केराको कारोबारमा वृद्धि
महोत्तरी : छठ पर्वको मुख्य प्रसादको रूपमा प्रयोग गरिने केराको कारोबारमा वृद्धि भएको छ । यस पर्वमा केराको घडी भगवानलाई अर्घको रूपमा अर्पण गर्ने भएकाले स्थानीय बजारमा अहिले केराको माग उच्च रहेको छ।
सदरमुकाम जलेश्वर, बर्दिबास, गौशाला, रामगोपालपुर, औरही लगायतका मुख्य बजारका साथै ग्रामीणस्तरको हटियाहरुमा समेत अहिले केरा खरिद गर्ने ग्राहकहरूको भिडभाड बढेको छ। गौशालाका केरा व्यापारी अजय कुशवाहाका अनुसार यसपटक व्यापारीहरूले गोदाममा बाहिरबाट केरा खरिद गरी थन्काएको बताएका छन्। गोदाममा केरा पर्याप्त भएपछि यसपटक व्रतालुलाई केराको अभाव नहुने कुशवाहाले बताए।
गत वर्षको तुलनामा यसपटक स्थानीय बजारमा केराको भाउमा भने वृद्धि भएको औरही नगरपालिकाका घनश्याम यादवले बताए। यादवले दिएको जानकारी अनुसार अहिले केराको प्रतिघडी १ हजार रुपैयाँसम्म पर्ने गरेको छ।
नेपालका चितवन, नवलपरासीको सुस्ता, कोशी प्रदेशको भण्टाबारी लगायत भारतीय बजार सितामढी, दरभंगाबाट करिब १ करोड रुपैयाँ बराबरको केराहरू स्थानीय बजारमा आयात भएको व्यापारीहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !