फूलखेतीमा किसानको आकर्षण, आयआर्जनमा वृद्धि
प्युठान : प्लास्टिकजन्य फूल र मालाको प्रयोग घटिरहेका बेला किसानहरूमा फूलखेती प्रतिको आकर्षण बढ्दै गएको छ। फूलको अधिक प्रयोग हुने तिहार पर्व लक्षित गरेर प्युठानका किसानले फूल उत्पादन गरेका छन्।
फूलको माग र यसबाट राम्रो आम्दानी हुने भएकाले अभाव हुन नदिने गरी फूल उत्पादन गरेको माण्डवी गाउँपालिका–३ लामाचौरकी चेतकला केसीले बताइन्। ‘लोकल, कलकत्ते, टेनिस जातका सयपत्री फुल उत्पादन गरेकी छु,’उनले भनिन्, ‘गतवर्षदेखि सुरु गरेको फूलखेती यस पटक अझै राम्रो कमाई हुने देखिएको छ।’ यसवर्ष खेती तथा विषादी सम्वन्धी तालिम, बिउमा सहयोग पाएकाले अझै राम्रो व्यापार हुने उनको विश्वास छ।
गतवर्ष आफूले गरेको फूलखेती देखेर गाउँपालिकाको सिफारिसमा नेपालगन्ज गएर प्रदेश स्तरीय तालिममा सहभागी भएको उनले सुनाइन्। ‘गतवर्ष ६० हजार रुपैयाँ बराबरको फूल बेचेँ,उनले भनिन्, ‘यसवर्ष डेढ क्वइन्टल बढी छ। अझै फुल्दैछ।’ ५ दिनदेखि भइरहेको फूलको व्यापार अझै केही दिन चल्ने उनले बताइन्।
रोजगारीको सिलसिलामा भारत पुगेका श्रीमान् कोरोनाकालदेखि सम्पर्क विहीन हुँदा आफू आयआर्जनको बाटो खोज्ने क्रममा फूलखेती रोजेको उनले सुनाइन्। ६ वर्षदेखि श्रीमान् सम्पर्कमा नरहेको उनले बताइन्।
सरस्वती माध्यमिक विद्यालय सरुमारानी गाउँपालिका–१ बाङ्गेशालका कृषि प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरुले पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत फूलखेती गरेका छन्। विद्यालय क्षेत्र वरपर खेर गएको जमिनमा फूलखेती गरिएको विद्यालयले जनाएको छ।
‘कति क्षेत्रफलमा खेती गरिएको यकिन त छैन तर खालि जमिनमा खेती गरेका छौँ,’शिक्षिका विक्रम परियारले भनिन्, ‘गतवर्षहरुको अनुभवमा यस वर्ष खेती विस्तार गरिएको छ।’ दुई वर्षदेखि फूलखेती गर्दै आएकोमा यस वर्ष १ हजारभन्दा धेरै किलो बिक्री हुने उनले बताइन्।
फूलको बजार माग राम्रो रहेको भन्दै उनले पालिकाभित्रका विभिन्न ठाउँहरूका साथै दाङको भालुवाङ, मौरिघाटबाट समेत अर्डर आएको सुनाइन्।
फूलखेतीमा किसानहरूको आकर्षण बढ्दै गएकाले गौमुखी गाउँपालिकाले गतवर्षदेखि फूल प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्राकृतिक फूलको अभाव हुन नदिन प्रत्येक वडामा फूल खेतीका लागि किसानहरूलाई प्रोत्साहन गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताए।
किसानहरूलाई गाउँपालिकाले प्राविधिक परामर्श समेत दिने गरेको छ।
प्रतिक्रिया दिनुहोस !