कुसुण्डा जाति अब २ परिवारमा सीमित

कुसुण्डा जाति अब २ परिवारमा सीमित
गोरखा नगरपालिका–११ तेह्रकिलो निवासी चेतबहादुर कुसुण्डा । तस्बिर : शिव उप्रेती

गोरखा : लोपोन्मुख कुसुण्डा जातिको गोरखामा एकमात्र परिवार र तनहुँमा पनि एक परिवार मात्र बाँकी छन् । संरक्षणको अभावमा यी दुई घरपरिवार पनि संकटमा गाँजिएका छन् ।

तनहुँको व्यास नगरपालिका १० डिही गाउँमा इन्द्रमाया कुसुण्डा र उनकी एक्ली छोरी सीमान्त बस्छन् । २०७५ वैशाख ५ गते राजामामा कुसुण्डाको निधन भएपछि इन्द्रमायाकी आमाछोरी मात्र बस्दै आएका हुन् । घर धान्ने मियो ढलेपछि ४६ वर्षकी इन्द्रमायालाई दुई जनाको पेट पाल्न पनि धौ–धौ छ । 
हातमुख जोर्न भरथेग होओस् भनेर नगरपालिकाले इन्द्रमायालाई कुचिकारको जागिर दिएको छ । ‘नानी जन्मिएको केही महिनामा छतबाट खसी । उसलाई ओखती गर्न म पोखरातिर लागेँ । उ खसेको पाँच दिनमा बाउ ढले । उठ्दै नउठी बितेर गए’, दुःख कहँदै इन्द्रमाया भन्छिन्, ‘त्यही बेलादेखि नानीलाई सास फेर्न गाह्रो हुने रोग छ । उसको ओखतीमूलो गर्दाखेरि पनि रिन लाग्यो । बाउको किरिया गर्दा पनि रिन खोजेरै गरेको हो । त्यो रिनले सताइरहेको छ । नानीको ओखतीमुलोमा महिनाको ७/८ हजार जान्छ । पढाउन पनि खर्च चाहियो । कुचिकारको जागिरले कति धान्छ र ?’ दुःखको गुजुल्टोमा फाँसिरहेको उनी गुनासो गर्छिन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २०६१ सालमा डिहीटारमा एक रोपनी जग्गा खरिद गरी तीनकोठे घर बनाइदिएको थियो । २१ वर्ष पुग्दासम्म जस्ताले छाएको सो घर पनि थोत्रिसकेको छ । ‘असिनाले हानेर जस्ताको छानो चुहिने बनाइदियो’, इन्द्रमाया भन्छिन्, ‘पानी परेपछि घर पूरै चुहिन्छ । पोहोर गम लाएर टालटुल गरेको, थेगेन । कुन दिन ढल्छ कि भन्ने डर छ ।’ कुनै बेला सहयोग गर्नेहरूले साथ दिइरहे पनि राजामामाको मृत्यु भएपछि एक्ली महिलाले गरेको दुःख कसैले नदेखेको उनको दुखेसो छ । 

संकट इन्द्रमायाको मात्र होइन, यहाँ कुसुण्डा जातिको अस्तित्व संकटमा छ । गोरखा नगरपालिका ११ तेह्रकिलोमा अर्को एक घर कुसुण्डाको बसोबास छ । स्थानीय चेतबहादुर कुसुण्डाको परिवारमा १० जना छन् । जायजेथाको नाममा उनीहरूको ‘नङमा लाउने माटो’ पनि नभएको चेतबहादुर 
कुसुण्डा बताउँछन् । 

चेतबहादुर र कुसुण्डा दम्पतीको दुई छोराबुहारीहरू, एक विवाहित छोरी, तीन नाति र एक नातिनी छन् । उनीहरूको परिवारले ज्याला मजदुरी गरेर जीवनरथ चलाइरहेका छन् ।

‘पत्रकारले समाचार लेखेपछि एक जना छिमेकीले तीनआना जग्गा दान दिनुभयो । त्यहाँ एउटा घर बनाएर बसेका छौं । त्योबाहेक थुक्ने ठाउँ पनि छैन’, चेतबहादुर भन्छन्, ‘एक, दुईवटा कुखुरा छ । त्यो पनि थुनेर पाल्नुपर्छ, नत्र चर्न अरूको बारीमा जान्छ ।’

उनीहरू ४५ वर्षअघि खोप्लाङबाट यहाँ आएका हुन् । उनी १० वर्षको हुँदा बुबाको मृत्यु भयो । ‘बुबा मरेपछि आमाले बिरालोले बच्चा सारेझै कहिले कसैको घरमा, कहिले कसैको घरमा कोठा भाडामा लिएर बस्दै आएका थियौं । सायद यो तेह्रकिलोमा हामी नबसेको घरै छैन होला’, उनले भने, ‘सुकुम्बासीलाई सरकारले जग्गा दिन्छ रे भन्ने हल्लाको पछि लागेर आमाले नवलपरासीसम्म लैजानुभएको सम्झना छ, तर रित्तै हात फर्किनु प¥यो । पुगेको छिमेकीको सहयोगले तीन आना जग्गा त पाइयो, त्योबाहेक नङमा लाउने माटो पनि छैन ।’ सरकारले उनलाई सम्झना छ । 

चेतबहादुरका साथमा श्रीमती कमला, दुई छोरा र एक छोरी छन् । छोरी मगर समुदायका १ जनासँग बिहे गरेर गएकी छिन् । छोराहरू दुवै जना विवाहित हुन् । उनीहरू पट्टि दुई बुहारी, तीन नाति र एक नातिनी छन् ।

तीन आना जग्गामा जनता आवास कार्यक्रमले बनाइदिएको एकपाखे घर अहिले दुई छोरा, बुहारी, नाति, नातिनी बस्न पर्याप्त छैन । दुखजिलो गरेर घर बनाउन अन्यत्र जग्गा नभएको उनीहरूको गुनासो छ । नेपालको जनगणना २०७८ अनुसार कुसुण्डाको जनसंख्या जम्मा २ सय ५६ रहेको छ । गोरखा र तनहुँका एक/एक घरका कुसुण्डा परिवार पनि नसामाजिक सुरक्षाको उचित बन्दोबस्त नहुँदा अस्तित्वको संकटमा छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.