध हुने हो।
प्रतिक्रिया दिनुहोस !