चाडवाडसँगै प्यूठानका नुमबहादुरलाई मादल बनाउन भ्याई नभ्याई
प्युठान : प्युठान नगरपालिका–१० हाँडिगैराका नुमबहादुर बिकलाई अहिले मादल बनाउन भ्याई नभ्याई छ। हरेक वर्ष जस्तै यस वर्षको साउन महिनादेखि उनी नयाँ मादल बनाउने र मर्मत कार्यमा व्यस्त छन्।
७ वर्ष अघि प्यूठानकै नयाँगाउँ पुगेर सिकेको मादल बनाउने सीपले व्यस्ततासँगै यस सिजनमा आम्दानी पनि हुने गरेको छ। ‘सीप भएपछि आम्दानी हुने नै भयो’, उनले भने, ‘सिजनको समयमा मात्र काम हुने भएकाले भ्याई नभ्याई हुन्छ।’ सबैलाई भनेकै समयमा मादल उपलब्ध गराउनुपर्ने भएपछि उनको काममा परिवारका सदस्यहरूले पनि सघाउने गरेका छन्।
‘मेरा र भाइका छोराछोरीहरूले पनि काममा सघाउँछन्’, उनले भने, ‘बाह्रै महिना नचल्ने भएकाले ३/४ महिना यो काम गर्छु।’ अन्य समयमा उनले आरन र काठको काम गर्छन्। विश्वकर्मा मादल निर्माण तथा मर्मत केन्द्र नाम दिएर उनले मादल बनाउने र मर्मत गर्न काम गर्दै आएका छन्। एउटा मादल २ हजार ५ सय रुपैयाँदेखि २५ हजारसम्म पर्ने उनले बताए।
खमारीको काठको मादल राम्रो हुन्छ। ‘अन्य काठको पनि आकार त बन्छ तर राम्रो बज्दैन।’ ,उनले भने, ‘गोरु वा बाख्रोको छाला पाउनै मुस्किल पर्छ।’ मादलका लागि आवश्यक छाला स्थानीय स्तरबाट ल्याउने र नपाएमा बुटवलबाट ल्याउने गरेको उनले सुनाए। किट खानीबाट निकालिन्छ। त्यसलाई पगालेर मादलमा खरि लगाइन्छ। किट स्थानीय जंगलमा पाइन्छ। ‘प्युठानको लामाचौरमा राम्रो किट पाइन्छ’, उनले भने, ‘धादिङमा धेरै पाइन्छ भन्ने सुनेको छु, जिल्लामा नपाए बुटवलबाटै मगाउने गरेको छु।’
मादलमा खरि लगाउने र मर्मतका लागि १ हजार २ सयदेखि २ हजार रुपैयाँसम्म ज्याला लिने गरेको उनले सुनाए। तीज, दशैं, तिहार जस्ता पर्वहरूमा मादलको प्रयोग अधिक हुने भएकाले यो समयमा कामको व्यस्तता हुने उनले बताए। पछिल्लो समय देउसी–भैलो खेल्नका लागि साउण्ड सिस्टमको प्रयोग हुन थालेपछि मादलको प्रयोगमा भने कमी आउन थालेको नुमबहादुरको अनुभव छ। ‘सिजन नभएको समयमा पनि बनाएर राख्ने र सिजनमा बिक्री गर्ने गरिन्थ्यो।’ ,उनले भने, ‘साउण्ड सिस्टमको प्रयोग हुने भएपछि अर्डर अनुसार मात्र काम गर्छौं।’ मादलको प्रयोग विस्तारै लोप हुने प्रति उनले चिन्ता प्रकट गरे। ‘साउण्ड सिस्टमका प्रयोगले मादल नै लोप हुने अवस्थामा छ’, उनले भने, ‘नयाँ पुस्ताले चासो नराख्ने हो भने मादल मात्र होइन कला संस्कृति पनि हराउनेछ।’
प्रतिक्रिया दिनुहोस !